सिओल
पछिल्ला दुई वर्षको तुलनामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने श्रमिकको संख्या उल्लेख्य वृद्धि भएको छ । कोरोना संक्रमणका कारण दुई वर्ष रोकिएको कोरियाको रोजगारी गएको कात्तिकबाट पुनः सुरु भएर हालसम्म ५ हजार ५५६ श्रमिक कोरिया प्रवेश गरेका छन् । यो संख्या गत वर्ष ३८७ रहेको थियो भने अघिल्लो वर्ष अर्थात् सन् २०२० मा १ हजार २७ थियो ।
वैदेशिक रोजगार विभागले गत आर्थिक वर्ष २०७८/०७९ को प्रगति प्रतिवेदन सार्वजनिक गर्दै नेपाली श्रमिकको आकर्षक रोजगार गन्तव्य कोरिया पुनः लयमा फर्केको जनाएको छ । विभागका महानिर्देशक शेषनारायण पौडेलले ईपीएस अन्तर्गत जाने श्रमिकका लागि थप कोटा निर्धारण गरेको जनाउँदै आगामी वर्ष अझ धेरै युवाले कोरियामा रोजगारी पाउने बताए । “हाल उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रका लागि कोरियाका रोजगारदाताले १० हजारको हाराहारीमा नेपालबाट श्रमिक लैजान भाषा परीक्षा भइरहेको छ,” महानिर्देशक पौडेलले भने, “कोरोना संक्रमणपछि कोरियामा श्रमिक अभाव भए पनि अन्य देशको तुलनामा नेपालबाट धेरै श्रमिक लैजाने तयारी भएको हो ।”
कोरोना संक्रमणअघि कोरियाले वार्षिक औषत ५ हजार श्रमिक नेपालबाट लैजाँदै आएको थियो । नेपालबाट सन् २०१७ देखि २०१९ सम्म क्रमशः ७ हजार ८००, ८ हजार ५११ र ७ हजार १३६ श्रमिक कोरिया गएको विभागले जनाएको छ । त्यसपछि कोरोना संक्रमणका कारण उडान बन्द हुँदा २ वर्ष न्यून संख्यामा मात्र श्रमिक कोरिया प्रवेश गरेका थिए । हाल कोरियामा उत्पादनमूलक क्षेत्रमा १९ हजार ६५४, कृषि तथा पशुपालन क्षेत्रमा ८ हजार ४२४ र अन्य क्षेत्रमा ५१ नेपाली कार्यरत रहेका छन् ।
दक्षिण कोरियाले ईपीएसअन्तर्गत विगत ५ वर्षयताकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी पहिलो छनोट चरणको भाषा परीक्षाको आवेदन माग गरेको छ ।
विभागको ईपीएस शाखाले परीक्षा आवेदन दिने अन्तिम म्यादसम्म कृषि क्षेत्रतर्पm १० हजार ८५८ र उत्पादनमूलक क्षेत्रमा ३३ हजार ९९५ को आवेदन परेको जानकारी दिएको छ । विगत वर्षको तुलनामा कोरोनाका कारण कोरिया जाने क्रम रोकिएका कारण कोरियाको रोजगारीप्रति युवाको आकर्षण घटेको थियो । सन् २०१९ पछि २ वर्ष रोकिएको भाषा परीक्षा सन् २०२२ को लागि ९ हजार ६५४ जनालाई छनोट गर्ने योजनासहित वैशाखबाट सञ्चालन गर्न आवेदन माग गरिएको थियो ।
हाल कोरिया जाने योग्यसूची (रोष्टर) मा धेरै नेपाली नभएका कारण भाषा परीक्षा गर्न लागिएको हो । सन् २००८ देखि वर्षेनी सञ्चालन हुँदै आएको ईपीएस श्रमिक भाषा परीक्षा पछिल्लो २ वर्ष कोरोना संक्रमणका कारण स्थगन गरिएको थियो । सन् २००७ मा नेपाल र दक्षिण कोरिया सरकारबीच भएको रोजगार अनुमति प्रणाली सम्बन्धी द्विपक्षीय समझदारी पछिल्लो पटक सन् २०१८ मा नवीकरण भएको र तत्पश्चात् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको छ ।
आजको काराेबार राष्ट्रिय दैनिकमा गाेपाल संगाैलाले तयार पारेको सामाग्री साभार ।