काठमाडौं । केही वर्ष बेलायत बसेकी अभिनेत्री शिल्पा मास्के पछिल्लो समय नेपालमै छिन् । बेलायत बसेर अभिनय पढेकी उनले सोही क्रममा हलिउडको फिल्म ‘डाक्टर स्ट्रेन्थ’मा अभिनय गरिन् । हलिउडको यो सफल फिल्ममा काम गरेपछि यी नेपाली अभिनेत्रीको चर्चा चुलियो । उनलाई बेलायतमै पनि कामको कमी भएन । तर चटक्कै बेलायत छाडेर उनी नेपाल आएकी छिन् । बिगत दुई वर्ष यताबाट शिल्पा नेपालमै काम गरिरहेकी छिन् ।
बेलायतमै स्थापित हुने क्रममा रहेकी शिल्पा मात्र हैन, बेलायतमै सुविधा सम्पन्न जीबन बिताईरहेका अरु युवती पनि बेलायत छाडेर नेपाली चलचित्रमा नायिकाको रुपमा क्रियाशिल छन् । बेलायतमा सुविधा सम्पन्न भएर पनि यी युवतीहरु पछिल्लो समय नेपाली चलचित्रमा काम गरिरहेका छन् । उनीहरु यता आएपछि अहिले चर्चाको शिखरमा छन् ।
नेपाली युवा युवती आफ्नो देशमा अबसरको अभाव भएको ठहर गर्दै युरोप, अष्ट्रेलिया, क्यानडा, अमेरिका जस्ता मुलुकमा पलायन भईरहेका छन् । तर बेलायतमा स्थापित केही युवतीहरु पछिल्लो समय नेपाल आएर नेपाली चलचित्रमा छाईरहेका छन् ।
द ब्रेकअपले बाेलायाे शिल्पालाइ
हलिउडको फिल्म ‘डाक्टर स्ट्रेन्थ’मा काम गरेपछि बेलायत बस्दै शिल्पा मास्केलाई नेपाली चलचित्र ‘द ब्रेक अप’बाट प्रस्ताव आयो । बेलायत छाडेर नेपाली फर्कनुको कारणबारे शिल्पाले राजधानीसँग भनिन्,‘मलाई द ब्रेक अप चलचित्रमा प्रस्ताव आयो र म काठमाडौं फकिएँ । द ब्रेकअपसँगै म फिल्म कागजपत्र र अन्य फिल्मसँग आबद्ध भएपछि अहिले यतै स्थापित भएको छु ।’ शिल्पाको नयाँ चलचित्र द ब्रेकअप यही ८ चैतबाट रिलिज हुँदैछ ।
मिरूना नेपालमै रमाउदै
अभिनेत्री मिरुना मगर पनि लामो समय बेलायत बसिन् । उनी पनि पछिल्लो समय नेपाली चलचित्रमा व्यस्त छिन् । दुई वर्ष अघि फिल्म लाउरेको लागि आएकी उनको त्यो फिल्मको निर्माण पुरा भएन । तर उनलाई लगातार अरु फिल्मबाट प्रस्ताव आयो । प्रदीप खड्कासँग फिल्म रोजमा काम गरेकी उनलाई रोज रिलिज भएपछि लगातार नेपाली चलचित्रबाट प्रस्ताव आयो । आफ्नो नयाँ चलचित्र साईनो प्रदर्शनको तयारीमा रहेको र अन्य दुई चलचित्रको काममा आफु व्यस्त रहेको मिरुनाले बताएकी छिन् । बेलायतबाट नेपाली आएकी मिरुना पनि अब नेपाली चलचित्रमै स्थापित हुने पक्षमा छिन् ।
व्यस्ता सारा
अभिनेत्री सारा सिरपाली पनि पछिल्लो समय नेपाली चलचित्रमै व्यस्त छिन् । उनी पनि परिवारका साथ बेलायतमै अध्ययन गरिरहेकी थिईन् । निखिल उप्रेतीसँग चलचित्र ‘रुद्र’मा नायिका बन्ने अबसर आएपछि सारा पनि बेलायतबाट नेपालतर्फ नै आकर्षित भईन् । रुद्रपछि उनले निखिलकै अर्को फिल्म ‘पिँजडा’ रिर्टनमा र सुव्रत आचार्य निर्देशित चलचित्र सुश्री सम्पत्तिमा काम गरिन् । अहिले उनी चौथो चलचित्र ‘जात्रै जात्रा’मा छिन् । बेलायत छाडेर नेपाल आएकी अभिनेत्री सारा अब नेपाली चलचित्रमै स्थापित हुने पक्षमा छिन् । उनलाई पनि विभिन्न चलचित्रबाट प्रस्ताव आईरहेको छ ।
चलचित्र लिली बिलीकी अभिनेत्री जसिता गुरुङको पनि बाल्यकाल बेलायतमै बित्यो । यी अभिनेत्रीका सबै परिवार बेलायतमै छन् । बेलायतमै अध्ययन गरिरहेकी उनी पछिल्लो समय बेलायतमै परिवार छाडेर नेपालमा नेपाली चलचित्रमा व्यस्त छिन् । अहिले यी अभिनेत्रीको नयाँ चलचित्र ‘लभ स्टेशन’ २२ चैतबाट प्रदर्शन हुँदैछ ।
लभ स्टेशनपछि उनलाई थप तीन ओटा चलचित्रबाट नायिकाको रुपमा प्रस्ताव आएको छ । जसिताको भनाईमा बेलायतमा एउटा नृत्य प्रतियोगितामा उत्कृष्ट भएपछि निर्माता गोविन्द शाही र निर्देशक मिलन चाम्सबाट चलचित्र लिली बिलीको लागि प्रस्ताव आयो । अभिनेता प्रदीप खड्काको नायिका बन्ने प्रस्तावलाई उनले सहजै स्विकार गरिन् ।
अभिनेता प्रदीपसँग पहिलो फिल्म लिली बिली वर्षको सफल फिल्म भएपछि उनलाई धमाधम नेपाली चलचित्रबाट प्रस्ताव आए,‘प्रदीप र मेरो जोडीलाई दर्शकले खुबै मन पराउनु भयो र दोश्रो चलचित्र लभ स्टेशनमा पनि हामीलाई नै निर्माताले जोडीको रुपमा रोजेपछि मैले यो चलचित्र पनि गरें । अहिले राम्रा व्यानरका फिल्ममा प्रस्ताव आईरहेकाले बेलायत बस्न छाडेर म नेपाली चलचित्रमै समय दिने पक्षमा छु ।’ अभिनेत्री जसिताले राजधानीसँग भनिन् ।