ग्लोबल आइएमइ बैंकले कोरियामा शाखा खोल्दै !

कोरिया समाचार

सिओल

विदेशमा प्रतिनिधि कार्यालय खोलिरहेको ग्लोबल आइएमइ बैंकले अब भने शाखा नै खोल्ने भएको छ। बैंकले दक्षिण कोरियामा छुट्टै कारोबारका लागि शाखा खोल्न लागेको हो।

ग्लोबल आइएमइलाई दक्षिण कोरियामा शाखा खोल्नका लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिइसकेको छ।

‘अहिलेसम्म हामीले केही देशमा प्रतिनिधि कार्यालय मात्र खोलेको हो। अब शाखा नै खोलेर काम गर्न लागेका हौं’ बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बिजमाण्डूसँग भने, ‘त्यसका लागि दक्षिण कोरियामा लाइसेन्सिङलगायतको काम सुरु गर्छौं।’

बैंकले त्यहाँको केन्द्रीय बैंकसँग छलफल गरेपछि प्रक्रिया अगाडि बढाएको हो। कानुनी प्रक्रिया अगाडि बढाउनका लागि बैंकले त्यहाँ ‘ल फर्म’ नियुक्त गर्दैछ। ल फर्मको पारिश्रमिक भुक्तानीलगायतका बारेमा बैंकले राष्ट्र बैंकसँग स्वीकृति खोजेको छ।

शाखा खोल्नका लागि चुक्ता पुँजी आवश्यक पर्छ। प्रतिनिधि कार्यालयका लागि चुक्ता पुँजी चाहिँदैन। बैंकले ३ अर्ब कोरियन वन चुक्ता पुँजीमा शाखा खोल्न लागेको हो। यो त्यहाँको केन्द्रिय बैंकको नियामकीय प्रावधान हो। नेपालीमा यो ३० करोड ८० लाख रुपैयाँ हुन जान्छ।

‘शाखाले ब्यापार सहजीकरणदेखि रेमिटेन्स आप्रवाहसम्मलाई सहयोग पुर्‍याउँछ’ बज्राचार्यले भने, ‘त्यहाँ बस्ने गैरआवासीय नेपालीहरुको निक्षेप संकलनदेखि अन्य लगानीका कामसम्म शाखाले गर्ने छ।’ उनका अनुसार, शाखाको उपस्थिति हुनेबित्तिकै कारोबारको स्केल बढ्न मद्दत पुग्ने छ।

दक्षिण कोरियाबाट बैंकले दैनिक २/अढाइ करोड रुपैयाँ रेमिटेन्स भित्र्याउन गरेको छ। दक्षिण कोरियाबाट गत आर्थिक वर्ष नेपालले ९ अर्ब ४८ करोडको वस्तु आयात गरेको थियो। नेपाल भने २७ करोड १४ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो।

दक्षिण कोरियामा शाखा खुलेमा ग्लोबल आइएमइ बैंक देशकै पहिलो बिदेशमा शाखा खोल्ने बैंक बन्ने छ। बैंक अफ काठमाण्डूसँग मर्जर प्रकृयामा रहेको बैंक एकीकृत कारोबारपछि देशकै सबैभन्दा ठूलो चुक्ता पुँजी, निक्षेप र ऋण लगानी भएको बैंक हुने छ। चुक्ता पुँजिका हिसाबले त देशकै सबैभन्दा ठूलो कम्पनी बन्ने छ।

बैंकले अहिलेसम्म भारत, बेलायत र अस्ट्रेलियामा प्रतिनिधि कार्यालय खोलिसकेको छ।

संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य (बेलायत), क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ। बैंकका देशभर ३० लाख ग्राहक छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *