ईन्जुरी समयमा गरेको गोलले कोरिया पुग्यो टप १६ मा , पोर्चुगल विरुद्द को खेलमा २-१ गोलले विजयी !

कोरिया समाचार

सिओल

फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ई मा अन्तिम चरणको खेल निकै रोमान्चक बन्यो । इन्ज्युरी समयमा दक्षिण कोरियाले गोल गरेपछि नकआउट चरणमा पुग्ने समीकरण नै बदलिएको थियो ।

कोरियाले अन्तिम गोल गर्नुअघि टोली अंक तालिकाको पुछारमा थियो । कोरिया बराबरीमा रोकिँदा उरुग्वे समूह उपविजेताको रुपमा अघि बढ्ने थियो । तर ह्वाङ हि चानले ह्युङ मिन सनको पासमा गोल गरेपछि कोरिया अंक तालिकाको दोस्रो स्थानमा उक्लियो ।

समग्रमा पोर्चुगल ३ खेलमा ६ अंकसाथ समूह विजेता भयो । कोरिया र उरुग्वेको समान ४-४ अंक भएपनि धेरै गोल गरेको हिसाबले कोरिया अघि बढ्यो । गोलअन्तर समान भएपछि धेरै गोल गरेको हिसाबले कोरिया अघि बढेको हो ।

कप्तान आन्द्रे आयुले पेनाल्टीमा गोल गर्न नसकेपछि सुरु भएको घानाको दुर्भाग्य उरुग्वेको अग्रतापछि थप बढेको थियो । उरुग्वेले ५ मिनेटको अन्तरमा दुई गोल गर्दै खेलमा पकड जमायो । दोस्रो हाफमा घानाले केहि अवसर सिर्जना गरेपनि गोल गर्न सकेन । प्रशिक्षक डिएगो अलोन्सोले अन्त्यतिर कोरिया बराबरीमा रहँदा खेलाडी परीवर्तन गर्नु निर्णायक सावित भयो ।

घानाले खेलको १७ अ‍ौं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिने अवसर पाएको थियो । तर कप्तान आन्द्रे आयुको पेनाल्टी गोलरक्षक सर्जियो रोसेटले बचाए । रोसेटले पेनाल्टी क्षेत्रभित्र मोहमद कुडुसलाई लडाएपछि घानाले भिएआरको सहयोगमा पेनाल्टी पाएको थियो ।

उरुग्वेले खेलको २७ अ‍ौं मिनेटमा अग्रता लियो । जिअर्जिअन डे अरासेटाले गोललाइन नजिकबाट बललाई पोस्टभित्र छिराउँदै यस विश्वकपमा उरुग्वेको पहिलो गोल गरे । लुइस सुआरेजले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक लरेन्स इटि जिगीले बचाएपनि रिबाउन्डमा अरासेटा गोल गर्न तैनाथ थिए ।

अग्रता दिलाएको ५ मिनेटमै अरासेटाले व्यक्तिगत दोस्रो गोल गरे । यसपटक सुआरेजले दिएको पासलाई अरासेटाले शक्तिशाली प्रहारमा गोल गरे । उनले हावामा आएको पासलाई पहिलो टचमै हाफ भलीमा सुन्दर फिनिस गरे ।

मुख्य खेलाडी विश्राम दिएको पोर्चुगलले पहिलो हाफमा अग्रता लिएपनि त्यसलाई दोस्रो हाफसम्म लग्न सकेन । दोस्रो हाफमा थप खेलाडी विश्राम दिँदै पोर्चुगलले जोखिम नलिने रणनीति लिएको थियो । अर्को खेलमा ऊरुग्वे जिततर्फ उन्मुख भएपछि पोर्चुगल हारले पनि समूह विजेता बन्ने पक्का भएपछि प्रशिक्षक सान्तोसले जोखिम लिएनन् । यसको फाइदा कोरियाले उठायो । इन्ज्युरी समयमा गोल गर्दै कोरियाले २-१ को अप्रत्याशित जित हासिल गर्यो ।

खेलको पाँचौ मिनेटमा पोर्चुगलले अग्रता लियो । डिअ‍ोगो डालोटको कटब्याकलाई रिकार्डो होर्टाले ६ यार्ड बक्स नजिकबाट सुन्दर फिनिस गरे ।२७ अ‍ौं मिनेटमा दक्षिण कोरियाले बराबरी गोल फर्कायो । कर्नरमा क्लियर हुन नसकेको बललाई किम युङ-ग्वनले गोलमा परिणत गरे । ६ यार्ड बक्स भित्रबाट उनले गोल गरेका थिए ।

दोस्रो हाफको इन्ज्युरी समयमा कोरियाका ह्वाङ हि चानले इन्ज्युरी समयमा गोल गर्दै खेल र समूह समीकरणमा अग्रता लियो । पोर्चुगलको कर्नर असफल भएपछि ह्युङ मिन सनले आफ्नो हाफदेखि बल अघि बढाउँदै पोर्चुगलको पेनाल्टी नजिक पुर्याए । सनले पेनाल्टी क्षेत्र बाहिरबाट दिएको पासलाई ह्वाङ हि चानले गोलमा परिणत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *