कोरियाको कम्ब्याकमा रोनाल्डोको ठूलो योगदान, यो गल्तीका कारण भयो कोरिया मालामाल !

कोरिया समाचार

दोहा

ह्वाङ ही–चानले इन्ज्युरी समयको पहिलो मिनेटमा गरेको गोलसँगै दक्षिण कोरियाले पोर्चुगललाई २–१ ले पराजित गरेपछि कोरियाली समर्थकले एजुकेसन सिटी रंगशालामा खुसीयाली मनाउन थाले । म्युजिक उस्तै चर्को स्वरमा घन्किन थाल्यो । कोरियन टिमका खेलाडीहरू भने मैदानको मध्यभागमा भेला भए ।

अँगालो हालेर अल जनोब रंगशालामा भइरहेको उरुग्वे–घानाको नतिजाको धैर्यपूर्वक प्रतीक्षा गरिरहे । झन्डै ५ मिनेटको धैर्यपछि उरुग्वेले २–० ले जित्यो, जसले कोरियालाई विश्वकप २०२२ को नकआउट चरणमा पुर्‍यायो ।

अल जनोबमा खेल सकिएसँगै एजुकेसन सिटीमा कोरियन खेलाडीहरू अँगालो हाल्दै, मैदानमा चिप्लिँदै, लडिबुडी गर्दै खुसी मनाउन थाले । केही भावुक भए । आफ्ना समर्थकसामु गएर रमाउन थाले । चर्चित कोरियन गीत ओप्प गङनङ… रंगशालामै घन्काउँदै डीजेले खेलाडी र टिमका समर्थकलाई नचाइदिए । १२ वर्षपछि नकआउट चरणमा पुगेको खुसीयालीमा कोरियन खेलाडी झन्डै दस मिनेट मैदान घुम्दै समर्थकअगाडि पुगेर रमाइरहे ।

सहआयोजक छँदा सन् २००२ मा स्पेन र इटालीलाई पनि पराजित गर्दै सनसनीपूर्ण रूपमा विश्वकपको सेमिफाइनल पुगेको दक्षिण कोरियाले दक्षिण अफ्रिका (२०१०) यता पहिलोपल्ट समूह चरण पार गरेको हो । ब्राजिल (२०१४) र रुस (२०१८) को संस्करणमा कोरिया समूह चरणबाटै बाहिरिएको थियो ।

उरुग्वेविरुद्ध गोलरहित खेलेपछि घानाविरुद्ध रोमाञ्चक खेल ३–२ ले हारेको कोरियाले यसअघि नै अन्तिम १६ को यात्रा पक्का गरिसकेको क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलविरुद्ध समूहको अन्तिम खेल खेल्ने भएपछि कतारमा पनि उसको चुनौती चाँडै सकिने अनुमान गरिएको थियो ।

रिकार्डो होर्ताले विश्वकप डेब्युको पाँचौं मिनेटमै गोल गरेपछि पोर्चुगलले अग्रता लिएको थियो । किम योङ–ग्वोनले २७ औं मिनेटमा कोरियालाई बराबरीमा फर्काए । ब्रुनो फर्नान्डेजसहित केही स्टार खेलाडीलाई आराम दिएको पोर्चुगलले थुप्रै अवसर उपयोग गर्न सकेन । कोरियाले भने संघर्ष जारी राख्यो । र, ह्वाङको निर्णायक गोलमा २–१ को जित निकाल्दै नकआउटमा स्थान सुरक्षित गर्‍यो ।

ठीक उही समयमा भएको खेलमा घानालाई उरुग्वेविरुद्ध बराबरीले पनि अन्तिम १६ मा पुर्‍याउने थियो । कप्तान आन्द्रे आयेब पहिलो हाफमा पाएको पेनाल्टीमा चुकेपछि घानालाई गाह्रो भएको थियो । त्यसपछि गियोरगियन डी आरासकाएटाले २६ र ३२ औं मिनेटमा गोल गर्दै उरुग्वेलाई २–० को जित दिलाए । तर, सन् १९३० र १९५० को विश्वकप जितेको टिमलाई नकआउटमा पुर्‍याउन त्यो स्कोर पर्याप्त भएन । थप एक गोल गरेको भए समीकरणको पटकथा उरुग्वेकै पक्षमा कोरिने थियो ।

१२ वर्षअघि लुइस स्वारेजले गोल नजिक पुगेको बल हातले रोकपछि पाएको पेनाल्टीमा असमोह जियान गोल गर्न चुकेका थिए, जसले घानालाई सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टिम बन्नबाट रोकेको थियो । यसपालि अन्तिम १६ प्रवेशको होडमा पनि घानाले उस्तै असफलता बेहोर्‍यो । सन् २०१० को विश्वकपको क्वाटरफाइनलमा उरुग्वेसँग हारेयता घानाको चुनौती समूह चरणमै समाप्त हुँदै आएको छ ।

कोरिया र उरुग्वेले ४–४ अंक बनाए । तर, धेरै गोल गरेको आधारमा कोरिया समूह एच उपविजेता भएर नकआउट चरणमा छनोट भएको हो । १२ वर्षअघि सेमिफाइनल पुगेको उरुग्वे त्यसयता पहिलोपल्ट समूह चरणबाटै बाहिरिएको हो।

रोनाल्डोको गल्तीले कोरिया पुग्यो नकआउट

कोरिया नकआउटमा पुग्नुमा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोको ठूलो हात छ। रोनाल्डोले गरेको एक गल्तीकै कारण कोरियाले कम्ब्याक गरेको हो। गए राति भएको खेलमा वास्तवमै कोरियाको जितमा क्रिष्टियानो रोनाल्डोको योगदान थियो। खेलको सुरुवातमै कोरिया १ गोलले पछि परेको थियो।

तर २७ अ‍ौं मिनेटमा दक्षिण कोरियाले बराबरी गोल फर्काउन सफल भयो । कर्नरमा क्लियर हुन नसकेको बललाई किम युङ-ग्वनले गोलमा परिणत गरेका थिए। कर्नर बललाई रोनाल्डो क्लियर गर्नबाट चुकेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *