नवलपरासी । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले कावासोतीको मुख्य चोकमा विहीबार विहान बम विस्फोट गराएका छन् ।
जिल्ला प्रहरी कार्यालय देखि करिब डेढ, दुई सय मिटर पूर्व पूर्वपश्चिम राजमार्ग छेउमै विस्फोट भएको हो । विस्फोटको आवाज झण्डै एक किलोमिटर परसम्म सुनिएको थियो ।
विहान साढे ११ बजेतिर विस्फोट भएको हो । सडक सुनसान रहेकोले विस्फोटका कारण कुनै मानवीय क्षति भएको छैन । विस्फोट भएको क्षेत्र नजिकै डिभिजन वन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय पनि छ भने नजिकै तरकारी बजार पनि छ ।
घटना स्थललाई अहिले जिल्ला प्रहरी कार्यालयको सुरक्षाकर्मीले घेरेर राखेका छन् अन्त पनि बम राखेको हुन सक्ने आशंकामा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । बम कस्तो र कुन प्रकारको थियो खुल्न सकेको छैन ।