कोरियाको चिसोमा शरिर तताउने १० उपायहरु

कोरिया गतिबिधी

गुरुदत्त न्यौपाने/सिओल

साँच्चै, जाडो झ्याप्पै बढ्यो है कोरियामा ? तपाई बस्ने ठाउँतिर कस्तो छ?, अहिले म बसिरेको ईन्छन सहर भने चिसिएको छ, नढाँटी भन्दा सिरकभित्र गुटमुटिएर यि हरफहरु लेखिरहेको छु ।मौषम परिवर्तन भएसंगै धेरैजना विरामी पर्न सक्नुहुन्छ, चिसो मौषम सुरु भैसकेको छ । आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला, परदेश हो, यहाँ आफ्ना लागि आँफैले गर्नुपर्छ भन्ने कुरा मैले पक्कै भनिरहनु आवश्यक छैन ।

धेरै भुमिका पनि के बाँध्नु है ? तपाईलाई थाहा छँदैछ, हामी कोरियामा बस्ने नेपालीहरुको जीवनयापन सहज होस् भन्ने हेतुले विभिन्न किसिमका जानकारीहरु लेख्दै आइरहेको छु । यो पनि त्यसै अन्तर्गतको सानो जानकारी हो ।कोरियामा आएर लामो समय, अझ भनौ २–४ जाडो कटाइसक्नु भएको छ भने त तपाईलाई यहाँ उल्लेख हुने कुराहरु मध्ये अधिकांश कुरा थाहा छन् होला तर जो नयाँ हुनुहुन्छ, वा कोरिया आउनका लागि तयारी गर्दै हुनुहुन्छ भने वहाँहरुका लागि यि टिप्सहरु अवश्य पनि उपयोगी छन् । आउनुस् कोरियामा जाडो छल्ने केही उपायहरुको बारेमा चर्चा गरौं ।

१. तातो कपडा

यो भन्नै नपर्ने कुरा हो, तैपनि भनिहालौं । घरमै बस्दा वा बाहिर निस्कदा शरिरलाई तातो राख्ने कपडा, डाउन ज्याकेट लगाउनु उपयुक्त हुन्छ । जाडो छल्ने सहि किसिमका कपडाहरु छनौट गर्नुपर्छ ।

२.तातो–तातो खानपिन

कोरियाको मात्र हैन, संसारभरिको जुनसुकै कुनामा पनि जाडो छल्नका लागि शरिरलाई लामो समयसंम्म तताइराख्न तातो/तातो खानेकुरा खाने चलन छ । कोरियामा राम्यन,किम्चिचिके,फुदेचिके,हेजाङगुक,सुन्देगुक जस्ता खानाहरुमा जोड दिनु उपयुक्त हुन्छ । साथै घरमै बनाएर सुप, तातो कफी तथा अन्य हट ड्रिन्कहरु पिउने गरेमा जाडोबाट जोगिन सकिन्छ ।

३. एसीको प्रयोग, झ्यालमा Bubble Wrap पुङपुङ

हो, कोठामा जाडो छिर्ने माध्यम भनेको सिसाका झ्यालहरु पनि हुन, पातला झ्यालरुबाट छिर्ने चिसोलाई रोक्नका लागी मार्टमा पाइने Bubble Wrap ल्याएर टाँस्नुभयो भने धेरै मात्रामा चिसो छिर्न पाउँदैन । साथै एसीलाई ठिक्क तातो हुनेगरि कोठाको तापक्रम अनुसार मिलाएर लगाउनुपर्छ ।

४. हट वाटर ब्यागको प्रयोग

सुन्दा अनौठो लाग्नसक्छ तर कोरियामा यस प्रकारका हट वाटर ब्यागहरु बढि मात्रामा प्रयोगमा आउँछन् । विशेषगरि सुत्ने समयमा खुट्टा नतान्तेहरुका लागि त यो बरदान जस्तै हुन्छ । यस्तो ब्यागमा तातो पानी हालेर संगै लिएर सुतेपछि विहानैसम्म तातो बनाइरहन्छ । हट वाटर ब्यागहरु डिपार्टमेन्ट स्टोर, होमप्लस तथा ईमार्ट लगायत अन्य पसलहरुमा समेत पाइन्छन् ।

५. हट प्याकेट

पहिलोपटक यो देख्दा मलाई पनि अचम्मै लागेको थियो, सानो प्याकेटले यसरी शरिर तताउँछ भन्ने सोच्नै नसकिने गरि । प्राय सबै ड्रग स्टोरहरुमा किन्न पाइने हट प्याकेट क्वालीटि अनुसार आधा घण्टा देखि दिनभर पनि तातो बनाइराख्न सक्छ । यस प्रकारका साना प्याकेटहरु हातमा लिएर तताउने, कपडामा टाँस्ने, मोजामा राख्ने गरि विभिन्न किसिमका किन्न पाइन्छन् । कोरियाको जाडो छल्न अपनाउन सकिने यो पनि उपयुक्त विधि हो ।

६. इलेक्ट्रिक कार्पेट(छन्गी छाङ्फान) तथा ब्ल्याङ्केटको प्रयोग

हो, कोरियामा बिजुली जोडेपछि तात्ने कार्पेट तथा ब्ल्याङकेट किन्न पाइन्छ । जाडोको समयमा कोठाको भुईलाई तातो बनाइराख्न कार्पेट तथा सुत्ने बेला ओढ्न वा ओच्छाउन इलेक्ट्रिक ब्लाङकेटहरु प्रयोग गर्न सकिन्छ । यिनीहरु पनि होम प्लस,ईमार्ट ,अन्य साना देखी ठुला मार्टहरु तथा इलेक्ट्रिक स्टोरहरुमा किन्न पाइन्छ ।

७. हिटरको प्रयोग

कोरयाको जाडो छल्न प्रयोग गर्न सकिने अर्को इलेक्ट्रिक सामान भनेको हिटर हो, यस्तो हिटर आफुलाई आवश्यक परेको ठाउँमा सार्न मिल्ने भएकाले सजिलो हुन्छ । कुर्सिमा बसेर काम गर्दा, बसेर केही काम गर्दा खुट्टा तथा हात सेकाउन र कोठालाई तातो बनाउन यस्तो हिटर प्रयोग गर्न सकिन्छ ।

८ . Heat Tech तथा Earmuffs को प्रयोग

कोरियामा चर्चित कपडा स्टोर युनिक्लोमा किन्न पाइने हिटटेक नामको कपडाले शरिरलाई तातो राख्छ । यो कपडाको प्रयोगले पनि कोरियाको जाडो छल्न तपाइलाई मद्दत गर्नसक्छ । साथै दुबै कानलाई छोप्नेगरि बनाइएको Earmuffs को प्रयोगले पनि चिसो हुनबाट कानलाई जोगाउँछ । तपाइलाई पक्कै अनुभव होला, कान तातो भयोभने जाडो कम भएजस्तो हुन्छ ।

९ . साउना तथा चिम्जिलफाङ जाने

कोरियाको जाडो छल्ने तरिकाहरुमध्येमा मलाई व्यक्तिगत रुपमा सबैभन्दा रमाइलो र आनन्द लाग्ने यही हो । जाडोको समयमा तातो पानीमा डुबिरहनुको मज्जै बेग्लै छ । सम्भव भए हरेक दिन, नभए २–३ दिन वा हप्तामा १ पटक अनिवार्य तातो पानीमा बस्ने गर्नुभयो भने जाडो आएको गएको पत्तै पाउनुहुनेछैन ।

थप केही ?

यस्ता अन्य धेरै उपायहरु छन् कोरियाको जाडो छल्नका लागि । तपाइले अपनाउने गरेका उपायहरु यि भन्दा भिन्न छन् भने कमेन्टमा लेखिदिनुस् है, जानकारी उपयोगी लागेमा सेयर गरेर सबैलाई भन्नुहोला ‘यसरी छल्नुस् कोरियाको जाडो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *