सिओल
ईपीएस प्रणाली मार्फत दक्षिण कोरियामा रोजगारीको सिलसिलामा आएका मृत्यु हुने कामदारहरूको शव नेपाल लैजादा लाग्ने सम्पुर्ण खर्च नेपाल सरकारले बेहोर्न कोरिया स्थित नेपाली संघ संस्था तथा राजनीतिक दलका भातृ संगठनले माग गरेको छ।
सोमबार विभिन्न ६ वटा संघ संस्था तथा राजनितीक दलाका भातृ संगठनले कोरिया स्थित नेपाली दूतावासमा पुगि संयुक्त ज्ञापन पत्र बुझाएका हुन्।
उक्त ज्ञापन पत्र बुझाउन एनआरएनए दक्षिण कोरिया अध्यक्ष दिपक पुन, नेपाल पत्रकार महासंघ कोरिया शाखाका अध्यक्ष किशन गौतम, नेपाली जनसम्पर्क समिति कोरिया सभापति भजिन्द्र बहादुर क्षेत्रीको उपस्थिति रहेको थियो। यस्तै, प्रवासी नेपाली मन्च कोरियाकी अध्यक्ष सृजना नेपाली, नेपाली जनप्रगतिशील मन्च कोरियाका बरिष्ठ उपाध्यक्ष जिवन खतिवडा तथा नेपाल आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष विसन राईले दूतावासमा उपस्थिति जनाएका थिए।
एउटा मृतकको शव नेपाल पुर्याउन एक करोड १३ लाख कोरियन वन अर्थात १२ लाख नेपाली रुपैया भन्दा धेरै खर्च लाग्ने गरेको छ। दूतावासले ५४ लाख अर्थात ५ लाख ४० हजार मात्र उपलब्ध गराउदै आएको उक्त ज्ञापन पत्रमा उल्लेख छ।
यसरी एउटा शव नेपाल पुर्याउन लाग्ने खर्चको आधाभन्दा कम खर्च मात्र उपलब्ध हुनेगरेको हुदा सम्पुर्ण खर्च नेपाल सरकारलाई बेहोर्न दूतावास मार्फत ज्ञापन पत्र बुझाइएको पत्रकार महासंघ कोरिया शाखाका अध्यक्ष गौतमले बताए।