गुरुदत्त न्यौपाने/सिओल
दक्षिण कोरियाले ड्राईभर बिना नै चल्ने बसको शुरुवात गरेको छ।
दक्षिण कोरियाली भुमि,पुर्वाधार तथा यातायात मन्त्रालयका अनुसार कोरियाले सेजोङ ईन्टरसिटि बस टर्मिनल देखी उत्तरी छुङ्छङ प्रान्तको छङ्जुमा रहेको ओसोङ स्टेसन सम्मको २२.४ किलोमिटर लामो र्यापिड ट्रान्जिट रुट (बीआरटी) मा यो बस सन्चालनमा ल्याएको हो।
यो रुटमा सेल्फ ड्राइभिङ बसहरूलाई छुट्टै रुट नम्बर दिइने र नियमित चलिरहेका सिटी बससँगै चल्ने बताईएको छ।उक्त रुटमा अहिले दुई वटा स्वचालित बस मात्र चल्ने बताईएको छ ।
बस स्वचालित चल्ने भएपनी हाल परिक्षणमा रहेको र सुरक्षाको कारण एकजना चालक र सुरक्षा चेकजाँच गर्ने मानिस बसमा तैनाथ भने हुनेछन।
उक्त रुटमा सेल्फ ड्राइभिङ बसहरूले दिउँसोदेखि साँझ ४ बजेसम्म कुल ६ राउन्ड ट्रिप गर्नेछन। सोमबारदेखि शुक्रबारसम्म चल्ने उक्त रुटमा आठ स्टेशनहरुमा बस स्वचालित रुपमा रोकिने जनाईएको छ।
कुनै पनि आठ बिआरटी स्टेशनमा देखाइएका पोस्टरहरूमा छापिएको QR कोडको स्क्यान गरी यो परीक्षण अवधिको लागी अग्रिम आवेदन दिएर जो कोहीले स्वचालित बस निःशुल्क रुपमा प्रयोग गर्न सक्छन्। तीन महिनाको परिक्षण अवधी पछि बस चढने यात्रुहरु लाई सामान्य शहर बस भाडा लागु गरिने उल्लेख छ।
मन्त्रालयले सेप्टेम्बरमा जारी गरेको रोडम्याप टु इनोभेसन मोबिलिटी योजना अन्तर्गत सन् २०२५ सम्ममा कोरियाका सबै सहरहरुमा पूर्ण स्वचालित बस सेवाको व्यावसायीकरण गर्ने लक्ष्य प्रस्तुत गरेको छ।
सरकारले पर्याप्त माग भएमा स्वचालित ड्राइभिङ सेवा विस्तार गर्न सक्ने र रुट फ्रिक्वेन्सी निर्धारण गर्न क्यूआर कोड प्रणाली प्रयोग गर्ने डिमान्ड-रिस्पोन्सिभ ट्राफिक (डीआरटी) रुट लागू गर्न सकिने बताएको छ।
आगामी वर्ष २०२४ सम्ममा थेजन र छोछिवन,ख्वाङ्जु, छनान र आसान लगायत सबै उत्तरी छुङ्छन प्रान्तमा स्वचालित बस सेवा विस्तार गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ।