गुरुदत्त न्यौपाने/सिओल
दक्षिण कोरिया सरकारले ई- ९ भिसामा कोरिया प्रवेश गरेका र कोरियामा लामो समयसम्म आफ्नो काममा दक्षता प्राप्त गर्न सङ्घर्षरत विदेशी कामदारहरूको लागी कोरियामा लगातार १० वर्षसम्म बस्न पाउने योजना बनाएको श्रम मन्त्रालयले बिहीबार बताएको छ।
आप्रवासी कामदारहरूको लागी हालको रोजगार अनुमती प्रणाली अन्तर्गत E-9 भिसामा कोरिया प्रवेश गर्नेहरूको लागी अधिकतम चार वर्ष दश महिने पहिलो कार्यकाल रहेकोमा अव भने यो लम्ब्याएर १० बर्षे कार्यकाल बनाउने भएको हो।
कोरियामा ४ बर्ष १० महिना बाहेक थप काम गर्न चाहनेहरूले स्वदेश फर्की पुन :श्रम स्विकृतीको लागी आवेदन दिनुपर्ने बाध्यात्मकता रहेको र पुन: कोरिया प्रवेश गर्न लामो समय लाग्ने भएकोले कोरियाली रोजगारदाताहरूलाई आफ्ना काम सिकिसकेका कामदार पठाउँदा झन्झटिलो हुने भएकोले यस्तो योजना आउन लागेको उल्लेख छ।
विस्तार योजनाहरू अन्तर्गत, कोरियामा एउटै कार्यस्थलमा ३० महिना वा सोभन्दा लामो समय वा आफ्नो सुरुको कम्पनीमा २४ महिना वा सोभन्दा बढी समय काम गरेका E-9 भिसामा रहेका आप्रवासी कामदारहरूलाई दीर्घकालीन कामदारको रूपमा मान्यता दिई १० वर्षसम्म काम गर्ने सक्ने अनुमति प्रदान गरिने मन्त्रालयले जनाएको छ ।
उत्पादन क्षेत्र ,कृषि तथा निर्माण जस्ता अन्य उद्योगहरूमा काम गर्ने कामदारहरूले कम्तिमा२४ महिनासम्म एउटै रोजगारदातासँग वा आफ्नो पहिलो रोजगारदातासँग कम्तीमा १६ महिनाअनिवार्य काम गरेमात्र यो योजनामा सहभागी हुन योग्य हुनेछन।
मन्त्रालयका अधिकारीहरूका अनुसार कामदारहरूले थप रूपमा सरकारको सोसियल ईन्टिग्रेसन ऐजुकेशन र कोरियाली भाषा परीक्षामा (टपिक अथवा साह्वेथोङहाप) एक निश्चित तह उत्तीर्ण गर्नुपर्ने अनिवार्य शर्त लागु गरेको छ।
यो योजना हाल श्रम मन्त्रालयले अगाडी सारेको हुनाले यो योजना उपर न्यायमन्त्रालय संगको संयुक्त परामर्शपछि अधिकतम कतिसम्म भिषा अबधी थप्न सकिने भन्ने निर्क्यौल छलफल पछी टुङ्गो लाग्ने बताईएको छ।
मन्त्रालयले विदेशी कामदारहरूलाई सामान डेलिभरी क्षेत्रमा काम गर्न अनुमति दिनको लागि E-9 भिसाको दायरा फराकिलो बनाउने योजना पनि बनाएको छ।हाल E-9 भिषा बहाकले सामान डेलिभरी गर्ने काम गर्न कानुनत अनुमति छैन।