गुरुदत्त न्यौपाने/सिओल
दक्षिण कोरिया सरकारले दक्ष विदेशी नागरिकलाई आकर्षित गर्न बायोटेक्नोलोजी,रोबोटिक्स प्रविधि तथा सेमिकन्डक्टर जस्ता उच्च प्रविधियुक्त उधोगहरुमा काम गर्न नयाँ बर्ष २०२३ को शुरुवात बाटै नयाँ भिषा प्रणाली लागु गर्ने बताएको छ।
दक्षिण कोरियाका कम्पनीहरुमा उच्च दक्ष कामदार अभाव लाई परिपुर्ती गर्न र उधोगहरुको प्रतिस्पर्धा लाई सुदृढ गर्न जनवरी महिना देखी E-7 भिषामा “विशेष क्षमताको विदेशी नागरिक” भन्दै दक्ष भिषामा विदेशी दक्ष नागरिक कोरिया भित्राउने योजना रहेको न्याय मन्त्रालयले बुधबार उल्लेख गरेको छ।
कुनैपनी एक क्षेत्रमा दक्षता हाँसिल गरेका विदेशी नागरिक हरु जस्तै ईनोभेटर , ईन्जिनियरहरु जो यहाँका बिभिन्न सम्बन्धित उधोगहरुमा श्रम सम्झौता गरी E-7 भिषामा कोरिया प्रवेश गर्न सक्ने बताईएको छ।
हाल कोरिया सरकारले ८७ प्रकारका भिन्दाभिन्दै पेशामा आवद्द विदेशी नागरिक हरु ले E-7 भिषा जारी गरिदै आएकोमा यस पटक मन्त्रालयले उक्त ८७ प्रकारको पेशाको सुची भन्दा फरक प्रकृतिको काम गर्ने विदेशीलाई नयाँ प्रकारको भिषा E-7-S जारी गरिने उल्लेख छ।
उच्च प्राविधिक उद्योगहरूमा नयाँ कर्मचारीहरू वा कामदारहरू जसको तलब कोरियाको कूल राष्ट्रिय आय (GNI) – अघिल्लो वर्षको भन्दा बढी छ उनिहरुले E-7-S भिसाका लागि आवेदन दिन योग्य हुनेछन्।
मन्त्रालयले दक्ष कामदारको भिसा (E-7-4) प्राप्त गर्नेको कोटा संख्या पनि वार्षिक २ हजारबाट बढाएर ५ हजार पुर्याउनेछ। कोरियामा पाँच वर्षको लागि कानूनी रूपमा काम गरेका विदेशी कर्मचारीहरूले यो भिसाका लागि आवेदन दिन सक्छन् र कोरियामा दीर्घकालीन रुपमा काम गर्न सक्छन भने अवैध बसोबासको इतिहास भएकाहरूले आवेदन दिन सक्दैनन्।
यसबाहेक, मन्त्रालयले साना र मध्यम आकारका व्यवसाय र स्टार्टअपहरूमा काम गर्ने विदेशी नागरिकहरूको लागी भिषा परिवर्तन गर्दा बार्षिक तलव देखाउनुपर्ने आवश्यकता लाई सहज बनाउनेछ।अहिलेसम्म कोरियाको GNI को ८० प्रतिशतभन्दा बढी तलब भएकाहरूले E-7 भिसाका लागि आवेदन दिन योग्य छन भने नयाँ नियमअनुसार तलब जीएनआईको ७० प्रतिशतभन्दा बढी हुनुपर्नेछ ।जुन विगतको भन्दा १०% कम हो।
साथै कोरियाको भावी अध्यागमन नीति कोरियाको विकासमा टेवा पुर्याउन उच्च प्रविधियुक्त उधोगहरुमा दक्ष जनशक्ति भित्राउने रहेको बताईएको छ।साथै विदेशी नागरिकहरु भित्राउदै गर्दा यहाँ बस्ने अवैधानिक विदेशी कामदारलाई भने कडाई गर्ने बताएको छ।