उपेन्द्र ढुङ्गाना
पराइको कारणले कसैलेपनि आत्मह’त्या गर्दैन । यदि प्रेम र मानसिक अस्वस्थता बाहेकको कुरालाइ छोड्ने हो भने आफुले आफैलाइ मार्नुमा आफन्तहरुनै कारक हुन्छन । जो मान्छे जिबनमा पहिलोचोटि ३८००० फिट माथि हावामा उड्दै एक्लै त्यस्तो देश जाने साहस गर्छ जहां न भाषा मिल्छ , न भेषभुषा , न रहनसहन , न खानपिन , न त हावापानीनै त्यस्तो मान्छे कमजोर पक्कै हुंदैन ।
एउटा परदेशि दिउंसो कम्पनि प्रतिनिधिको गालिगलौज सुनेर आयको हुन्छ तर बेलुका घरमा फोन गर्दा भन्छ मेरोत साहु देबताजस्तै छ , मेनेजरले झन खुब माया गर्छ , कहिलेकाहिं चर्को घाममा काम गरेर लखतरान पर्दै आउंछन र घरमा फोन गर्दा भन्छन मेरोत कम्पनिभित्र काम छ घामत देख्नै पाइंदैन , ८ घण्टासम्म गह्रौं भारि बोक्छन र घरमा भन्छन सब काम मेशिनले गर्छ मेरो काम भनेको छेउमा उभियर हेर्नेमात्र हो ।आखिर यि सब बनावटी कुराहरु किन भन्छन ? किनकि उनिहरु आफ्नो दुख बांडेर परिवारलाइ दुखि बनाउन चाहंदैनन।
कहिल्यै भन्नुभो बाबु / नानि गाह्रो भय फर्केर आउ हामी छौं भनेर ? कहिल्यै भन्नुभो दाइ / भाइ / दिदि /बहिनि मलाइ केहिपनि चाहिंदैन बस आफ्नो स्वास्थ्यको ख्याल राख्नुस भनेर ? कहिल्यै भन्नुभो श्रीमान /श्रीमति मेरो संसार तिमि हौ , त्यो संसार कठिन भय हाम्रो आफ्नै संसारमा फर्केर आउ रुखोसुखो खायर जुनि काटौंला भनेर ? अहं शायदै आजसम्म कमैलेमात्र भन्नुभो होला ।
धेरैजसो जतिले भन्नुभो केबल यहि भन्नुभोकि फलानोले यति कमायो तैंले किन थोरै ? यहि सुनाउनुभोकि छिमेकिले तला थप्यो हाम्ले थप्ने कहिले ? पोहोर आइफोन पठाइदे भन्नुभो ,यसपालि ल्यापटप , थाहा छैन अर्को साल अब के को डिमाण्ड आउने हो ? जहिल्यै कुरा गर्नुभो पैसा छाप्ने मेशिनकै रुपमा हेर्नुभो ।

हाल उहाँ कोरियामा लामोसमय देखी कार्यरत हुनुहुन्छ।कोरियाका भोगाई सङ्घर्ष र समसामयिक बिषयमा कलम चलाउने लेखकको रुपमा यहाँ स्थापित हुनुहुन्छ।
मुसुक्क मुस्कायको फोटो हेर्दै भन्नुभो क्या मोज छ तंलाइ ! कहिल्यै देख्नुभो त्यो उदास नजरभित्र पुरियका बिशाल बेदनाहरुको सागर ? खुट्टाको जुत्तामा नजर लाउंदै भन्नुभो ब्राण्डेड रैछ कति पर्यो ? कहिल्यै भन्नुभो खै तेरो हात देखात हेरम ? कहिल्यै नियाल्नुभो हत्केलाभरि उठेका ठेलाहरुलाइ ? अहं छैन।
परदेश त्यस्तो ठाउं हो जहां कोहि भिडभाडभित्र गुम्सियर निस्सासियका हुन्छन भने कोहि एक्लोपनाको शिकार बन्छन । धेरै ठक्कर र हण्डर खांदाखांदै जब दुनियांसंग मन भरियर आउंछ अनि आफन्तको काखमा बच्चाझैं निदाइदिन मन लाग्छ ।उनिहरु हरेक पल आफन्तको बोलि र ब्यबहारमा माया स्नेह खोजिरहन्छन ।जतिबेला देश छोडेर धेरै पर परदेश जाने मान्छेहरुले आफ्नाहरुबाट आफ्नोपन खोजिरहेका हुन्छन अनि त्यतिबेला आफन्तहरुचाहिं पर पर हुंदै जान्छन त्यसपछि सुटुक्क एक्लै धेरै परको परलोक जान मन लाग्छ।
नेपालमा रहनुहुने सम्पुर्णको आफन्तहरुलाइ अनुरोध जसरि परबाट हेर्दा सग्लो देखिने अग्लो भवनको भित्तापनि नजिकबाट हेर्दा चर्कियको हुनसक्छ त्यसरिनै परबाट हेर्दा ठिकठाक देखिने तपाइंका आफन्तहरुको मनपनि भित्रभित्रै चर्कियको हुनसक्छ यो कुरालाइ मनन गरिदिनुहोला। माथिका याबत कुराहरु बुझिसकेपछि आत्मह’त्या न्युनिकरणको निम्ति परिवारको भुमिका के कस्तो रहन सक्छ शायद यहां भनिरहन नपर्ला।