दयाराम निरौला / दक्षिण कोरिया
दक्षिण कोरियामा चरम विकास, समयक्रम, बाध्यता र आवश्यकताको आधारमा यौनजन्य गतिविधि क्रमबद्ध रुपमा यौन व्यापारमा परिष्कृत भएर आएको देखिन्छ । दक्षिण कोरियाको आधुनिकीकरण भन्दा अघि कोरियामा वेश्यालयहरु थिएनन् तर सम्भ्रान्त भूमिधारी वर्गका लागि बहिष्कृत वा दास परिवारका महिलाहरू जसले माथिल्लो वर्गका पुरुषहरूलाई मनोरञ्जन र यौन सेवाहरू प्रदान गर्न यौन श्रम गर्न बाध्य थिए ।

पहिलो पटक सन् १८७६ मा कूटनीतिक सम्झौता मार्फत आफ्नो बन्दरगाह खोल्यो, जसको कारण जापानी आप्रवासीहरूका लागि बुसान, ईन्छन लगायतका स्थानमा यौन व्यापार हुने गरेको इतिहास पाईन्छ । सन् १९६० मा अमेरिकी सैनिकको प्रवेशसँगै अमेरिकी सैनिक अड्डाहरू वरपर वार्ता कै माध्यमबाट सैनिकहरूका लागि यौन सन्तुष्टि प्रदान गर्न सरकारले वेश्याहरूलाई दर्ता गर्यो, जसलाई पश्चिमी राजकुमारीहरु भन्ने गरिन्थियो र उनीहरूलाई चिकित्सा प्रमाणपत्र अनिवार्य गरिएको थियो ।यो सरकारी संलग्नता त्यस समयमा उत्तर कोरियाबाट दक्षिण कोरियालाई जोगाउन अमेरिकी सेनाको सहयोग रहोस भन्ने चाहना र उनीहरुले छोडेर जान सक्छन् भन्ने भयले प्रेरित थियो ।
सन् २००० को दशकमा कोरियाले यौन व्यापारलाई नियन्त्रण र व्यवस्थापन गर्न विभिन्न कानुनहरु पारित गरेको छ । नागरिक स्तरमा यौन व्यापारलाई बन्देज लगाउनु पर्छ भन्ने एउटा पक्ष र अझ खुल्ला र व्यवस्थित गर्नु पर्छ अर्को पक्ष कोरियामा रहेको पाईन्छ ।
दक्षिण कोरियामा अहिले पनि यौन व्यवसायको निश्चित स्वरुप र स्थानलाई मापदण्ड पुर्याएर कानुनी मान्यता प्रदान गरिएको छ। कोरियाका धेरै शहरमा कानुनी रुपमा तथा अन्य धेरै स्वरुपमा गैरकानुनी रुपमा यौन व्यवसाय सन्चालित रहेको छ । यहाँ सहमतिमा हुने हिंसा रहित यौन गतिविधिलाई सामान्य रुपमा लिने गरिन्छ । कोरियामा रहेको यौन व्यापारको स्वरूप, विशेषता र अवस्था निम्न प्रकारमा हेर्न सकिन्छ ।
१) नोरेवाङ

कोरियामा नोरेवाङ अर्थात् दोहोरि साँझ अधिकांश ठाउँमा सञ्चालित छ । नोरेवाङमा विशेषत कोरियन तथा विदेशीहरु पाटी, सप्ताहन्त लगायत विभिन्न अवसरमा गएर स्पेस तथा रुम भाडामा लिएर अधिकांश ग्राहकले कोरियन रक्सी (सोजु, माक्कली) र वियर सेवन गर्दै नाचगान गर्ने गर्छन् । यहाँ बसेको समय अनुसार शुल्क लाग्ने गर्छ । सामान्यतया १ घण्टाको रु. ५,००० देखि रु. १०,०००/- सम्म लाग्ने गर्छ । जसमा सामान्य मात्रामा रक्सि / वियर उपलब्ध हुन्छ । यदि युवतीलाई सँगै लिएर बस्न चाहेको खण्डमा थप शुल्क रु. ५,०००/- देखि रु. १०,०००/- सम्म लाग्छ । नोरेवाङ भित्र कुनै पनि यौनजन्य क्रियाकलाप गर्न प्रतिबन्ध हुन्छ तथापि युवतीसँग मन र आर्थिक सल्लाह मिलेमा साहुको स्वीकृतिमा बाहिरका लजहरु प्रयोग गरि यौन क्रियाकलाप हुन्छ । युवतीहरु कोरिया, भियतनाम, थाईलैण्ड लगायत देशका हुन्छन् । तर नोरेवाङ कोरियाको मौलिक मनोरन्जनात्मक ठाउँ भएकोले यौनजन्य क्रियाकलाप गैरकानुनी छ ।
२) ए टाउन
कोरियामा अमेरिकन टाउन अर्थात् क्लवहरु मनोरन्जन सेन्टरको रुपमा सन्चालित छन् । यस्ता सेन्टरहरु पुर्ण रुपमा क्लबको मापदण्डमा सन्चालन छैन । नाईट क्लवको मापदण्ड र विशेषता भन्दा भिन्न स्वरूपमा सन्चालनमा रहेका ए टाउनमा अर्ध यौन क्रियाकलाप हुन्छ भन्दा फरक पर्दैन । यहाँ प्रत्येक घण्टाको लागि छुट्टाछुट्टै कोठाहरु बुक गर्नुपर्छ । एउटा कोठामा ५/६ जना बस्न सकिन्छ । त्यसपछि युवतीहरुलाई साहुले ल्याएर १/१ जना रोज्न लगाउँछन् । आफुले रोजेको युवतीसँग बुक गरेको समय रमाईलो गर्नुपर्छ । युवती आएर सँगै बस्ने, वियर पिउने, चुरोट तान्ने, नाँच्ने, गाउँने गरेर ग्राहकलाई मनोरन्जन दिने गर्छन । सराब र जवानीले मात्तिएका अधवैसे उनीहरु ग्राहकलाई अविवाहित र २०/३० बर्ष पुगेको बताउँछन् । ग्राहकलाई लामो समय बस्न प्रेरित हुने गरि अर्ध नग्न युवती ग्राहकको चाहना अनुसार खुल्छन् । उनीहरुले त्यहाँ यौन सम्पर्क बाहेकका सबै गतिविधि ग्राहकसँग गर्छन् ।
विशेष गरि यस्ता ठाउँमा कोरिया, रसिया, ताजिकिस्तान, काजकिस्तान, भियतनाम लगायतका युवतीहरु हुन्छन् । यो ठाउँमा युरोपेली, अमेरिकी र कोरियन ग्राहकले विशेष प्राथमिकता र सुविधा पाउँछन् भने एसियाली ग्राहकलाई यौन गतिविधि बाहेक अन्य स्वरूपमा मनोरन्जन दिने गरेको पाईन्छ । यहाँ घण्टाको रु. १०,०००/- देखि १५,०००/- सम्म लाग्छ । यहाँ कानुनी रुपमा यौनजन्य व्यापार गर्न पाईदैन तर यौनजन्य गतिविधिलाई ग्राहक र युवती राजी भएमा लज शुल्क र अतिरिक्त सर्भिस शुल्क लाग्ने गर्छ । जुन उनीहरुले आफैं निर्धारण गर्छन् ।
३) मसाज सेन्टर

सामान्यतया मसाज सेन्टर नेपाल लगायत अधिकांश ठाउँहरुमा सन्चालित छ । मसाज सेन्टरमा शरिर मसाज गरेर थकाईं हटाउने, दर्दहरु निराकरण गर्ने, ह्याङ ओभर गर्ने लगायतका प्रयोजनलाई गरिन्छ । तथापि मसाजको मेडिकल उपयोगिता र प्रयोग यो भन्दा फरक छ । कोरियामा मसाजको सेवा महिला वा पुरुष दुवैबाट केटा वा केटी जो कोहिले लिन सकिन्छ । सामान्य रुपमा कोरियन मसाज सेन्टर मसाजको लागि मात्र सन्चालित छन् । सामान्यतया मसाजको १ घण्टाको रु.५,०००/- देखि रु.१०,०००/- सम्म लाग्छ । तथापि धेरै मसाज सेन्टरमा मसाजसँगै यौन व्यापार हुन्छ । यहाँ यौन व्यापार गर्ने अधिकांश युवती थाईलैण्ड र फिलिपिन्सका हुन्छन् तथापि कोरियन महिलाहरु पनि मसाजसँगै यौन व्यापारमा सामेल हुन्छन् । यहाँ मसाजसँगै यौन गतिविधि गर्ने भए घण्टाको रु. १५,०००/- देखि रु.२०,०००/- सम्म शुल्क लाग्ने गर्छ । यो गैरकानुनी भए तापनि खुल्ला रुपमा नै सन्चालित पाईन्छ ।
४) थावाङ

कोरियामा थावाङ भन्ने बित्तिकै मिठो कफि पिउँने प्राचिन स्थान अर्थात कफि सप हो । थावाङ ग्राहकलाई स्वादिलो कफि बनाएर सेवा दिन खोलिएका हुन्छन । तर कानुनी रुपमा कफि र ब्रेडको व्यापारलाई खोलिएको स्थानमा गैरकानुनी तर खुल्ला रुपमा नै यौन व्यापारका लागी गफगाफ र बार्गेनिङ चल्छ । थावाङमा कफि भन्दा ज्यादा जवानी बिक्री हुन्छ । यहाँ कफिसँगै २५ देखि ४५ बर्ष सम्मका युवतीहरु आउँछन् र विभिन्न तरिकाले ग्राहकलाई आकर्षित बनाउने प्रयास गर्छन् । उनीहरु प्राय कोरियन नै हुन्छन् । यहाँ कफि बाहेक यौन सेवा लिन ग्राहक मन्जुर भएको खण्डमा युवतीलाई प्रति घण्टा रु. २०,०००/- देखि रु. ३०,०००/- सम्म बुझाउनु पर्छ र उनीहरु आफैंले लजको व्यवस्था गरेर सर्भिस दिने गर्छन् ।
५) कल सर्भिस
कोरियामा सबैभन्दा जोखिमपुर्ण र धेरै मान्छे फस्ने नै कल सर्भिसका कल एजेण्ट र गर्लहरुसँग हुन्छ । उनीहरुले विभिन्न सामाजिक सन्जालका माध्यमबाट जोडिएर साथी बनाउँन कोसिस गर्ने र उनीहरुको स्टाटस बुझ्ने कोसिस गर्ने गर्छन अनि मानिसलाई आकर्षित बनाउन विभिन्न प्रकारका तरिका अपनाउँने गर्छन् । कल सर्भिसमा भेटिने युवा युवतीले सर्भिस शुल्क समय र ठाउँ अनुसार आफैं निर्धारण गर्छन । कल सर्भिसमा भर्चुअल र भौतिक दुवै सेवा उपलब्ध हुन्छ । यसमा फेक आईडी र पहिचान बनाई धेरै युवायुवतीलाई हनीट्यापमा पारेर हजारौँ – लाखौ रकमको बार्गेनिङ हुन्छ । मन्जुर हुनेले रकम बुझाउँछन् नभए कर्ल एजेण्ट तथा गर्लहरुले अश्लील सामग्री बनाई सामाजिक संजाल, पोर्न साईट तथा मेसेन्जर मार्फत सार्वजनिक गरि मानसिक तनाव दिएर बार्गेनिङ गर्छन । कल सर्भिसमा कोरियनहरुले सम्झौता अनुसार सेवा दिने गरेता पनि थाईलैण्ड, फिलिपिन्स र भियतनामका मानिसहरुले ग्राहकलाई हनि ट्यापमा पारेर रकमको बार्गेनिङ गर्ने र उपलब्ध नभए सार्वजनिक रुपमा बेईज्जत हुने गरि सक्कली वा नक्कली अश्लील सामग्री प्रकाशित गर्ने गरेको पाईन्छ ।
६) रेडलाईट एरिया

यो कोरियाको पर्यटक क्षेत्र तथा कोरियन एवंम् विदेशीको लागि परिचित एरिया हो । यहाँ कोरियाको सम्बन्धित निकायबाट लाईसेन्स र मेडिकल सर्टिफिकेट लिएर कोरियनहरुले तोकिएको स्थानमा यौन व्यवसाय सन्चालन गर्दै आएका छन् । यो कोरियामा सन्चालित आधिकारिक यौन व्यवसाय हो । यसमा यौन व्यवसायीले राज्यलाई आवश्यक कर तिर्छन् भने सरकारले उनीहरुलाई सुरक्षा लगायतका अन्य सुविधा प्रदान गर्छ । रेड लाईट एरियामा युवतीहरु पारदर्शी सटरमा आकर्षक रुपमा बाहिरबाट ग्राहकले हेर्न मिल्ने गरि अर्धनग्न अवस्थामा ग्राहक पर्खि रहेका हुन्छन् । ग्राहकले मन परेको स्थान छनौट गरि तोकिएको शुल्क तिरेर सेवा लिन पाउँछन् । कोरोना माहामारी पश्चात रेडलाईट एरियालाई सरकारी तवरबाटै बन्द गर्ने सवाल उठेसँगै केहि स्थानमा पूर्ण रुपमा बन्द भए पनि धेरै ठाउँमा यथावत रुपमा सन्चालित रहेको छ । यस ठाउँमा प्रत्येक पटक ग्राहकले रु. ७,०००/-,देखि १०,०००/-,सम्म भुक्तानी गर्नुपर्छ ।
लेखक दयाराम निरौला हाल कोरियामा कार्यरत हुनुहुन्छ।