चीनको अवरोधले भारत असन्तुष्ट, चिनियाँ सामान बहिस्कार गर्न ट्‍विटरमा अभियान

मुख्य समाचार

एजेन्सी नयाँदिल्ली : भारतले पाकिस्तानमा आश्रय लिइरहेको लडाकु समूहका नेता मसूद अजहर र उनले नेतृत्व गरेको जैश–ए–मोहम्मद समूहलाई कालोसूचीमा राख्ने संयुक्त राष्ट्रसंघको प्रस्ताव चीनले अस्वीकृत गरेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ।

फेब्रुअरी १४ मा भारत प्रशासित कश्मीरको पुलवामा विस्फोट हुँदा ४० जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको थियो। जैश–ए–मोहम्मदले उक्त घटनाको जिम्मेवारी लिएको थियो। उक्त घटनालगत्तै दुबै मुलुकबीच एकअर्का विरुद्ध हवाई आक्रमण र सीमाक्षेत्रमा गोलाबारी भएको थियो। कश्मीर विवादलाई लिएर विगतमा दुईपटक भीषण युद्ध गरिसकेका यी दुई आणविक अस्त्र सम्पन्न मुलुकबीच अर्को युद्ध भड्किने खतरा बढेको थियो। चीनले बुधबार बेलायत, फ्रान्स र अमेरिकाले मसूद अजहरलाई राष्ट्रसंघीय कालोसूचीमा राख्न अघि बढाएको प्रस्ताव स्थगन गरिदिएको थियो। मसूदमाथि विश्वव्यापी यात्रामा प्रतिबन्ध, सम्पत्ति रोक्का र हातहतियारमाथि प्रतिबन्ध लगाउने उक्त प्रस्तावमा उल्लेख थियो। पाकिस्तानलाई आर्थिक, राजनीतिक तथा सामरिक मद्दत गरिरहेको चीनले अजहरमाथिको प्रतिबन्धको प्रस्तावमाथि अध्ययन गर्न थप समय चाहिएको जनाएको थियो। चीनको उक्त अनुरोधसँगै प्रस्ताव करिब ९ महिनापछि धकेलिएको छ।

चीनले स्थायी शान्ति कायम गर्न हतार हुने भन्दै आफूले भिटो प्रयोग गरेको जवाफ दिएको छ। मसूदलाई राष्ट्रसंघले आतंकवादी घोषणा गर्दा भारत–पाकिस्तान शान्ति वार्तामा असर पर्ने भन्दै चीनले आफ्नो बचाउ गरेको छ। यस विषयमा अध्ययन गर्न समय लाग्ने र आफूले अध्ययन गरिहेको चीनको भनाइ छ। यद्यपि चीनले सन् २००१ देखि नै यो विषयलाई टार्दै आएको छ।

भारतीय विदेश मन्त्रालयले चीनको कदमबाट भारत निराश भएको जनाएको छ। मन्त्रालयले भारतीय नागरिकमाथि नृशंस आक्रमणमा संलग्न आतंकवादी नेताहरूलाई कानुनी कठघरामा ल्याउन सबै सम्भाव्य उपाय खुलै राख्ने पनि स्पष्ट गरेको छ। चीनले राष्ट्रसंघीय प्रतिबन्धसम्बन्धी समितिमा विगतका तीनवटा प्रयत्नलाई अवरुद्ध गरिसकेको छ। जैश–ए–मोहम्मदलाई सन् २००१ मै राष्ट्रसंघीय आतंकवादी सूचीमा राखिएको छ। संयुक्त राष्ट्र सुरक्षा परिषद्मा अमेरिकाले मसूदमाथि कारबाहीका लागि अन्य विकल्प लिने बताएको छ। चीनले आतंकवादविरुद्ध लड्ने हो भने यस्ता गतिविधि गर्न नहुने अमेरिकी भनाइ छ।

चीनको निर्णयप्रति भारतीय सञ्चारमाध्यमले तिखो व्यंग्य गरेका छन्।
चीनको कदमको भारतीयले विरोध गरेका छन्। योगगुरु बाबा रामदेवले पनि चिनियाँ सामानको बहिष्कार गर्न आह्वान गरेका छन्। उनले ट्विट गर्दै भनेका छन्, ‘मसूद अजहर समर्थकसहित देशभित्र र बाहिरका व्यक्तिलाई हामीले राजनीतिक, सामाजिक, आर्थिक रूपमा बहिष्कार गर्नुपर्छ। चीनले त विशुद्ध रूपमा व्यावसायिक भाषा मात्र बुझ्छ। आर्थिक बहिष्कार युद्धभन्दा पनि शक्तिशाली हुन्छ।’

उनीहरूले सामाजिक सञ्जालमा चीनबाट आयात हुने सामान बन्द गर्न आह्वान गरेका छन्। उनीहरूले ट्विटरमा #बाइकटचाइनिजप्रोडक्ट्स अभियान नै शुरु गरेका छन्। आफूले उपयोग गर्दा तिरेको रकम भारतमा आतंकवादी आक्रमण गर्नेको हातमा पुग्ने भन्दै उनीहरूले संयमित हुन उपभोक्तालाई आह्वान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *