४५ वर्षअघि ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहारपछि हत्या गरेको अभियोगमा अमेरिकी प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । बुधबार एक पत्रकार सम्मेलनमार्फत ७२ वर्षका जेम्स एलन निललाई सार्वजनिक गरिएको हो ।
सन् १९७३ को जुलाई ६मा बिहान स्कुल गएकी क्यालिफोर्नियाकी ११ वर्षीया लिन्डा ओकिफ साँझ घर फर्किनन् । भोलिपल्ट शहरको नालीमा उनको शव फेला पार्यो । प्रहरी अनुसन्धानले यौन दुर्व्यवहारपछि उनको हत्या भएको पुष्टी भयो । तर, हत्याराको कुनै संकेत समेत भेटिएन ।
स्कुलबाट फर्किँदा कारमा बसेका कोही अपरिचितसँग कुरा गरिरहेको कसैले देखेका थिए । त्यसपछि लिन्डा हराइन् । ती कारमा बसेका व्यक्ति को थिए भन्ने समेत कुनै संकेत प्रहरीले पाउन सकेन ।
तर, स्थानीयबासीले ४५ वर्षसम्म न्यायको माग गर्न छोडेनन्, न उनीहरु निराश भए, न त हार नै माने ।‘लिन्डाका आफन्त र स्थानीयले ४५ वर्षसम्म दिनहुँ यो मुद्दाबारे झकझक्याइरहे’ अरेन्ज काउन्टीका जिल्ला न्यायधिवक्ता टड स्पिजरले उक्त पत्रकार सम्मेलनमा भने,‘र, ४५ वर्षसम्म प्रहरीले अनुसन्धान गरिरह्यो ।’
४५ वर्षपछि कसरी पक्राउ परे आरोपी ?
४५ वर्षसम्म प्रहरीले लिन्डाको हत्यारा पत्ता लगाउन सकेको थिएन । तर, शव बरामद हुनेबित्तिकै उनको लुगाबाट हत्याराको डिएनए संकलन गरेको थियो । यही डिएनए निलसम्म पुग्ने माध्यम बन्यो । हत्याराको संकेत नमिले पनि प्रहरीसँग यो डिएनए रिपोर्ट सुरक्षित थियो ।
पछि अमेरिकाले ‘कोडिस’ (कम्बाइन्ड डिएनए इन्डेक्स सिस्टम) नामक सफ्टवेयर विकास गर्यो । कोडिसमा तीन तहमा काम हुन्छः लोकल डिएनए इन्डेक्स सिस्टममा डिएनएको विवरण राखिन्छ । स्टेट डिएनए इन्डेक्स सिस्टमले राज्यभित्रका प्रयोगशालालाई आवश्यक डिएनए विवरण उपलब्ध गराउँछ भने नेसनल डिएनए इन्डेक्स सिस्टमले राज्य(राज्यबीच विवरण आदानप्रदान गर्छ ।
लिन्डाको लुगाबाट प्राप्त डिएनएको विवरण सन् २००१ मा कोडिसमा राखियो, तर त्यसबेला कुनै पनि नतिजा हात लगाउन प्रहरी असफल भयो । प्रहरीले अझै अनुसन्धान गर्न छोडेन । यसबीच डिएनए परीक्षणको प्रविधि पनि थप विकसित हुँदै गयो । जेनियोलोजिकल डिएनए परीक्षण प्रविधिमार्फत प्रहरीले निरन्तर अनुसन्धान गरिरह्यो । अन्ततस् पुरानो विवरणलाई नयाँ प्रविधिमार्फत प्रयोग गरी प्रहरी निलसम्म पुग्यो ।
लिन्डाको हत्यापछि निलले स्थान र नाम परिवर्तन गरी बसोबास गरेको प्रहरीको दाबी छ ।