काठमाडौं । न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा ४० जनाको मृत्यु भएको छ । आर्डर्नले शुक्रवारलाई ‘कालो दिन’ भएको बताउँदै यो घटनालाई ‘आतङ्ककारी हमला’ मात्रै भन्न सकिने बताइन् ।
उक्त आक्रमणमा परी २० जना घाइते भएका बताइएको छ । घाइते सबै जनालाई स्थानीय अस्पतालमा लगि उपचार शुरू गरिएको छ । घाइतेमध्ये अधिकांशलाई गम्भीर चोट लागेकोले मृतक सङ्ख्या बढ्न सक्ने बताइएको छ ।
‘यो प्रष्ट भएको छ कि आक्रमण आतङ्ककारी समूहबाट भएको हो,’ प्रधानमन्त्री अडर्नले भने । ‘प्रारम्भिक अनुसन्धानपछि हामीलाई आएको सूचनामा आक्रमण सुव्यवस्थित तथा सुनियोजित रहेका बताइएको छ ।’
‘अन्य दुई विस्फोटक पदार्थ राखी पठाइएको आशङ्कामा दुई गाडीलाई नियन्त्रणमा लिई निष्क्रिय बनाइएको छ,’ प्रधानमन्त्रीले घटनास्थलबाट पाएको सूचनालाई उद्धृत गर्दै जानकारी गराइन्।
प्रत्यक्षदर्शीहरूले स्थानीय समाचारमाध्यमलाई आफू ज्यान जोगाउन भागेको र अल नूर मस्जिदमा मानिसहरू रगताम्मे भएर लडिरहेको देखेको बताएका छन्।
सरकारले मानिसहरूलाई अर्को सूचना नआएसम्म मस्जिदमा नजान भनेको छ र सबै विद्यालयहरूको ढोकामा ताल्चा मारिएको छ।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले गिरफ्तार एक जना अस्ट्रेलियन नागरिक भएको र उ ‘अतिवादी दक्षिणपन्थी घातक आतङ्ककारी’ भएको बताएका छन् ।
प्रहरी प्रमुख माइक बुशले एक महिलासहित चार जनालाई हिरासतमा लिइएको बताए पनि अरू व्यक्ति संलग्न भए वा नभएको स्पष्ट नभएको बताएका छन् ।