मापसेपछि लापसे : सडकमै ड्रग युरिन टेस्ट

मुख्य समाचार

सिमरा : मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेलाई कडाई गर्दै आएको प्रदेश २ को ट्राफिक प्रहरी कार्यालयले शुक्रबारदेखि लागू पदार्थ सेवन (लापसे) गर्ने चालकमाथि कारबाही सुरु गरेको छ ।

लागू पदार्थ सेवन गरी सवारी चलाउने चालकको संख्या बढिरहेको गुनासो आएपछि त्यसको नियन्त्रणका लागि पथलैयास्थित ट्राफिक प्रहरी कार्यालयले लापसे जाँच सुरु गरेको हो ।

चालकले लागू पदार्थ सेवन गरे नगरेको पत्ता लगाउन ट्राफिक प्रहरीले सडकमै ड्रग युरिन टेस्ट सुरु गरेको ट्राफिक प्रहरी प्रवक्ता प्रहरी निरिक्षक रिपेन्द्र सिंहले जानकारी दिए । सडकमै चालकको पिसाब संकलन गरी किटबाट जाँच गर्ने र सेवन गरेको पाइएमा तत्कालै कारवाही गरिने प्रवक्ता सिंहको भनाइ छ ।

मादक पदार्थ सेवन गर्दा समातिने डर भएपछि चालक लागू पदार्थ सेवन गर्न थालेको सिंहको भनाइ छ । ‘ब्रेथलाइजरबाट लागू पदार्थ सेवन गरेको पत्ता लाग्दैन्’, उनले भने, ‘त्यसैले लापसे गर्नेको संख्या बढेको देखियो ।’ सिंहले अब मापसे र लापसे जाँच सँगै हुन बताए ।

लापसे जाँचको सुरुवात गर्ने क्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेल, बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल, प्रहरी उपरीक्षक सानुराम भट्टराईलगायत सहभागी थिए ।
सडकमा ड्रग युरिन टेस्ट गर्दै ट्राफिक प्रहरी । तस्बिर : दिवाकर भण्डारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *