साउदीमा जेल परेका भुपराजको परिवारको दुखेसो : सरकारले हाम्रो आँसु देखेन

मुख्य समाचार

काठमाण्डौ – ‘भाइ जेल परेको ११ महिना पुगेर १२ महिना लाग्यो । भाइ निर्दोष छ भन्दै म कहाँ पुगिनँ होला, तर हाम्रो पीडा कसैले सुनेन । घरमा कसैका आँखा ओभाना छैनन्’ टंक बुढाथोकीको बोली बोल्दाबोल्दै रोकियो ।

साउदी गएका भुपराज जेल परेपछि टंकको मात्रै होइन, परिवारका सबैको ओठमुख सुकेको छ । गुहार माग्दामाग्दै थाकेका छन् परिवारका सदस्य । तर पनि भुपराजका बारेमा केही जानकारी पाएका छैनन् ।

लाखौं युवा विदेशमा छन् । दिनमा सयौं युवा समस्यामा परेको खबर आइरहन्छ । सहयोग र उद्दार गर्ने सरकारी र गैरसरकारी संस्थालाई भुपराजको समस्या पनि त्यस्तैमध्येको एउटा लाग्यो होला । तर परिवारलाई त्यो कुराले झनै पीडा दिइरहेको छ ।

तेलमा पानी मिसाएको आरोपमा जेल
महोत्तरीको बर्दिवास कालापानीका भुपराज बुढाथोकी झण्डै चार वर्षअघि साउदी अरब जानुभयो । कम्पनीले १३ महिना काम दिएन । त्यसपछि काम दिएको कम्पनीले फर्किन २३ दिन हुँदा भुपराज पक्राउ पर्नुभयो ।

आरामको कम्पनी, तेल उत्पादन गर्ने तेल, सधैं त्यही काम गर्दै आएका भुपराज त्यो दिन पनि तेल भरिएको ट्याङ्कर लिएर गन्तव्यमा पुग्नुभयो । त्यो गाडीमा लगिएको तेल परीक्षण गरियो ।

परीक्षण गर्ने व्यक्तिले त्यो तेल गुणस्तरहीन भएको बताएपछि तेल लिने कम्पनीले आरामको कम्पनीसँग तेल गुणस्तरहीन हुनुको कारण सोध्यो । तर कम्पनीले त्यो तेल आफूले नपठाएको दाबी गर्‍यो ।

आरामको कम्पनीबाट तेल लोड गरेको सबै कागजात भुपराजसँग सुरक्षित थियो । कागज भुपराजले देखाउनु पनि भयो । तर आरामको कम्पनीले त्यो स्वीकारेन । कम्पनीले जिम्मा नलिएपछि कम्पनीका प्रतिनिधिले प्रहरी बोलाएर भुपराजलाई पक्रिन लगाए ।

घर फर्किन केहीदिन मात्रै बाँकी रहेका बेला भुपराज जेल परेको खबर आएपछि के गर्ने, कसो गर्ने परिवारले सोच्नै सकेन । ‘सुरुमा पार्टीका नेतालाई भन्दा हुन्छ कि भनेर स्थानीय नेतादेखि पार्टीका ठूल्ठूला नेतालाई पनि भेटें तर केही भएन’ टंक भन्नुहुन्छ ।

नेता र पार्टीका कार्यालय धाउँदा उपाय नलागेपछि उहाँ विदेशमा समस्यामा परेका व्यक्तिलाई उद्दार गर्ने ठाउँखोज्दै काठमाण्डौको बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागमा पुग्नुभयो ।
विभागले टंकलाई कन्सुलर सेवा विभागमा पठाइदियो । कन्सुलर सेवा विभागले सन् २०१८ जुलाई २६ तारिखमा पहिलो पटक भुपराजको बारेमा बुझ्न अनलाइनमार्फत निवेदन लिएको छ ।

त्यही दिन साउदी अरबमा रहेको नेपाली दूतावासलाई भुपराजका बारेमा जानकारी गराउन भनेपछि दूतावासले भुपराज तेलमा पानी मिसाएको आरोपमा पक्राउ परेको जानकारी पाएको जवाफ दिएको छ ।

साउदीको कानुनअनुसार भुपराजलाई ९ महिनाको जेल सजाय हुने जानकारी पाएको दूतावासको भनाई छ । दूतावासले भनेको ९ महिना पुगेको छ । अहिले भुपराजको अवस्था के छ भन्ने बारेमा आफूहरुले केही जानकारी नपाएको टंकले गुनासो गर्नुभयो ।

अहिले टंक कहिले प्रवासी नेपाली समन्वय समिति पीएनसीसीमा त कहिले कन्सुलर सेवा विभागमा फोन गरेर त्यही गुनासो गरिरहनुहुन्छ । त्यति मात्रै होइन उहाँले साउदी अरबमा रहेको दूतावासमा समेत फोन गरेर बारम्बार यसका बारेमा जानकारी मागिरहनुभएको छ ।

तर आफूले भाइका बारेमा स्पष्ट जानकारी नपाएको गुनासो गर्नुभएको छ । ‘यत्तिका समय भइसक्यो के भइरहेको छ भनेर कहाँ कसले भनिदिन्छ , के हामी यो देशका नागरिक होइनौं’ टंकले प्रश्न गर्नुभयो ।

दूतावासबाट अपडेट भएको छैन : कन्सुलर सेवा विभाग
कन्सुलर सेवा विभागले भने घटना र सम्बन्धित देशको कानुनअनुसार काम गर्नुपर्ने भएकाले कुनै घटनामा ढिलो हुन सक्ने बताएको छ । यसबारेमा दूतावासले जानकारी गराएपछि आफूहरुले ‘अपडेट’ गर्ने भन्दै दूतावासका एक कर्मचारीले आफूहरुलाई जानकारी आउना साथ परिवारलाई जानकारी गराउने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *