न्युजिल्यान्ड आक्रमणपछि सामाजिक सञ्जालमाथि प्रश्न

मुख्य समाचार

जतिखेर फेसबुकले आक्रमणको भिडियो हटायो, त्यतिखेरसम्म यसलाई डाउनलोड गरेर या कपी गरेर भाइरल बनाइसकिएको थियो

न्युजिल्यान्डको क्राइस्टचर्च सहरमा शुक्रबार दुई मस्जिदमा भएको आक्रमणमा ४९ मानिसको मृत्यु भयो भने २० भन्दा बढी घाइते । यस आक्रमणका मुख्य आरोपी अस्ट्रेलियाली नागरिक ब्रेन्टन टारान्टलाई अदालतमा पेस गरिएको छ । अदालतमा पेस गरिँदा उनको शरीरमा सेतो सर्ट थियो भने हातमा हतकडी । न्युजिल्यान्डका प्रधानमन्त्री ज्यासिन्दा आर्डनका अनुसार सन्दिग्ध आक्रमणकारीका साथमा एक लाइसेन्सवालासहित पाँच बन्दुक थिए । यस घटनाको सबैभन्दा आश्चर्यजनक पाटो यो छ कि आक्रमणकारीले मस्जिदमा गरेको आक्रमणलाई फेसबुकमा लाइभ गरेका थिए । सामाजिक सञ्जालमा यो भिडियो अत्यन्त तीव्र गतिमा फैलिएको थियो । यस भिडियोलाई फेसबुकले आफ्नो प्लेटफर्मबाट हटाउनुअघि नै यसलाई संसारभरका कैयौँ प्रयोगकर्ताले सेयर गरिसकेका थिए । यस आक्रमणको भिडियोबाट लिइएका तस्बिरलाई कैयौँ ठूला न्युज वेबसाइटले मुख्य पृष्ठमै स्थान दिए ।

न्युजिल्यान्ड आक्रमणको घटनापछि फेसबुक, ट्विटर र रेडिटजस्ता सामाजिक सञ्जाल दक्षिणपन्थी अतिवाद रोक्न कसरी असफल भइरहेका छन् भन्ने प्रमाणित भएको छ । हिंसाको भिडियो सेयर नगर्ने विषयमा अपिल गर्नमा पनि यी सामाजिक सञ्जाल पछाडि परे । यिनीहरूभन्दा अगाडि आमप्रयोगकर्ताले अन्य प्रयोगकर्तालाई यो भिडियो सेयर नगर्न अनुरोध गरे । न्युजिल्यान्ड आक्रमणको ठीक १० मिनेटअघि एक दक्षिणपन्थी वेबसाइट ‘८ च्यान’ ले एउटा पोस्ट सेयर गरेको थियो । यसमा आक्रमणका सन्दिग्ध व्यक्तिको फेसबुक पेजको लिंक दिइएको थियो । यस पेजमै सन्दिग्ध आक्रमणको लाइभ स्ट्रिम गरियो र केही दस्ताबेज पनि सार्वजनिक गरिए, जुन घृणाले भरिएका थिए ।

न्युजिल्यान्ड आक्रमणको घटनापछि फेसबुक, ट्विटर र रेडिटजस्ता सामाजिक सञ्जाल दक्षिणपन्थी अतिवाद रोक्न कसरी असफल भइरहेका छन् भन्ने प्रमाणित भएको छ

डेटा विश्लेषक संस्था बेलिन क्याटका विश्लेषक रोबर्ट इभानका अनुसार जुन दस्ताबेज यस फेसबुक पेजमा सेयर गरिएका थिए, तिनमा घृणा फैलाउने निम्न स्तरका ट्रोल समावेश थिए । आक्रमणकारीले यस पूरै आक्रमणको लाइभ स्ट्रिम गरेका थिए । तर, जतिखेर फेसबुकले त्यसलाई सो पेजबाट हटायो, त्यतिखेरसम्म यसलाई डाउनलोड गरेर या कपी गरेर पूरै प्लेटफर्ममा भाइरल गरिसकिएको थियो । यस भिडियोलाई हटाएपछि पनि यसलाई सामाजिक सञ्जालमा देख्न सकिन्थ्यो । अथवा, यसो भन्न सकिन्छ कि जुन तीव्रतासाथ यसलाई युट्युब, फेसबुकले हटाए, त्योभन्दा कैयौँ तेज गतिमा यसलाई पुनः कैयौँ युट्युब च्यानलहरूले अपलोड गरिदिए । कैयौँ अस्ट्रेलियाली मिडिया ब्रोडकास्टरले पनि यस भिडियोको केही फुटेज प्रसारित गरे । कैयौँ पत्रपत्रिकाले पनि यस्तै गरे । बजफिडका पत्रकार रेयान म्याकले यस भिडियो सेयर गर्नेहरूको एउटा टाइमलाइन बनाउँदा जुन नतिजा अगाडि आयो, त्यो सबैलाई चकित पार्ने खालको थियो । कैयौँ भेरिफाइड ट्विटर एकाउन्ट, जसका फलोवर लगभग सात लाख थिए, तिनले पनि यो भिडियो सेयर गरेका थिए ।

सबै सामाजिक मिडिया कम्पनीले गोली प्रहारका पीडितका लागि संवेदना व्यक्त गरेका छन् । उनीहरूले यस लाइभ भिडियो हटाउने कार्यमा तीव्रता पनि देखाए । फेसबुकले ट्विट गरेर बताएको थियो, उसले आक्रमणकारीका फेसबुक र इन्स्टाग्राम एकाउन्टबाट यी सबै भिडियो हटाएको छ । साथै, उसले यस अपराध र हत्याराका प्रशंसा गर्ने भिडियो पनि हटाइरहेको बताएको छ ।

पछिल्लो समयमा दक्षिणपन्थी तथा चरमपन्थी सोचलाई बढावा दिने खालका सामग्री रोक्न सामाजिक सञ्जाल कम्पनीहरूले अनेकौँ उपाय अपनाएको देखिन्छ । २०१७ को डिसेम्बरमा ट्विटरले अति दक्षिणपन्थी र घृणा फैलाउने खालका कैयौँ एकाउन्ट ब्लक गरेको थियो । यस सिलसिलामा ट्विटरले रिचर्ड स्पेन्सरको एकाउन्ट पनि ब्लक गरिदियो । स्पेन्सर एक ‘अमेरिकी श्वेत राष्ट्रवादी’ हुन्, जसले ‘अल्टरनेटिभ राइट’ शब्दको सबैभन्दा पहिले प्रयोग गरेका थिए । फेसबुकले पनि २०१८ मा स्पेन्सरको एकाउन्ट ब्लक गरिदियो । फेसबुकले यस्तो गर्नुको पछि यो तर्क दिएको थियो कि उसका लागि स्पेन्सरको घृणा फैलाउने भाषण र राजनीतिक भाषणमा अन्तर भेट्टाउन कठिन भइरहेको थियो ।

(बिबिसी हिन्दीको समाचार टिप्पणी) बिबिसी हिन्दी डटकमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *