मोबाइलमा दुई सिमकार्ड एक साथमा प्रयोग गर्न सकिने गरी हाइब्रिड सिम स्लट राखिएको छ । माइक्रो एसडी कोर्ड प्रयोग गर्न चाहेमा भने एउटा मात्रै सिमकार्ड प्रयोग गर्नुपर्ने हुन्छ । सामान्य प्रयोगकर्ताका लागि ४ जिबी र्याम र ६४ जिबी रोम पर्याप्त हो । हुन त बढी मेमोरी क्षमता आवश्यक हुने ६ जिबी र्याम र १२८ जिबी रोम भएको अर्को फोनसमेत विकल्प हुन सक्छ ।
तर, मेमोरी कार्ड र दुवै सिमकार्ड सँगै प्रयोग गर्न चाहने प्रयोगकर्ताका लागि भने यसले केही निराशा उत्पन्न गर्न सक्छ । साओमीका जति पनि प्रयोगकर्ताहरू छन्, उनीहरूलाई थाहा भएको हुनुपर्छ, फोनमा छुट्टै विज्ञापनसमेत देखाइने गरेको छ । कुनै एप डाउनलोड गर्दा होस् वा ग्यालरीमै रहेको भिडियो हेर्दा होस्, विज्ञापनले झमेला उत्पन्न गर्न सक्छ ।
यसले ग्राहकलाई केही नरमाइलो लाग्न सक्छ । न्यून मूल्यमा उच्च गुणस्तरीय फोनका लागि उपभोक्ताले साओमीको सम्झौतालाई स्वीकार्नैपर्ने हुन्छ । साओमीले सस्तोमा फोन उपलब्ध गराउन विज्ञापनलाई प्रयोग गरेको हुन सक्छ । समग्रमा मूल्य र सुविधा तथा गुणस्तरको तुलनामा साओमीको रेड्मी नोट सेभेन प्रोको स्तरमा तत्काल अन्य कुनै कम्पनीले फोन उपलब्ध गराउन मुस्किल छ ।
डिस्प्ले
मोबाइलमा रहेको ६ दशमलव ३ इन्चको एफएचडी प्लस डिस्प्ले आकर्षक लाग्छ । सामसङ ग्यालेक्सी एम३० मा एफएचडी एमोलिड डिस्प्ले राखिएको छ भने रेड्मी नोड७ प्रोमा एलटिपिएस डिस्प्ले छ । ग्यालेक्सी एम ३० को तुलनामा बडी, रङ र डिजाइनमा रेड्मी नोट सेभेन प्रो नै राम्रो छ । डिस्प्लेको सिरानीमा राखिएको क्यामेराको डिजाइन दुवैमा करिब समान छ । तल्लो किनारामा रहेको बजल्स केही असहज लाग्न सक्छ । यद्यपि, समग्रमा रेड्मी नोट सेभेन प्रो मोबाइलको डिस्प्ले तपाईंलाई पनि मन पर्न सक्छ । मोबाइलको पछाडिपट्टि सिसा राखेर गरिएको एज कटिङ डिजाइन र बनावटको गुणस्तर पनि उत्कृष्ट छ । जसले हेर्दा प्रिमियम किसिमको मोबाइलको अनुभूति हुन सक्ने देखिन्छ ।
क्यामेरा
मोबाइलको पछाडिपट्टि आइएमएस ५८६ आइएमएस सेन्सररहितको ४८ मेगापिक्सेलको एआई क्यामेरा र ५ मेगापिक्सेलको डेप्थ गरी दुईवटा क्यामेरा राखिएको छ । कम मूल्यमा यति उच्च गुणस्तरीय क्यामेरा भएको स्मार्टफोन साओमीबाहेक अरूले बजारमाा ल्याउन सकेका छैनन् । आकर्षक सेल्फी, फोटो, बुके इफेक्ट तथा भिडियोका लागि मोबाइल गज्जब लाग्न सक्छ । रेड्मी नोट सेभेन प्रोमा अगाडिपट्टि १३ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । क्यामेरा अलिकति बाहिर निस्किएको छ । यसले क्यामेराको बाहिरपट्टिको सिसामा स्क्र्याच आउन सक्छ र मोबाइल हातबाट खसेको अवस्थामा सोझै क्यामेरामा चोट पुग्न सक्ने जोखिम पनि छ । क्यामेरालाई फोनको सतहकै समान राखिएको भए अझ सुन्दर र राम्रो हुन सक्थ्यो ।
प्रोसेसर
रेड्मी नोट सेभेन प्रो मोबाइलमा २ गिगाहर्ज स्न्याप ड्रागनको ६७५ प्रोसेसर राखिएको छ । जब कि सामसङमा १४ न्यानेमिटर १ दशमलव ८ गिगाहर्ज अक्टाकोर एक्साइनस ७९०४ रहेको छ । गेमिङको अनुभवका लागि रेड्मी नोट सेभेन प्रो नै उपयुक्त छ । साओमीले गत वर्ष बजारमा ल्याएको पोको एफवान मोबाइलमा ३४ हजार रुपैयाँ हाराहारीमा फ्ल्याग सिप तहकै मोबाइलसरह स्न्याप ड्रागन ८४५ प्रोसेसर राखिएको थियो । जसले बजारमै एक किसिमको हलचलसमेत ल्याएको थियो ।
ब्याट्री
मोबाइलमा ४ हजार एमएएच क्षमताको ब्याट्री राखिएको छ । फोन फुलचार्ज हुन अढाई घन्टाजति समय लाग्छ । टाइप सी पोर्ट राखिएको रेड्मी नोट सेभेन प्रोमा १८ वाट फास्ट चार्जिङको सुविधासमेत रहेको छ । यद्यपि, रेड्मी नोट सेभेन प्रोको फास्ट चार्जिङ छुट्टै खरिद गर्नुपर्ने हुन्छ । उपभोक्तालाई यसमा भने केही असहज लाग्न सक्छ ।
कति छ मूल्य ?
भारतमा रेड्मी नोट सेभेन प्रोको मूल्य १४ हजार रुपैयाँ राखिएको छ । नेपाली बजार आधिकारिक रूपमा नआइसकेको उक्त फोनको मूल्यसमेत तय हुन बाँकी छ । यद्यपि, गैरकानुनी ढंगबाट भित्रिएका रेड्मी नोट सेभेन प्रो स्मार्ट फोन बजारमा ३५ हजार रुपैयाँदेखि ४० हजार रुपैयाँमा बिक्री भइरहेको न्युरोडस्थित एक विक्रेताले जानकारी दिए ।
भारतमा ३३ हजार ६ सय रुपैयाँ मूल्य रहेको साओमीकै पोको एफ वान फोन इकमर्स साइट दराजले नेपालमा ३४ हजार रुपैयाँमै बिक्री गरेको थियो । यस आधारमा रेड्मी नोट सेभेन प्रो सोझै अनलाइन बिक्रीमा आएको खण्डमा २३ हजार रुपैयाँमै उपलब्ध हुन सक्छ । तर, विक्रेतामार्फत बजारमा आएको अवस्थामा भने २८ देखि २९ हजार रुपैयाँसम्म पर्न सक्ने अनुमान गरिएको छ ।
मोबाइलका विशेषता
– र्याम : ४ जिबी र ६ जिबी
-इन्टरनल मेमोरी : ६४ जिबी र १२८ जिबी
-अपरेटिङ सिस्टम : एन्ड्रोइड पाई
-एसी र टेलिभिजनलाई कन्ट्रोल गर्न सकिने आइआर प्रविधि
-डिस्प्ले : ६.३ इन्चको एफएचडी प्लस
-पछाडिको क्यामेरा : ५८६ आइएमएस सेन्सरभएको ४८ मेगापिक्सेल तथा ५ मेगापिक्सेलको डेप्थ गरी दुई क्यामेरा
-सेल्फी क्यामेरा : १३ मेगापिक्सेल
-प्रोसेसर : २ गिगाहर्ज क्षमताको स्न्याप ड्रागन ६७५
-ब्याट्री : ४ हजार एमएएच
कम्पनीको विश्वास : नितेशकुमार मुन्द्रा
निर्देशक, साओमी नेपाल
भर्खरै भारतमा सार्वजनिक भएको रेड्मी नोट सेभेन प्रो नेपालमा आइसकेको छैन । सामान्यतया साओमीका मोबाइल फोनहरू विश्व बजारमा लन्च भएको दुई–तीन महिनाजतिमा नेपालमा आइपुग्छन् । तर, त्यो कुरा माग र आपूर्तिमा पनि भर पर्छ । अहिले नै रेड्मी नोट सेभेन प्रो नेपालमा आउने र त्यसको मूल्य कति हुने भन्ने विषयमा आधिकारिक रूपमा केही भन्न सकिने अवस्था पनि छैन ।