सिके राउतको परिषद् बैठक सुरु : पत्रकार र सुरक्षाकर्मीलाई प्रवेशमा रोक

मुख्य समाचार

सिरहा : सरकारसँग सहमतिपछि सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको पहिलो दुई दिने राष्ट्रिय परिषद् बैठक आइतबारदेखि सुरु भएको छ। राउतले सरकारसँग गरेको ११ बुँदे सहमति र अगामी रणनीतिको बारेमा बैठकमा छलफल भइरहेको छ।

सिरहाको लहान ७ स्थित मारवाडी सेवा सदन जारी बैठकमा सहभागी सदस्यलाई नागरिकता अनिवार्य गरेको थियो। बैठकमा मोबाइल निषेध गरिएको छ। सञ्चारकर्मीलाई बैठक स्थलमा रोक लगाइएको छ।

परिषद् बैठकका लागि स्वतन्त्र मधेस गठबन्धनका संयोजक राउत बिहान ७ बजे जनकपुरबाट लहानस्थित मारवाडी सेवा सदनमा आएका थिए। उनको प्रवेशसँगै कार्यक्रमस्थल मारवाडी सेवा सदनको सुरक्षा कडा पारिएको छ।

मूल गेटबाटै राउतका आन्तरिक सुरक्षा दस्ताले कार्यक्रमस्थलको सुरक्षा दिइरहेका छन्। सशस्त्र र नेपाल प्रहरी मूल गेट बाहिर सडकमा उभिएर बाहिरी सुरक्षा दिइरहेका छन्।

मोबाइल निषेध, नागरिकता अनिवार्य

कार्यक्रमस्थल मारवाडी सेवा सदनभित्र प्रवेश गरेका नेपाल प्रहरीका दुई जनालाई राउतका कार्यकर्ताले बाहिर निकालिदिएको स्रोतले बताए।

सुरक्षाकर्मीलाई समेत राउतका कार्यकर्ताले चेकजाँच गरेका थिए। बैठकमा सहभागी हुन आएका गठबन्धनका कार्यकर्तालाई समेत मूल गेटमै कडा सुरक्षा जाँचपछि भित्र प्रवेश दिइएको छ।

नामवलीमा नाम रहेकासदस्यलाई गेटमै नागरिकताको प्रमाणपत्र, परिचयपत्र देखाएर प्रवेश दिइएको छ। समय समयमा राउतका कार्यकर्ताले कार्यक्रमस्थल बाहिर आएर हेरचाह गरिरहेको छ।

आकस्मिक बैठक भएकाले तराईका २२ जिल्लाका दुई सय परिषद् सदस्य सहभागी भएको परिषद् सदस्य सुदिपराज कुशवाहाले जानकारी दिए। सरकारसँग भएको सहमतिबारे बैठकमा सुझाव लिने र अगामी रणनीति बनाउने बनाउने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *