क्रिकेटमा रेखा थापा : बनिन् काठमाडौं सुपर च्याम्पियन्सको मालिक

मुख्य समाचार

काठमाडौं : अभिनेत्री रेखा थापा क्रिकेट टिमको मालिक बनेकी छन्। नेपालमा आयोजना हुने तय भएको पहिलो महिला टी-ट्वेन्टी फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको टोली, मालिक र मार्की प्लेयर सार्वजनिक समारोहमा रेखा टिमको मालिक भएको सार्वजनिक गरिएको हो।

आयोजक एन.सी.एल. स्पोट्स प्रालिले सोमबार पत्रकार सम्मेलनमार्फत् प्रतियोगिताका लागि टोली, मालिक र मार्की खेलाडी सार्वजनिक गरेको छ। यही प्रतियोगिताका लागि अभिनेत्री थापा काठमाडौं सुपर च्याम्पियन्सको मालिक बनेकी हुन्। आयोजकले जनाएअनुसार प्रतियोगितामा विराटनगर रोअरीङ लायोनेश, भैरहवा क्विन्स, धनगढी वन्डर वुमन र काठमाडौं सुपर च्याम्पियन्स गरी चार टोली सहभागी हुनेछन्।

काठमाडौंको स्वामित्व रेखाले लिएकी हुन् भने विराटनगर टोलीको स्वामित्व अनुप सक्सेना, भैरहवाको स्वामित्व अनिल भण्डारी र दीपक सुवेदी, धनगढीको हरी खनालले लिएका छन्।

आयोजकले प्रतियोगिताको मिति सारेको छ। चैतको एकदेखि ९ गत्तेसम्म आयोजना हुने भनिएको प्रतियोगिता सोही समयमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण आगामी वैशाखको ७ देखी १४ गतेसम्म हुने आयोजकले जनाएको छ।

प्रतियोगिता खेल्न आवेदन दिएका इच्छुक खेलाडीलाई उनीहरूको स्तरअनुसार ए, बी र सी गरी तीन क्याटेगोरीमा वर्गाीकरण गरिएको छ।

अक्सनमा सहभागी हुँदा यीमध्ये ए क्याटेगोरीका खेलाडीले न्यूनतम ४० देखि अधिकतम ७५ हजार, बी क्याटेगोरीका खेलाडीले न्यूनतम २५ देखि अधिकतम ५० हजार तथा सी क्याटेगोरीका खेलाडीले न्यूनतम १५ देखि अधिकतम २५ हजारसम्म पाउने छन्।

यस्तै आयोजकका अनुसार प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। जुन अहिलेसम्म नेपालमा आयोजना भएका महिला प्रतियोगितामध्येको सर्वाधिक पुरस्कार हो।

यस्तै दोस्रो हुने टोलीले पाँच लाख प्राप्त गर्नेछ भने प्रतियोगिताको प्रत्येक खेलमा उत्कृष्ट ठहरिने एक÷एक खेलाडीले १०/१० हजार प्राप्त गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *