किशोरीलाई स्कुलमै आत्मरक्षासम्बन्धी तालिम दिन थालियो

मुख्य समाचार

सुर्खेत : आफन्तबाटै बालिका असुरक्षित । आफ्नै प्रेमीबाटै किशोरी बलात्कृत । स्कुलसम्म पुग्न र घरमा फिर्ता हुँदा पनि त्रसित हुनुपर्ने बाध्यता । यस्ता घटना दोहोरिन थालेपछि सुर्खेतमा किशोरी र बालिकालाई आत्मरक्षासम्बन्धी तालिम दिन थालिएको छ । बालिका र किशोरीलाई यौनहिंसाको प्रतिकार गर्ने उपाय सिकाउन स्कुलमै आत्मरक्षा तालिम दिइएको हो ।

आत्मरक्षा तालिमको नेतृत्व गाउँकै अगुवा किशोरीले गरिरहेका छन् । अगुवा किशोरीले स्कुलमै पुगेर बालिका तथा किशोरीको समूह बनाएर उनीहरूलाई तालिम दिने गरेका छन् । तीनदिनसम्म दिइने तालिममा बालिका र किशोरीले यौनहिंसा भएमा वा कसैले बलात्कार प्रयास गरे प्रतिकार गर्ने उपाय सिक्ने गरेका छन् । वीरेन्द्रनगर, भेरीगंगा, लेकवेशी नगरपालिका र बराहताल गाउँपालिकाका केही विद्यालयमा अध्ययनरत बालिका र किशोरीले आत्मरक्षासम्बन्धी तालिम लिइसकेका छन् ।

गलत नियतले हात समाते, पछाडिबाट अंगालो हाल्न खोजे, कपाल समाते, बलात्कार वा यौनहिंसाको प्रयास गरे त्यसबाट जोगिनका लागि प्रतिकार गर्ने सातवटा उपाय तालिममा सिकाउने गरिएको छ ।

वीरेन्द्रनगरस्थित नेपाल राष्ट्रिय सामुदायिक माध्यमिक विद्यालयमा पनि यो तालिम सञ्चालन भएको छ । पहिलो चरणको तालिमअन्तर्गत ३० जना बालिका र किशोरी सहभागी भए । स्कुलमा अध्यनरत करैखोला निवासी छात्रा निश्चल कोइरालाले भनिन्, ‘हामीले यौनहिंसाबाट बच्ने उपाय सिकेका छौं । कसैले बलात्कार प्रयास गरे प्रतिकार गर्न सक्ने सीप जानेका छौं । यो सीप अरूलाई पनि सिकाउने छौं । पहिला भन्दा आत्मविश्वास र सुरक्षित महशुस भएको छ ।’

बलात्कारको प्रयास गर्ने व्यक्तिको आँखामा दबाब दिने, अनुहार चिथोर्ने, शरीरमा टोक्ने वा संवेदनशील अंगमा प्रहार गर्नेलगायतका उपाय आफूहरूले तालिममा सिकेको उनले बताइन् ।

अहिले जिल्लाका १२ वटा विद्यालयमा यस्तो तालिम सञ्चालन भइरहेको छ । भेरीगंगा नगरपालिकाको लालीगुराँस मावि रामघाटमा पनि बालिका र किशोरीलाई आत्मरक्षा तालिम दिइएको छ । तालिम लिएकी छात्रा रमा नेपालीले भनिन्, ‘बलात्कार तथा यौन हिंसाबाट जोगिने विधि सिकेका छांै । हिंसाको प्रयास भए प्रतिकारको पूर्वतयारी अपनाउँदा धेरै सहज हुने विश्वास छ।’

बालिकाको शिक्षामा काम गर्दै आइरहेको ग्लोबल एक्सन नेपालले गाउँका अगुवा किशोरी परिचालन गरी तालिम सञ्चालन गरेको हो ।संस्थाका सामाजिक परिचालक मीना विश्वकर्मा भन्छिन्, ‘यो तालिमपश्चात बालिकामा आत्मविश्वास बढेको छ, उनीहरूले सुरक्षित महशुस गरेका छन् । तालिमप्राप्त बालिका र किशोरीको दस्ता नै बनेको छ । उनीहरूले स्कुलमा अरूलाई पनि सिकाउन थालेका छन् ।’

बालिकामाथि हुने यौनहिंसा नियन्त्रण गर्न आत्मरक्षा तालिम फलदायी हुने उनको दाबी छ । बालिका र किशोरीलाई तालिमको सहजिकरण गर्दै आएकी अगुवा किशोरी गीता कोइरालाले भनिन्, ‘बालिकालाई यस्तो तालिम आवश्यक थियो । उनीहरूमाथि कुनै बेला पनि हिंसा हुने जोखिम छ । हामीले स्कुलमै पुगेर आत्मरक्षा गर्ने उपाय सिकाए पछि किशोरीहरू प्रतिकार गर्न सक्ने भएका छन् ।’

भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्यले स्कुलमा सञ्चालन भएको यो तालिमले बालिकाहरू सुरक्षित हुने बताइन् । बालिका र किशोरीहरू प्रतिकार गर्न सक्ने भएको र यसले उनीहरू सुरक्षित हुने उनको दाबी छ । करैखोला माविका शिक्षक डिलाराम भण्डारी भन्छन्, ‘यो तालिम जिल्लाभर सञ्चालन गर्नुपर्छ । बालिका र किशोरीलाई आत्मरक्षा तालिम अनिवार्य छ । उनीहरूले आफंै प्रतिकार गर्न सके यौनहिंसाबाट जोगिनेछन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *