प्रचण्ड पत्नी सीतासहित अमेरिकामा : दाहालका लागि ‘नो इन्भेष्टिगेशन’ सर्कुलर

मुख्य समाचार

अमेरिका : पत्नी सीता दाहालको उपचारका लागि अमेरिका आइपुगेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अब केही बेरमा अस्पताल पुग्दैछन्। उनको उपचार जोन हप्किन्स अस्पतालमा हुनेछ। सीताको स्वास्थ्य परीक्षण गरेपछि कति समय उपचार गर्ने विषय तय हुने दूतावास स्रोतले बतायो।

उपचारको सबै समन्वय डिसीस्थित नेपाली दूतावासले गरेको छ। दाहाल पत्नी सीता, छोरी र ज्वाइँसहित अमेरिका हिजो चार बजे आइपुगेका हुन्। पत्नी सीताको उपचार आरम्भ भएपछि उनी १० दिन अमेरिका बस्ने र त्यसपछि स्वदेश फर्कने कार्यक्रम छ।

पूर्वप्रधानमन्त्री दाहालविरुद्ध एक नेपालीले अमेरिकामा उजूरी गरेपछि अमेरिकी सरकारले ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी गरिसकेको छ। अमेरिकास्थित नेपाली दूतावास स्रोतका अनुसार दाहालका लागि अमेरिकाले विशेष रुपमा जारी गर्ने ‘नो इन्भेष्टिगेशन’ भन्ने आन्तरिक सर्कुलर गरेको हो।

मुलुकभित्र विवाद परेका र अमेरिका जाने अन्य यस्ता नेताका नाममा यस्तो सर्कुलर जारी हुने गर्छ। अमेरिका भ्रमणका क्रममा उत्पन्न हुनसक्ने कानुनी झमेला हटाउन यस्तो सर्कुलर गरिएकाे हाे ।

सर्कुलरपछि अमेरिकी सरकारका कुनै पनि निकायले कारबाही अगाडि बढाउन मिल्दैन। यस्तो सर्कुलर जारी हुने निश्चित भएपछि नै प्रचण्ड उपचारका लागि अमेरिका गएका थिए।

भ्रमण अघि बढाउन अमेरिकी राजदूत रेण्डी बेरीले दाहालकै निवासमा पुगेर भेट गरेर यस्तो सन्देश दिएका थिए। भेनेजुएला प्रकरणपछि दाहाल र अमेरिकाबीच सम्बन्ध चिसिएको थियो। अमेरिकी सरकारको पछिल्लो सर्कुलरले दाहाल र अमेरिका सम्बन्ध सुधार भएको संकेत गर्छ।

अमेरिकामा प्रचण्डको विरोध
प्रचण्ड अमेरिकामा उपचार गर्न आएको विषय सामाजिक सञ्जालमा चर्को विरोध भएको छ। सामाजिक सञ्जालमा अमेरिकामा रहेका सामाजिक हैसियत बनाएकादेखि माओवादीको विरोध गर्नेहरु दाहालविरुद्ध खनिएका छन्। अमेरिकी साम्राज्यवादको नाममा कार्यकर्ता प्रशिक्षण गर्ने दाहाल अन्तिममा उपचारका लागि अमेरिका नै आउनु परेको बिषय पनि उठाइरहेका छन्।

कतिपयले बिरामी पत्नी सीताको उपचारका लागि आएको भएपनि खर्चको विषय उठाएर विरोध गरिरहेका छन्। नेत्रविक्रम चन्द (विप्लव) समूहले आफूलाई मार्ने धम्कीदिएको भन्ने विषयलाई व्यंगात्मक शैलीमा दाहाललाई अमेरिकामा नै रहन सुझाव दिनेहरु पनि छन्।

नेपाली कांग्रेस निकट जनसम्पर्क समिति अमेरिकाका नेताले पत्नी सीताको उपचारबाहेक अन्य राजनीतिक भेटघाट गरेमा विरोध गर्ने र कानुनी बाटोसमेत अबलम्बन गर्ने धारणा सार्वजनिक गरेका छन्।

जनसम्पर्क समिति अमेरिका नेता प्रमोद सिटौला सामाजिक सञ्जाल फेसबकुमा लेख्छन्, ‘पत्नीको उपचारमा हामी पनि संवेदनशील छौं, तर त्योभन्दा माथि जाने प्रयास गरेमा कालो झण्डा देखाउनेदेखि अन्य विरोधका कार्यक्रम गर्ने छौं।’

स्थायी रुपमा अमेरिकामा बस्ने नेपालीको संख्या ठूलो छ । त्यसमध्ये तत्कालीन माओवादी पीडितका नाममा राजनीतिक शरण लिनेको ठूलो समूह छ। त्यसरी शरण लिने समूहले पनि त्यसमा चासो देखाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *