अन्तत: विप्लव खोज्दै गाउँ पस्यो नेपाली सेना !

मुख्य समाचार

कालिकोट : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताकार्यकर्ता खोज्न नेपाली सेना गाउँ पसेको छ। रणसुर गुल्मपतिका सेनानी अमृत थापामगरको नेतृत्वको टोली विप्लवको गतिविधिमा रोक लगाउन र कार्यकर्तालाई नियन्त्रणमा लिन गस्तीमा हिँडेको हो। गस्तीमा नेपाल प्रहरी र सशस्त्र बल पनि मिसिएको छ।

कालिकोट विप्लव नेतृत्वको नेकपाको पकड क्षेत्र मानिन्छ। नेकपाले विभिन्न गतिविधि बढाएपछि सुरक्षा निकाय संयुक्त रूपमा गाउँ केन्द्रित भएको हो।

गुल्मपति थापामगरले जिल्लाबाट मंगलबार गाउँ हिँडेको सुरक्षा निकायको टोली सान्नित्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका हुँदै नरहरिनाथ गाउँपालिका जाने तयारीमा रहेको बताए। उनले भने, ‘तीनवटै सुरक्षा निकायको गस्तीसहित कुमालगाउँमा बुधबार नरहरिनाथ गाउँपालिकाको केन्द्र कुमालगाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी छ।’

सरकारको निर्देशनमा जिल्लाका सुरक्षा निकाय गाउँ केन्द्रित भएपछि गाउँले त्रसित भएका छन्। २०५२ सालको सशस्त्र द्वन्द्वबाट निकै प्रभावित स्थानीय नागरिक फेरि द्वन्द्व निम्तिने त्रासमा छन्।

विप्लव नेकपाका गतिविधिमा रोक लगाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली जिल्ला सदरमुकामबाट माल्कोटतिर जाँदै। तस्बिर : बिस्नप्रसाद न्यौपाने

विप्लव र प्रकाण्ड आएको आशंका
जिल्लाका सुरक्षा निकायले नेकपाका महासचिव विप्लव र पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा कालिकोट आएको आशंकामा गस्ती अभियान तीव्र बनाएको हो। नेकपाका उच्च तहका नेताहरू कालिकोट आएको भन्ने सूचना प्राप्त भएकाले घेराउ गरी पक्राउ गर्न गाउँ केन्द्रित गस्ती सुरु गरिएको जिल्ला प्रहरी प्रमुख विनोद शर्माले बताए। उनले भने, ‘एसईई दिने विद्यार्थीलाई रातो टिसर्ट लगाएर माल्कोटको जंगलमा लाठी बोकाएर कुुदाइरहेका छन् भन्ने खबर पाएका छौं। तिनीहरुलाई घर फर्काउन व्यापक रुपमा प्रहरी परिचालन गरेका छौं।’

कालिकोटमा नेकपाका नेताहरुले गाउँगाउँबाट एसईई दिने विद्यार्थीलाई पार्टीको अभियान भन्दै लिने गरेका छन्। डिएसपी शर्माले थपे, ‘हामी हरेक गाउँमा गएर अभिभावकलाई पनि सम्झाउँछौं। पलाँतामा विप्लवको कार्यक्रम छ भन्ने खबर छ। कुनै पनि स्थानीय तहमा विप्लवलाई कार्यक्रम गर्न दिँदैनौं।’

कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जिल्ला निकै शान्त रहेको बताए। उनले भने, ‘नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती गाउँतिर गएको छ। नेकपाका नेताबारे सूचना संकलन गर्ने कार्य भइरहेको छ।’

नेकपा निकट युवा संगठन नेपालका कर्णाली ब्युरो इन्चार्ज शीतल विष्टले सरकारका गतिविधिको सशक्त प्रतिकार गर्न तयार रहेको बताएका छन्। उनले भने, ‘हामीसँग कोटवाडाबाटै जिल्ला सदरमुकाम हान्ने ताकत छ। भ्रष्ट जनप्रतिनिधि र प्रहरीलाई गाउँ छिर्न दिदैनौं।’ मुलुकभर निर्दोष कार्यकर्तालाई पक्राउ गर्ने, धरपकड गर्ने कार्य सरकारले गरिरहेकाले दमन गर्ने कार्यमा रोक नलगाए बमगोला पड्काउने तयार रहेको चेतावनी उनले दिए।

Leave a Reply

Your email address will not be published.