लण्डन : १३ हजार ७ सय करोड भारतीय रुपयाँको पन्जाब नेश्नल बैंक (पिएनबी) घोटालाका आरोपी निरब मोदी बुधबार लण्डनमा पक्राउ परेका छन् ।
उनीलाई लण्डनस्थित अदालतमा दाखिला गर्ने भएको छ । मोदीविरुद्ध लण्डनस्थित वेस्टमिस्टर कोर्टले गिरफ्तारीको वारेन्ट जारी गरेको थियो । टेलिग्राफले जनाए अनुसार भारतमा घोटालाको मुद्दा परेपछि उनले लण्डनबाटै आफ्नो हिराको नियमित व्यवसाय गरिसकेका थिए । उनी अन्तर्राष्ट्रिय रुपमै प्रभावशाली मानिने भारतीय हिरा व्यवसायीको रुपमा चिनिँदैआएका थिए ।
टेलिग्राफका अनुसार निरब लण्डनस्थित पश्चिमी इलाकामा ७२ करोड रुपैयाँको अपार्टमेन्टमा रहँदैआएका थिए । निरब मेहुल चोकसीको साथमा मिलेर १३ हजार ७ सय करोड रुपैयाँको घोटाला गरेको अभियोग गत फेब्रुअरीमै लागेको थियो । उक्त मुद्दापछि उनीमाथि छानविन भइरहेको थियो । अभियोगपछि निरब देश छोडेर बेलायत पुगेका थिए ।
मुम्बइ विशेष अदालतमा भने निरबकी पत्नी एमीविरुद्ध पनि गैरजमानती वारेन्ट जारी गरिएको छ ।