साफ च्याम्पियनसिप फाइनलमा नेपाल र भारतको भिडन्त

मुख्य समाचार

विराटनगर : साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल र भारत भिड्ने भएका छन्।

पहिलो सेमिफाइनलमा नेपाल श्रीलंकालाई ४–० ले पराजित गर्दै फाइनल पुगेको हो। दोस्रो सेमिफाइनलमा बंगलादेशलाई ४–० ले पराजित गर्दै भारतले फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो।

पहिलो सेमिफाइनलमा नेपालको जितका लागि पहिलो हाफमा एक गोल र दोश्रो हाफमा तीन गोल भयो। नेपालको लागि पुनम जर्गा मगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले समान एक एक गोल गरे।

पहिलो गोल नेपालका लागि ४२ औं मिनेटमा पुनम जर्गा मगरले गरिन्। खेलको ७३ औं मिनेटमा अनिता बस्नेतले दोश्रो गोल गरिन्।

त्यसैगरी खेलको ८२ औं मिनेटमा अनिता बस्नेतकै पासमा सावित्रा भण्डारीको हेडर बलले श्रीलंकाको जाली चुमेपछि नेपालले ३–० ले अग्रता लियो।

श्रींलकाको कमजोर रक्षापंक्तिको फाइदा उठाउने क्रममा नेपालले खेल सकिन चार मिनेट बाँकी हुँदा चौथो गोल गर्यो। रेखा पौडेलले नेपालका लागि चौथो गोल गरेकी थिइन्

पौडेल खेलको ६४ औं मिनेटमा कप्तान निरु थापाको स्थानमा मैदान प्रवेश गरेकी थिइन्। आफ्नो तेश्रो अन्तर्राष्ट्रिय खेल खेल्ने क्रममा पौडेल पहिलो गोल गर्न सफल भइन्।

नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले नेपालको लक्ष्य उपाधि रहेको बताए। नेपालले भारतसँग शुक्रबार फाइनल खेल्ने छ । खेल विराटनगरको सहिद रंगशालामा २ः ४५ मा सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल र भारत दुवै टिमले कुनै गोल खाएका छैनन् । भारत चारपटकको विजेता हो । नेपालले भने तीन पटक फाइनल यात्रा तय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *