सहयोग गर्न खोज्दा सार्वजनिक सवारीमै ‘बन्धक’ !

मुख्य समाचार

सिराहका महेन्द्र यादव नयाँ बानेश्वर चोकबाट गौशला जान मध्यउपत्यकाको बसमा चढे। चालक पछाडिको महिला सिट खाली थियो। उनी त्यही बसे। बस्ने बित्तिकै उनलाई आपत आइलाग्यो। नयाँ पाइन्ट प्वाल परेछ। उनले पाइन्टको च्यातिको भाग छोए। म दर्शक बनेर उनको पीडा हेरिरहेको थिएँ।

ठूलै समस्यामा पनि केही बोल्न सकेका थिएनन्। यो कुरा त चालकलाई भन्नै पर्छ, मैले सोचेँ। चालकको छेउमा पुगेर भने, ‘दाइ, हेर्नुहोस् सिटमा बस्नासाथ उहाँको पाइन्ट च्यातियो।’
चालकले मेरो गुनासो सुनुवाइ गरेनन्। उल्टै ममाथि प्रश्न गरे। ‘तपाईको च्यातिएको हो ?’ मैले विनम्र भएर भने, ‘आज त्यो सिटमा बस्ने साथीको पाइन्ट च्यातियो। भोलि अर्को यात्रुको च्यातिन सक्छ। सेवा दिने भएपछि सुविधा पनि हुनु पर्यो नि।’

चालक फेरि कड्किए। ‘हेरेर बस्नु पथ्र्यो। अब नयाँ किनिदिने हो ?’, उल्टै उनले ठूलो स्वरमा प्रश्न गरे। बस भरिभराउ थियो। पाइन्ट च्यातिएका व्यक्ति अनुमानित ५० वर्षका जस्तै देखिन्थे।

चालक छेउको क्यबिनमा दुई महिला पनि थिए। ‘महिला सिटमा बस्ने अनि पाइन्ट च्यातियो भन्ने’, एक महिला बोलिन्, ‘सिट हेरेर बस्नु प¥र्यो नि।’ पाइन्ट च्यातिएको पीडा छदै थियो। उनले महिलाबाट थप गाली खाए। चालक त पहिलादेखि नै तातिरहेकै थिए।

आम सर्वसाधारण सहज यात्राका लागि सार्वजनिक यातायातको प्रयोग गर्छन्। तर, खराब व्यवस्थापनका कारण सार्वजनिक यातायात असुरक्षित बन्दै गएको यो सानो उदाहरण हो।

मैले फेरि चालकसँगै कुरा अगाडि बढाएँ। ‘दाइ हजुरले सिटको डण्डीमा कभर राख्नु भएको भए पाइन्ट च्यातिने थिएन’, मैले थपे। उनी मसँग सहजै कुरा गर्ने मुडमा थिएनन्।

‘त्यो डण्डीमा फर्म थियो। बाँदर जस्ता यात्रुले च्यातेका हुन्’, चालकले थपे, ‘त्यहाँ कभर हल्न मिल्दैन।’

चालकले यात्रुलाई बाँदरकै उपमा दिए। मनमनै मलाई थप रिस उठ्यो। तर बलेको आगोमा घिउँ थप्न मन लागेन। सोचे, त्यो सिट चालक वा सहचालकले नभइ यात्रुले नै च्यातेको हुन्। तर एउटा यात्रुले गल्ती गर्दा सबै यात्रुलाई दोषी देख्नु चालकको नजरकै दोष थियो।

आम सर्वसाधारणको सुविधाका लागि गुड्ने सवारी धनी गाडीको मर्मतमा भन्दा आम्दानीमा मात्र ध्यान दिन्छन्।

चालकलाई जानकारी गराउँदा उनीबाट सम्बोधन नहुने देखेपछि ट्राफिक प्रहरीलाई गुनासो गर्ने निर्णय गरेँ। ट्राफिकको हटलाईन १०३ मा फोन गरेर गुनासो टिपाएँ।

गाडी चड्नु अघि नम्बर प्लेट नहेरकाले चालकलाई नम्बर सोधेँ। तर, उनले नम्बर भन्न चाहेनन्। ‘के गर्न सक्नु हुन्छ। बस नम्बर बा ३ ख ६२३३ हो’, सहचालकले जंगिदै भने, ‘मलाई हेर्दै तपाईं किन हिरो बन्न खोज्नु हुन्छ। तपाईको च्यातिएको हैन चुप लागेर बस्न सक्नुहुन्न ?’

म त्यहाँ हिरो बन्न खोजेको थिइन्। मैले यात्रुको पीडा सम्बन्धित व्यक्तिसँग शेयर मात्र गरेको थिएँ। मेरो एउटै मात्र लक्ष्य थियो, यो समस्या अर्को यात्रुले भोग्नु नपरोस्। तर, चालक र सहचालकले मलाई यात्रुको नभएर शत्रुको जस्तै व्यवहार गरे। यो सब घटना हुँदासम्म बबरमहलबाट बस तीनकुने आइपुगेको थियो।

भाडा १५ रुपैयाँ दिएँ। पैसा लिएर सहचालकले भने, ‘तपाईं ट्राफिक प्रहरी नआउनजेल गाडीबाट ओर्लिन पाउँनु हुन्न।’ एक व्यक्तिलाई सहयोग गर्न खोज्दा उनले मलाई गाडीमै बन्धक बनाउन खोजे। पुनःट्राफिक प्रहरीलाई फोन गरेँ। विषयको जानकारी गराएँ। प्रहरीले चालक र सहचालको जस्तै प्रश्न गरे, ‘तपाईंको च्यातिएको हो ?’
‘हैन’ भनेपछि उनले पाइन्ट च्यातिएकै व्यक्तिसँग कुरा गर्न चाहे। तर, पीडित व्यक्ति ट्राफिकसँग बोल्न चाहेनन्। मैले अनुमान गरेँ, ट्राफिकसँग कुरा गरेर पनि न्याय पाउने विश्वास उनलाई भएन।

सार्वजनिक यातायातमा यात्रा गर्ने जो कोही यात्रुले यो समस्या दैनिक भोगिरहेकै हुन्छन्। कोही बोल्छन्। धेरै सहेरै बस्छन्। सहचालकको हप्कीदप्की र असुरक्षित सिटमा बसेर यात्रा गर्नु आम सर्वसाधारणको बाध्यता नै हो।

चालकको निर्देशनपछि मलाई सहचालकले दुई मिनेटपछि गाडिबाट ओर्लिने अनुमति दिए। बसबाट झर्दै गर्दा फेरि भेट्नुपर्छ भन्दै उनले परिचयपत्र दिए र मेरो पनि मागे। भिजिटिङ कार्ड दिँदै अन्नपूर्ण पोस्ट्मा भेटौंला भनेर हिडेँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *