काठमाडौँ : निजी क्षेत्रको मोबाइल प्रदायक कम्पनी एनसेलको नख्खुस्थित मुख्य कार्यालयमा कुकर बम विस्फोट गरेलगत्तै देशका दर्जन बढी जिल्लामा आक्रमण भएको छ ।
यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आक्रमण गरेकै शैलीमा दर्जन भन्दा बढी जिल्लामा रहेकाा एनसेलका टावरमा आगजनी र बम आक्रमण भएको हो । यस पटकको आक्रमणमा पनि विप्लव नेतृत्वको नेकपाकै हात रहेको आशंका गरिए पनि उसले अहिलेसम्म घटनाको जिम्मेवारी लिएको छैन ।भैरहवास्थित अन्नपूर्णकर्मी सलमान खानका अनुसार रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ३ सूर्यपुरास्थित एनसेलको टावरमा आगजनी गरिएको छ । यो घटनाको पुष्टि रुपन्देहीका एसपी हृदय थापाले गरेका छन् ।
अपरिचित व्यक्तिले बोरामा आगो सल्काएर टावरमा आगजनी गरेको उनले बताए । आगजनीले टावरका तार जलेर नष्ट भएका छन् । घटनास्थलमा प्रहरी तत्काल पुग्दा मानवीय र अन्य ठूलो क्षति हुन नपाएको थापाले बताए ।
रौतहटमा पनि
प्राप्त समाचार अनुसार रौतहटको चन्द्रपुर नगरपालिकास्थित गैडाटारमा रहेको एनसेलको टावरमा पनि आगजनी गरिएको छ । त्यहाँ भएको आगजानीपछिका क्षतिको विवरण प्राप्त भइसकेको छैन ।
पोखरामा आगजनी
शुक्रबार राति करिब १० बजे पोखरा महानगरपालिका–२७ चन्द्रकालिका डाँडाँको नाकस्थित एनसेलको टावरमा आगजनी भएको छ ।
प्रहरी कार्याल सिस्वाका अनुसार डाडाँमा रहेकाले दम्कमल आउँदा आउँदै टावर जलेर नष्ट भएको हो । एनसेलको टावर जलेपछि लेखनाथ क्षेत्रमा विद्युत र इन्टरनेटको लाइन काटिएको थियो ।
काभ्रेमा पनि
काठमाडौँ नजिकैको काभ्रेमा पनि एनसेलको टावरमा आगजनी गरिएको छ । काभ्रेको कोसीपारीस्थित भुम्लु गाउँपालिकास्थित सल्ले भुम्लु डाँडामा रहेको एनसेलको बिटिएस टावरमा आगजनी भएको हो । तर क्षतिको विस्तृत विवरण आइसकेको छैन ।
बागलुङमा पनि क्षति
शुक्रबार राति नै बागलुङका विभिन्न स्थानमा रहेकाा एनसेलका टावरमा आगगजनी भएको छ । बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आक्रमण भएको हो । टावरमा आगलागी भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
मध्यविन्दुमा पनि आक्रमण
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर ७ अम्रसामा एनसेलको टावरमा आगजनी गरिएको छ । शुक्रबार राति नौ बजेतिर एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ ।
नवलपुर प्रहरीका अनुसार आगजनीबाट एनसेलको टावरमा क्षति पुगेको छ । स्थानीयका अनुसार सुरुमा विस्फोट गराएर आगो लगाइएको हो । आगजनीपछि नवलपुर क्षेत्रमा एनसेलको नेट्वर्कले काम गर्न छाडेको छ ।
कन्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ मा रहेको टावरमा पनि विस्फफाेेट र आगजनी गरि क्षति गरिएको छ
नख्खुको बम विस्फोटमा घाइते एक जनाको मृत्यु
शुक्रबार राति ललितपुरको नख्खुमा भएको बम विस्फोटमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । नख्खुस्थित एनसेलको टावरमा गराइएको बम विस्फोटमा परी घाइते भएका सिंहप्रसाद गुरुङको मेडीसीटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका जेनेरल मेनेजर विजय रिमालले जानकारी दिएका छन् ।
रिमालकाअनुसार गुरुङको राति साढे १ बजेतिर मृत्यु भएको हो । घाइते गुरुङको दुवै खुट्टा चुँडिएको, कम्मरका हड्डीहरु भाँचिएका र रगत बग्ने ठूला नशाहरु काटिएको पाइएको मेनेजर विजय रिमालले बताए । अत्याधिक रक्तश्राबका कारण उनलाई बचाउन नसकिएको उनले स्पष्ट पारे ।
घाइते गुरुङलाई सुरुमा अल्का अस्पताल लगिएको, त्यसपछि बीएन्ढ बी हुँदै अन्तिममा मेडिसिटी अस्पताल लगिएको थियो । लमलुङ स्थायी घर भएका ४९ वर्षीय गुरुङ हाल ललितपुरको भैंसेपाटी बस्दै आएका थिए ।
बम विस्फोट कसले गराएको भन्नेबारे खुलेको छैन ।