कोरियन भाषा परीक्षाको आवेदन भर्न लाइनमा बस्न नपर्ने, बिहान ८ बजेसम्ममा १५ हजारभन्दा धेरैले भरे आवेदन

मुख्य समाचार

काठमाण्डौ – यो वर्ष कोरियन भाषा परीक्षाको आवेदन फारम अनलाइनमार्फत भर्न सकिने भएकाले लाइनमा बस्नु नपर्ने भएको छ । ग्लोबल आईएमई बैंकको अनलाइन तथा आईएमई–पे र ई–सेवामार्फत रकम भुक्तानी गर्न सकिने भएकाले लाइनमा नबस्न ईपीएस शाखाले अनुरोध गरेको छ । शाखाका अनुसार लाइनमा बिहान ८ बजेसम्म अनलाइनमार्फत १५ हजारभन्दा धेरैले आवेदन भरिसकेका छन् ।

ईपीएस शाखाका प्रमुख कृष्णप्रसाद खनालले आवेदन भर्नको लागि रातिदेखि लाइनमा नबस्न र नहतारिन आग्रह गर्नुभयो । ‘घरमै बसीबसी अनलाइनमार्फत रकम भुक्तानी गर्न र आवेदन भर्न सकिन्छ, त्यसैले लाइनमा बस्न जरुरी छैन’ उहाँले उज्यालोसँग भन्नुभयो, ‘अघिल्ला वर्षहरुको तुलनामा व्यवस्थित गरेका छौं ।’ तर ग्लोबल आईएमई बैंकको कीर्तिपुरलगायत शाखामा भने रातीदेखि नै युवाहरु लाइनमा बसेका छन् ।

‘लाइनमा बसेर भर्दा पनि हुन्छ, तर रातीदेखि नै गएर उभिनु पर्दैन, आरामले भर्न सकिन्छ’ खनालले भन्नुभयो ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान चाहने कामदार छनोट गर्न कोरियन भाषा परीक्षाको आवेदन फारम आजदेखि खुलेको हो । ग्लोबल बैंकमा रहेको एकाउण्टमा पैसा जम्मा गरेपछि दिइने नम्बरका आधारमा www.eoers.epsnepal.gov.np मा लगइन गरेर अनलाइनबाटै फारम भर्न सकिन्छ ।

यसरी भर्न सकिन्छ कोरियाली भाषा परीक्षाको आवेदन (भिडियोसहित)

काठमाण्डौ – रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन आजदेखि खुलेको छ । भाषा परीक्षाका लागि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ ।

१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् । त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गई गैरकानूनी रुपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अरु देशमा जान रोक नलगाएका र कोरियामा ई–९÷ई–१० भिषामा दुई कार्यकाल वा पाँच वर्षभन्दा बढी नबसेका व्यक्तिले आवेदन गर्न सक्ने ईपीएस कोरिया शाखाले जनाएको छ ।

परीक्षा आवेदन फारम ईपीएस कोरिया शाखाको वेबसाइट www.eoers.epsnepal.gov.np बाट भर्न सकिनेछ । आवेदन फाराम दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने ईपीएस शाखाले जनाएको छ ।

पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन् । आवेदकले फाराम भर्दा राहदानीमा फोटो भइएको रङ्गीन पृष्ठ स्क्यान गरी अपलोड गर्नुपर्नेछ । त्यसैगरी अनिवार्य रुपमा आफ्नो इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ ।

परीक्षा शुल्क २४ अमेरिकी डलर लाग्नेछ । आवेदकले जुन दिनमा फाराम दर्ता गराउने हो सो दिनको अघिल्लो दिनका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाँ ग्लोबल आइएमई बैंकको (कमलादी कर्पोरेट शाखाबाहेक) जुनसुकै शाखा र आइएमई–पे तथा ई–सेवामार्फत बुझाउन सकिने ईपीएस शाखाले जनाएको छ ।

कोरियाली भाषा परीक्षा आउँदो जेठ २५ र २६ गते काठमाण्डौ र पोखरा केन्द्रबाट सञ्चालन हुनेछ । अनलाइनबाटै फारम भर्न सकिने भए पनि आवदेन भर्नका लागि रातिदेखि नै काठमाण्डौका विभिन्न ठाउँमा आवदेकको भिड लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *