कोरिया भाषा परीक्षा आवेदन : ‘थाहा नभएर लाइन लागेका हौं’

मुख्य समाचार

काठमाडौं : दाङ हापुरेका रामकुमार खत्री रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षाका लागि अनामनगरस्थित ग्लोबल आइएमई बैंकमा फारम भर्न बिहानै ७ बजे पुगे।सरकारले ईपीएसका लागि अनलानइनमार्फत परीक्षा शुल्क बुझाउन सकिने व्यवस्था गरेपनि अधिकांश युवा बैंकमा लाइन लागेका छन्।बैंक १० बजे खुल्ने भएपनि युवाहरु बिहानैदेखि लाइनमा लागेका छन्।

खत्रीले बैंकको अनामनगर शाखामा आउनेहरुको सूची दर्ता तयार गरेका छन्। साढे नौ बजेसम्म ५० जनाको हाराहारीमा परीक्षा शुल्क बुझाउन आएको जानकारी दिए।’भौचर भरेर सूची तयार गरेका छौं,’ उनले भने, ‘यसो गर्दा पैसा बुझाउन सजिलो हुन्छ।’

खोटाङकी सुस्मिता राई अनलाइनबाट परीक्षा शुल्क बुझाउन सकिने व्यवस्था थाहा नभएर बैंक धाउनुपरेको बताइन्। बैंकको भौचर भर्न हतारमा देखिएकी राई अनामनगर बिहान आठ बजे आइपुगेकी थिइन्।अब लाइन लागेरै पैसा बुझाउँछु,’ उनले भनिन्। उनले गतसाल पनि ईपीएस परीक्षा दिएकी थिइन्। यसपाली तयारी राम्रो भएकाले उत्तिर्ण हुन सक्नेमा उनी ढुक्क देखिन्छन्।

तर दाङका खत्रीले भने पहिलोचोटी कोरिया रोजगारीका फारम भर्न लागेका हुन्। स्नातक अध्ययन गर्दै गरेका खत्री करिब पाँच महिना कोरियन भाषा पढेका छन्।अझै ८० दिन भाषा पढ्न समय भएकाले उत्तिर्ण गर्न सक्नेमा उनी ढुक्क छन्।

खत्री पहिलोचोटी फारम भर्न लागेको भएपनि अनामनगरमा भेटिएका अधिकांश युवाहरु पहिला नै परीक्षा दिइसकेका भेटिए। अर्घाखाँचीका संगीत बन्जाडे यसपाली नाम निकाल्न सक्नेमा ढुक्क देखिन्छन्। ‘गत वर्ष तयारी पुगेन, उनले भने, ‘यसपाली त कसो नस्किएला र।’राम्रो कमाई हुने आशामा उनले कोरिया जान फारम भर्न लागेको जानकारी दिए।

अनामनगरमा भेटिएका यी युवाहरु नमूना पात्र मात्रै हुन्। शुक्रबारदेखि ईपीएसको फारम खुलेसँगै रातिदेखि नै युवाहरु लाइनमा लागेका छन्। कीर्तिपुरको ग्लोबल शाखामा बिहीबारदेखि नै युवाहरुको लाइन लागेको छ।

ईपीएस कोरिया शाखा निर्देशक कृष्ण खनालले परीक्षा शुल्क बुझाउनका लागि लाइन लाग्नुपर्ने अवस्था नरहेको बताउँछन्। अनलाइन, मोबाइल एप्लीकेसन, इ-सेवाबाट परीक्षा शुल्क बुझाउन सकिन्छ। बैंकका शाखाबाट पनि फारम भर्न सकिने भएकाले धेरैजसो युवाहरु लाइन लागेका हुन्।

ईपीएस कोरिया शाखा प्रमुख खनालका अनुसार लाइन लाग्नु झन्झट गर्न आवश्यक नभएको बताए। ‘घरमै बसीबसी पनि परीक्षा दस्तुर बुझाउन सकिन्छ, किन लाग्न लागेर सास्ती खेप्नु,’ उनी भन्छन्।

रोजगारका लागि युवाले अनलाइनबाटै भर्न सक्छन्। परीक्षा शुल्क यस वर्षदेखि अनलाइनबाट बुझाउन सकिने व्यवस्था गरिएको ईपीएस कोरिया शाखाले जानकारी दिएको छ।

उनका अनुसार साढे १० बजेसम्म २५ हजार युवाले फारम भरिसकेका छन्। कोरियन भाषा परीक्षाको आवेदन चैत्र १७ गतेसम्म दिन पाइन्छ।पोखरा र काठमाडौंमध्ये परीक्षार्थीले आफूले चाहेको केन्द्र रोज्न पाउने छन्।

सन् २०१९ को ईपीएस परीक्षा आगामी जेठ २५ र २६ मा हुँदैछ। कोरियाले १६ देशबाट वार्षिक ५० हजारदेखि ५५ हजार कामदार लाने गरेको छ।कोरियाले नेपाली कामदारको कोटा दुई हजारले बढाएको छ। यो वर्ष १० हजार ५० कामदार लाने तयारी गरेको छ।

उत्पादनमूलक क्षेत्रमा सात हजार ५० र कृषि तथा पशुपालनतर्फ ३ हजार कामदार लाने वैदेशिक रोजगार ईपीएस शाखा कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *