योगप्रेमी बलिउड अभिनेत्री

मुख्य समाचार

मलाइका अरोडा
बलिउडमा ‘आइटम डान्सर’का रूपमा प्रख्यात छिन्, मलाइका अरोडा। ४५ वर्षीया यी अभिनेत्री एकदमै ‘फिटनेस कन्सस’ छिन्। बलिउडमा उनलाई ‘फिटनेस फ्रिक’ पनि भन्ने गरिन्छ। उनले आफूलाई फिट राख्न योग गर्छिन्। १५ वर्षीय छोराकी आमा मलाइका दिनहुँ योग गर्छिन्।

घण्टौँ योगमा बिताउँछिन्। आफ्नो पर्फेक्ट फिगरको श्रेय उनी योगलाई दिन्छिन्। २१ जुन अर्थात् योग दिवसका अवसरमा उनले आफ्नो इन्स्टाग्राममा आफूले योग गरिरहेका तस्बिर सेयर गर्ने गरेकी छिन्।

करिना कपुर
अभिनेत्री करिना कपुर योग गरेर आफूलाई फिट राखेको बताउने गर्छिन्। उनले लामो समयदेखि योग गरिरहेकी छिन्। ‘योग शरीर, दिमाग र स्वास्थ्यका लागि उत्तम छ,’ एक अन्तरवार्तामा उनले भनेकी थिइन्, ‘म हरेक दिन एक वा दुई घण्टा योग गर्छु।’ करिना आफू मात्रै योग गर्दिनन्, उनले श्रीमान् सैफ अली खानलाई पनि योग सिकाएकी छिन्।

‘मैले सैफलाई पनि योग सिकाइसकेँ,’ अन्तरवार्तामा उनले भनिन्, ‘हामी हरेक बिहान सँगै डेढ वा दुई घण्टा योग गर्छौं। यसलाई पार्टनर योग भनिन्छ।’ करिना शाकाहारी हुन्। योगबिना आफूलाई अधुरो महसुस गर्ने उनले बताएकी थिइन्। ‘बिहान योग गरिनँ भने मेरो पूरा दिन नै खराब हुन्छ,’ उनले भनेकी थिइन्, ‘योगबिना म आफूलाई अधुरो महसुस गर्छु।’

शिल्पा सेट्टी
बलिउडका फिटनेस कन्सस अभिनेत्रीमध्ये एक हुन्, शिल्पा सेट्टी। उनी आफ्नो फिटनेसको श्रेय योगलाई नै दिन्छिन्। ‘योग गरेर मैले आफ्नो वजन घटाएँ,’ एक अन्तरवार्तामा उनले भनेकी थिइन्। छ वर्षीय छोराकी आमा शिल्पा स्लिम र फिट छिन्। ‘साताको कम्तीमा पाँच दिन नछुटाई योग गर्छु,’ उनले भनेकी थिइन्। उनले ‘शिल्पा सेट्टी योग भिडियो’ नामले योगको डीभीडी पनि निकालेकी छिन्।

कंगना रनौट
बलिउडकी ‘क्विन’ कंगना रनौट पनि योग गर्छिन्। योगका कारण आफू जीवित रहेको उनले एक अन्तरवार्तामा बताएकी थिइन्। ‘म योगका कारण जीवित छु,’ उनले भनेकी थिइन्, ‘योगमा ध्यान, प्राणायाम र विभिन्न मुद्रा गर्ने गर्छु।’ योगले आफूलाई भित्रैदेखि बलियो बनाएको उनले बताइन्। ‘योगले गर्दा ममा धेरै सकारात्मक परिवर्तन आएका छन्,’ उनले भनेकी थिइन्। उनी दिनहुँ ४५ मिनेट योग गर्छिन्। दिमाग शान्त राख्न १० मिनेट ध्यान गर्छिन्।

लारा दत्ता

अभिनेत्री लारा दत्ताले योग गर्न थालेको १५ वर्षभन्दा बढी भइसक्यो। एक अन्तरवार्तामा उनले योगका डीभीडी देखेर आफैँ योग गर्न सुरु गरेको बताएकी थिइन्। योगका तिनै डीभीडीलाई उनी आफ्नो योग गुरु मान्छिन्। ‘मिस युनिभर्सको तयारी गरिरहँदा मैले योग गर्न सुरु गरेकी हुँ,’ उनले भनेकी थिइन्। सन् २००० मा उनले ‘मिस युनिभर्स’ को उपाधि जितेकी थिइन्। गर्भावस्थामा पनि लाराले योग गर्न छोडिनन्। बरु, गर्भवती महिलाका लागि योगको डीभीडी निकालिन्।

ज्याकलिन फर्नान्डिज
बलिउड अभिनेत्री तथा श्रीलंकन नागरिक ज्याकलिन फर्नान्डिज पनि योगप्रेमी हुन्। उनी हप्ताको पाँच दिन योग गर्छिन्। हरेक बिहान एक घण्टा उनी योगमा बिताउँछिन्। ‘योगले मेरो जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ,’ उनले एक अन्तरवार्तामा भनेकी थिइन्, ‘जीवनलाई हेर्ने मेरो दृष्टिकोण योग गर्न थालेदेखि सकारात्मक भएको छ।’

योगले शरीरसँगै मनलाई पनि अनुशासित बनाउने उनले बताएकी थिइन्। बेलामौकामा उनले सामाजिक सञ्जालमा आफूले योग गरिरहेका तस्बिर पोस्ट गर्ने गरेकी छिन्। केही समयअघि उनले ट्वीटरमा पोलमा योग गरिरहेको तस्बिर सेयर गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *