धमाधम पार्टी छाड्दै विप्लव कार्यकर्ता

मुख्य समाचार

गोरखा : गोरखामा नेत्र विक्रम चन्द विप्लवका कार्यकर्ता धमाधम सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गर्न थालेका छन्। विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन जिल्ला संयोजक भोला भुजेल सहित तीन जना जिल्ला कमिटी सदस्यहरुले शनिबार सत्ताधारी नेकपामा प्रवेश गरेका हुन्।

गोरखा नगरपालिका १० मा भएको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले युवा संगठन संयोजक भुजेल, जिल्ला सदस्यहरु विशाल गजुरेल र भरत कोइरालालाई खादा र टीका लगाएर पार्टीको सदस्यता प्रदान गरे।

‘धेरैजसो समय व्यवसाय गर्ने र बचेको समय राजनीतिक कार्यक्रममा भाग लिने हामी प्रतिबन्धित पार्टीमा लागेर काम गर्न नसक्ने भएकाले नेकपामा प्रवेश गरेका हौं’, भुजेलले भने, ‘गत फागुन ५ गतेदेखि विप्लवको पार्टी परित्याग गरेका थियौं। आज नेकपामा प्रवेश गर्‍यौं।’

यसअघि एनसेल टावरमा आगजनी गरेको आशंकामा पक्राउ परेका विप्लव पार्टीका कार्यकर्ता दीपक बोहोराले पनि पार्टी परित्याग गरेका छन्। प्रहरीले सार्वजनिक कसुर अन्तर्गत मुद्धा चलाएका बोहोराले आफूले डेढ वर्षअघि देखि सो पार्टी परित्याग गरेको दाबी गरेपछि केही दिनअघि तारेखमा रिहा भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *