अज्ञात समूहले ललितपुरको नख्खुलगायत देशका विभिन्न क्षेत्रमा रहेको एनसेलको टावरमा शुक्रबार बम विष्फोट गराएर क्षति पुर्याएको थियो ।
ललितपुरको नख्खुमा भएको विष्फोटमा परी सिंहप्रसाद गुरुङको मृत्यु भएको छ भने प्रतीक्षा खड्का र आयुषा मानन्धर घाइते भएका छन् ।
काठमाडौँ कमलपोखरीमा फेला परेको बमलाई भने डिस्पोज गरिएको थियो । उपत्यका बाहिर कञ्चनपुर, जाजरकोट, अछाम, पूर्वी रुकुम, कपिलवस्तु, रुपन्देही, काभ्रेलगायत जिल्लाको एनसेल टावरमा आगजनी गरिएको छ ।
गृहमन्त्री रामबहादुर थापाले शनिबार उपचाररत घाइतेसँग भेट गरी उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिने जानकारी दिँदै दोषीलाई पक्राउ गरी कारवाही गर्ने आश्वासन दिएका छन् ।
घटनापछि सुरक्षा व्यवस्थामा समेत थप कडाइ गरिएको प्रहरीले जनाएको छ । जाँचलाई साविकभन्दा बढाएको, सादा पोशाकमा समेत प्रहरी परिचालन गरी मोबाइल गस्ती बढाएको र मुलुकभरका प्रहरी कार्यालयलाई सुरक्षा व्यवस्था थप मजबुद पार्न निर्देशन दिइसकिएको प्रहरी प्रवक्ता सुवेदीले जानकारी दिएका छन् ।