काठमाडौं । आज रातिदेखि देशका विभिन्न भागमा वर्षा हुनेछ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भेगमा आगामी तीन दिनसम्म बदली र वर्षाको सम्भावना रहेको हो ।
मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनसमेत जारी गरेको छ । बुलेटिनअनुुसार मध्य र पश्चिमी भेगमा आंशिकदेखि सामान्य बदली रहने छ भने पूर्वी पहाडी, मध्य र पश्चिमी पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जनसहित वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।
महाशाखाका मौमसविद् सुवास रिमालका अनुसार, आज रातिबाट देशको पश्चिमी भेगबाट प्रवेश गर्ने पश्चिमी न्यूनचापीय प्रणालीले बदली र वर्षा गराउनेछ । सो प्रणालीले खासगरी शनिबार र आइतबार बढी असर गर्ने देखिएको छ ।
आज दिउँसो पूर्वी भेगलगायत मध्य र पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने पूर्व, मध्य र पश्चिमी पहाडी भेगका एक दुई स्थानमा मध्याह्नपछि वा साँझतिर मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । मध्य र पूर्वी हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राससका अनुसार। रातको समयमा पनि पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने पश्चिमका थोरै स्थान र मध्य र पूर्वी पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहितको वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । शनिबार पनि पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहने र पूर्वी पहाडी भेगका थोरै स्थान र मध्य तथा पश्चिमका पहाडी भेगका एक÷दुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पूर्वी र मध्य पहाडी क्षेत्रमा सामान्य बदली हुनुका साथै क्षणिक वर्षा र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यसैगरी यही चैत १७ गते आइतबार पूर्वी र मध्यपहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी स्थानको मौसम आंशिक बदली रहनेछ । पूर्वी र मध्यपहाडी स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना छ ।