‘हेर्नुस् त को स्कुल फर्कियो !’ भन्दै अमेरिकी दूताबासले राख्यो गगन थापा पढ्दै गरेको तस्बिर

मुख्य समाचार

नेपालस्थित अमेरिकी दूताबासले आफ्नो ट्विटर एकाउन्टमा ‘हेर्नुस् त को स्कुल फर्कियो !’ भन्दै सांसद गगन थापाले हावर्ड युनिभर्सिटीको केनेडी स्कुलमा अध्ययन गरिरहेको तस्बिर राखेको छ । ‘ग्लोबल लिडरशीप एण्ड पब्लिक पोलिसी फर द ट्वेन्टी फस्र्ट सेन्चुरी’ विषयक दुई हप्ते अध्ययनका लागि गगन यतिखेर अमेरिकामा छन् ।

‘म युवा रहिरहन चाहन्छु र सिकाइले मेरो मस्तिष्कलाई युवा राख्छ । यस कक्षा कोठामा मैले आफूलाई एकदमै युवा महसुस गरिरहेको छु । र म रमाइरहेको छु,’ दूतावासले गरेको अर्को ट्विटमा गगनको भनाई उद्धृत गरिएको छ ।

व्यस्तताका कारण प्रतिष्ठित विश्वविद्यालयमा पढ्ने रहर अधुरो भए पनि सर्ट कोर्षबाट केही सिक्न हार्वर्डमा आवेदन गरेको सांसद थापाको भनाई छ । दुई साताको सर्ट कोर्षका लागि गत वर्ष नै छनौट भए पनि व्यस्तताले जान नपाएको उनले बताए । ‘कोर्ष दुई हप्ताको मात्र भए पनि छनोट भएदेखि नै इमेलमार्फत गृहकार्य गराई अधिकतम उपलब्धीमूलक बनाइदो रहेछ,’ उनले भने ।

राजनीतिकर्मी, व्यापारी, कर्मचारीलगायत सहभागी हुने भएकाले विश्वका प्रतिष्ठित विश्वविद्यालयका सर्टकोर्षको आकर्षण भने निकै छ । वर्षभरि पढ्न नभ्याउने इच्छुकले सर्ट कोर्षमा सहभागी हुन आवेदन दिने गर्छन ।

सर्ट कोर्षमा सहभागी भइसकेका पूर्व सचिव कृष्ण ज्ञवालीका अनुसार विश्वभरिबाट सहभागी हुने भएकाले विख्यात विश्वविद्यालयको पढाई निकै उपलब्धिमुलक हुन्छ ।राजनीतिकर्मी सहभागी हुने कक्षामा विश्वभरिका राजनीतिकर्मी सहभागी हुने भएकाले इन्टरनेटमार्फत भविष्यमा पनि अनुभव आदानप्रदान, अन्तरक्रिया गर्दै थप उपलब्धि लिन सकिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *