चित्रकार सुंगुर्नीको चौतर्फी चर्चा

मुख्य समाचार

दक्षिण अफ्रिकाको फ्रान्सहक नगरकी एउटी चित्रकार सुंगुर्नीको अहिले चौतर्फी चर्चा छ। थुतुनोले ब्रस च्यापेर चित्र बनाउने उसलाई ‘पिगकासो’ नामले सम्बोधन गरिन्छ। विश्वप्रसिद्ध कलाकार पिकासोको नामसँग मिल्दोजुल्दो नाम दिइएको पिगकासोलाई सन् २०१६ मा एउटा वधशालाबाट उद्धार गरेर पशुशालामा राखिएको थियो। त्यहाँ उसमा रङ र पेन्ट ब्रसप्रति प्रेम र लगाव भएको पत्ता लगाइएको थियो।

‘सुंगुर बुद्धिमान जनावर हो,’ पशुशाला सञ्चालक जोआन्ने लेफ्सनले भनिन्, ‘पिगकासोलाई यहाँ ल्याएपछि हामीले उसका अगाडि फुटबल, रग्बी बलका साथै केही ब्रसहरू छरिदिएका थियौँ। उसले सबै कुरा खाई वा ध्वस्तै पारी तर चित्र कोर्ने ब्रसप्रति भने उसको अनौठो अनुराग देखियो।’

चाँडै नै उसले थुतुनोले ब्रस च्यापेर रङका भाँडामा चोप्दै क्यानभासमा चित्र कोर्न थाली। उसका पेन्टिङहरू बिक्री हुन थालेका छन्। बिक्रीको पैसा पशु हितमा काम गर्ने संस्थालाई दिइन्छ। गत महिना स्विस घडी निर्माता कम्पनी स्वाचले चित्रकार सुंगुर पिगकासोसँग सहकार्यको घोषणा गरेको थियो। ‘फ्लाइङ पिग बाई मिस पिगकासो’ नामक चित्रका सीमित संस्करणहरू १ सय २० डलरमा बिक्री भइरहेका छन्। पिगकासोले चित्रमा हरियो, नीलो र गुलाबी रङ धेरै प्रयोग गरेकी छे।

‘पिगकासो निःसन्देह अमूर्त चित्रकार हो,’ लेफ्सनले भनिन्, ‘तपाईं उसले केको चित्र बनाएकी हो, खुट्याउन सक्नुहुन्न। तर, उसको शैली कुनै महान् कलाकारको जसरी मनोदशाअनुसार बदलिन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *