सरकारले युवालाई स्वदेशमै रोजगारी दिने बताइरहेको बेला कोरिया जान ठूलो संख्याका युवाले चासो देखाएका छन्।
रोजगार अनुमति प्रणाली सुरु भएयता (सन् २००७) सबभन्दा बढी यो वर्ष युवाले कोरिया जान आवेदन दिएका छन्। वैदेशिक रोजगार विभाग अन्तर्गतको कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीका अनुसार आइतबार अपराह्न ५ बजेसम्म ९१ हजार चार सय २० युवायुवतीले भाषा परीक्षामा सहभागी हुन आवेदन दिएका छन्। अनलाइन फारम भर्ने अवधि आइतबार राति १२ बजेसम्म कायम गरिएकाले संख्या बढ्न सक्ने भण्डारीले बताए।
कोरिया जान ६२ हजार आठ सय १९ ले सेवा क्षेत्र र २८ हजार ६ सय एकले कृषिमा काम गर्न आवेदन दिएका छन्। यसअघि सबभन्दा बढी अघिल्लो वर्ष ८२ हजार दुई सय ३५ ले भाषा परीक्षामा सहभागी हुन आवेदन दिएका थिए। राम्रो पारिश्रमिक पाइने भएकाले कोरियाप्रति आकर्षण बढी छ। हाल कोरिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक एक लाख ७२ हजार रुपैयाँ तोकेको छ। फारम भरेका युवायुवतीको कोरियन भाषा परीक्षा आउँदो जेठ २५ र २६ गते काठमाडौं र पोखरा केन्द्रमा सञ्चालन हुने तय गरिएको छ।
यो वर्ष कोरियाले भाषा परीक्षामा उत्तीर्ण गराउन १० हजार ५० को सिलिङ उपलब्ध गराएको भण्डारीले पठाए। त्यस्तै यो वर्षदेखि भाषा परीक्षा उत्तीर्ण गर्ने युवायुवती सम्बन्धित कामको सीप परीक्षणमा समेत उत्तीर्ण हुनु पर्नेछ। विगतमा भाषा परीक्षा उत्तीर्ण गरेकै भरमा कोरिया जाँदा आत्महत्या गर्ने क्रम बढेपछि यो वर्षदेखि सम्बन्धित काममा दक्ष भए/नभएको यकिन गर्न सीप परीक्षण गर्नुपर्ने व्यवस्था मिलाइएको भण्डारीले बताए।