विपद्‍मा आशा जगाउने कलिला मुस्कान

मुख्य समाचार

वीरगञ्ज : वीरगञ्ज सहरदेखि उत्तरपूर्वी क्षेत्रको पुरैनिया गाउँ ! गाउँलेको आँखामा उदासीनता देखिन्छ। वीरगञ्जको बसपार्कबाट करिब दश किलोमिटर कच्चीबाटोमा दौडिएपछि मान्छेको भीडैभीड देखिन्छ। कोही राहत बाँडिरहेका, कोही राहत लिइरहेका, कोही फोटो खिचिरहेका, कोही निराशामा डुबिरहेका अनेकन मान्छेका भीड।

आइतबार साँझ आएको भयानक हावाहुरीले पुरैनियालाई तहसनहस बनाइदियो। त्यहाँ पुगेपछि थाहा भयो, हुरीले गाउँलाई एउटा खण्डहरमा परिणत गरिदिएको रहेछ। अघिकांश गाउँलेहरूसँग न ओत लाग्ने घर छ, न पेटमा हाल्ने अनाज नै।

त्यतिमात्र होइन, कतिपयका त आफ्ना प्रिय मान्छेलाई यस विपद्‍ले निलेको छ। मौसमविद्ले पनि खुट्याउन नसकेको त्यो राक्षसी हावाहुरीको सन्त्रास गाउँलेको मनबाट उत्रिन सकेको छैन। यतिबेला विपद्‍मा परेका गाउँलेहरूको आशा जगाउने एकमात्र स्रोत बनेका छन् गाउँका कलिला बालबालिका।
आधा भत्किएको घरको दृश्य हृदयविदारक छ। कुनै अवस्थामा पनि घर बस्न लायक नै देखिँदैन। त्यही घरको एक छेउमा बसेको छ दिलशादको परिवार, निराशाको भारी बोकेर।

लथालिङ्ग घरको आसपासमा दिलशाद आफ्ना दाइभाइसँग खेलिरहेका छन्। उनले लगाएको कालो हाफकमिज र सेतो हाफपाइन्ट मैलिसकेको छ। उनी उफ्रिरहेका छन्, हाँसिरहेका छन् र नाचिरहेका छन्। सँगै, आफ्ना दाइभाइलाई पनि चलाइरहेका छन्।
तस्बिर खिच्न खोज्दा दिलशादका दाइ अतुररहमान पनि छेवैमा आएर नाँच्न खोज्छन्। लगाएको कालो-सेतो धर्से सट हल्का निलो जिन्स पनि मैला भइसकेका छन्। अतुररहमानका अर्का भाइ नवशाद पनि सँगै आएर हाँस्न थाल्छन्। हातमा लिएको पीपीरी बजाउँदै अतुररहमान खण्डहर बनेको घरभित्रै दगुर्छन्। सेतो सर्ट र कालो पाइन्ट लगाएका नवशादले उनलाई पछ्याउँछन्।

हावाहुरीपछि गाउँलेको आँखामा अनौठो सन्नाटा देखिन्छ। तर, गाउँका कलिला मुनाहरूले त्यो हुरीलाई बिर्सिन थालेका छन्। त्यसैले त उनीहरू हाँस्न थालेका छन्। ती मुनाहरूको चञ्चलतालाई निराश र हताश आँखाले एकटकले हेरिरहेकी छिन् अम्बे अखातमले।

अम्बेको सानो घर पनि आइतबारको हुरीले उडाइदिएको छ। उनको घरमा खानाको नाममा केही छैन।
राहत बाँढ्न आएकाले दिएको चाउचाउ चपाइरहेकी अम्बे दिलशादको चन्चलता देखेर मुस्कुराउन खोज्छिन्। तर, उनको मुस्कानलाई तीनदिन अघिको गाउँमा भित्रिएको विपतले रोकिदिन्छ। ‘१२ जनाको परिवार छ, बस्ने ठाउँ छैन। अर्को घरमा बसेका छौं’ अम्बे भन्छिन्, ‘यति ठुलो परिवार अर्काको घरमा बस्न गाह्रो भएको छ।’

दिलशादका तीनभाइ जस्ता कलिला मुनाहरू गाउँभरि नै छन्। जसले प्रकोपको पीडा बिर्सिसकेका छन्। अर्कोतर्फ, गाउँमा अम्बे जस्ता घर बिहीन मानिसहरू पनि छन्, जसले प्रकोपको पीडा बिर्सेर मुस्कुराउने प्रयास गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *