भक्तपुरमा गाडीभित्र शव भेटियो, चारजना पक्राउ

मुख्य समाचार

भक्तपुरमा गाडीभित्र शंकास्पद अवस्थामा शव भेटिएको छ ।

सूर्यविनायक नगरपालिका–८ सिपाडोल घर भई आदर्श भन्ने ठाउँका २६ वर्षीय निकेश भुजुको शव भक्तपुर नगरपालिका–८ लिवालीमा बा ५च ६४२१ नम्बरको मारुती गाडीमा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
शनिबार विहान ९ बजे ४ वर्षीय छोरासँगै घरबाट गाडी बनाउन (मर्मत) भन्दै घरबाट हिँडेका निकेश साँझ ६ बजेसम्म सम्पर्कमा नआएपछि श्रीमती सिर्जनाले महानगरीय प्रहरी वृत्त जगातीमा खबर गरेकी थिइन् ।

खोजतलास गर्दा प्रहरीले करिब ७ बजे गाडी भित्रै निकेशलाई अचेत अवस्थामा फेला पारेको थियो । उनलाई भक्तपुर अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका थिए ।

खोजीको क्रममा केही व्यक्तिहरु निकेशको छोरालाईसमेत छोडेर गाडीमा भक्तपुर नगरपालिका–८ लिवालीतर्फ भागेको देखेपछि प्रहरीले पिछा गरेको थियो ।

प्रहरीलाई देखेपछि शंकास्पदरुपमा उनीहरु भागेपछि गाडीमा हेदा निकेश अचेत भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले बताए ।

प्रारम्भिक अनुसन्धानपछि प्रहरीले घटना शंकास्पद भएको भन्दै ४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका–८ का २५ वर्षीय सुमन बाला, दाङको हापुर गाउँपालिका–४ का १९ वर्षीय भुपबहादुर रोका, सिन्धुपाल्चोक मार्मिङ गाउँपालिका–१ घर भइ चाँगुनारायण–९ ताथली बस्ने २६ वर्षीय किरण श्रेष्ठ र चाँगुनारायण–९ ताथलीकै सुकु भन्ने राज बनमाला रहेका छन् ।

मृतकले अत्यधिक लागूऔषध सेवन गरेको भनिए पनि उनीसँगैका व्यक्तिहरु भागेकोले घटना शंकास्पद भएको प्रहरी निरीक्षक पाण्डेले बताए । ‘घटना शंकास्पद छ । अस्पताल लैजान लागेको भए पनि उनीहरु नभाग्नुपर्ने,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *