जापान लाने भन्दै लाखाैं ठगी

मुख्य समाचार

इटहरी/ जापानमा मासु काट्ने काम मिलाइदिन्छु भन्दै एक युुवा इटहरी आसपासका सर्वसाधारणहरूबाट रकम लिएर फरार भएका छन् । उनी जापानमा मासु काट्ने काम मिलाइदिन्छु भन्दै इटहरी–५ का स्थानीयबाट ठगी गरी फरार भएका हुन् ।

बिर्तामोडका निलमणि अधिकारीले जापान लान्छु, राम्रो कमाइ हुन्छ भन्दै ठगी गरेको पीडितहरूले बताएका छन् । जापानमा काम गर्ने वातावरण मिलाउँछु भनेर १ लाख २० हजार ठगेको इटहरी–५ का चूडामणि गेलालले बताए । ‘अधिकारीले महिनाको अढाई लाख कमाइ हुन्छ, जापानमा मेरो आफ्नो मान्छे छ, त्यहाँ पठाउँछु भनेका थिए । जाने बेलामा १२ लाख दिने सहमति भएको थियो’–पीडित गेलालले भने ।

‘विदेश जाने चक्करमा मैले शुरुमा २ लाख रुपैयाँ दिएको थिएँ । बीचमा पठाउन सक्दिन भन्दै दुई पटक गररे ८० हजार फिर्ता दियो, १ लाख २० हजार रुपैयाँ बाँकी छ । अहिले फोन पनि उठाउँदैन, दुःख गरेर कमाएको पैसा खाइदियो’ गेलालले भने, ‘हामीलाई मात्र हैन, बिर्तामोडमा सानो कार्यालय खोलेर दर्जनौंलाई ठगेका छन्, प्रहरीले खोजी गरिदियोस् ।’

इटहरी–५ कै कुमारप्रसाद भट्टराईले पनि १ लाख ३० हजार रुपैयाँ जापान लौजाने भन्दै खाइदिएको सुनाए । ‘प्रहरी कार्यालयमा बारम्बार गए पनि प्रहरीले वास्ता गरेन । पैसा माग्दा प्रहरी मेरो साथी हो भन्दै उल्टै धम्क्याउने गरेको छ’ भट्टराईले भने, ‘हामी बिर्तामोडको प्रहरी कार्यालयमा धेरै पटक गयौं तर हाम्रो कुरा प्रहरीले पनि सुनेन ।’

इटहरी–५ कै वासुदेव अधिकारीले पनि एक लाख ४० हजार डुबेको बताए । आफूजस्ता दर्जनौंलाई ठगेको उनको भनाइ छ । सरकारले जापानमा कामदार लैजाने भनिरहेका बेला जापान जानका लागि भाषा सिक्नेको सङ्ख्या पनि बढेको छ । तर सँगसँगै जापानी भाषा सिक्न थालेकामध्ये कतिपयले दलालको प्रलोभन आउन थालेको भन्दै ‘बिचौलिया’ नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।

कामदारका रूपमा जापान जान पाइने खबर सार्वजनिक भएपछि जापानी भाषा सिक्नेहरू बढिरहेका बेला ‘बिचौलिया’ को जोखिम वृद्धि भएको उनीहरूको भनाइ छ । सरकारी अधिकारीहरूले भने अन्य देशमा कामदार पठाउँदा जस्तो ठगी नहोस् भनेर जापानका हकमा थप सतर्कता अपनाइने बताएका छन् । विभिन्न १४ वटा क्षेत्रमा कामदार लिने जापानको योजना सार्वजनिक भएपछि जापानी भाषा सिक्न चाहने नेपाली युवायुवतीको सङ्ख्या बढ्न थालेको छ ।

जापानी भाषा सिक्ने बढे
जापानी भाषा प्रशिक्षण दिने संस्थाहरूका अनुसार पछिल्ला दिनहरूमा भाषा सिक्न आउनेहरूको सङ्ख्या ह्वात्तै बढेको छ । अहिले नै कस्ता कामदार जान पाउँछन् भन्ने निक्र्यौल नभए पनि धेरैले भाषा सुधार गर्नका लागि भए पनि भाषा सिक्न चाहेको बताउने गरेका छन् । सबैजसो केन्द्रमा ‘काम गर्न जापान जाने’ भन्दै भाषा सिक्न आउनेहरू बढेका छन् ।

जापान अन्योल भएपछि आफू भाषा सिक्न छाडेको बताउँछिन् वराहक्षेत्र–३ मिलनचौककी सविना खड्का । उनी भन्छिन्, ‘सरकारको अन्यौलताले पढ्न शुरु गरेको भाषाको कक्षा अहिले छोडेको छु ।’ अहिले आफूले विभिन्न सञ्चार माध्यममा हेर्दा भाषा पढ्ने अवस्था नदेखेपछि अहिले नपढ्ने निर्णय गरेको उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *