अफगानी मुस्लिम मोमताज, जो तालिबानीलाई योगा सिकाउन आतुर छिन्

मुख्य समाचार

काबुल : अफगानिस्तानको राजधानी काबुल, जुन युद्धप्रभावित सहर हो । विभिन्न हिंसात्मक घटना भएको समाचार हरेक साता आइरहन्छ । तालिबानी हमला नै रोकिएको छैन । यही युद्धको मुस्लोबाट मुक्ति खोज्दै एक महिलाले यस्तो व्यवसाय गरेकी छन् कि त्यो संसारलाई प्रेरणा दिने किसिमको छ ।

४२ वर्षीया फख्रिया मोमताज हो उनको नाम । जो आफ्नो पतिको साथमा यहाँ नियमित योगा सिकाउने व्यवसाय नै संचालन गरेकी छन् । त्यसको नाम हो, ‘मोमताज योगा सेन्टर’ । अलजजिराका लागि सेरिना कजीले तयार पारेको एक रिपोर्टका अनुसार हालै उनी आफ्नी १८ वर्षीया छोरी १८ फ्रुहर मोमताजलाई कसरी योगा कक्षा संचालन गर्ने भन्नेबारे तरिका सिकाउँदै छिन् ।

रोचक त के भने, मुस्लिम प्रभावित क्षेत्र काबुलमा उनको योगा सेन्टर पहिलो र एक मात्रै हो । सन् २०१६ मा सुरु भएको उनको योगा सेन्टरमा अब छिट्टै १८ वर्षीया छोरी पनि तालिम सिकाउने बन्दै छिन् ।

काठले बनाइएको उज्यालो योगा कोठामा परम्परागत योगा शैली सिकाइन्छ । हरेक बिहान सेतो र पातलो लेगिन्स लगाएका चारजना महिला योगा सुरु हुनुभन्दा अघि नै रबर म्याट लिएर कोठाभित्र पुग्छन् । उज्यालो कोठामा मधुर स्वरमा पियानो म्युजिक बजाइन्छ । जुन योगा सिक्नका लागि उपयुक्त वातावरण मानिन्छ ।
संचालक फख्रिया खासमा शान्ति स्थापनाका लागि योगा मार्फत पहल गरेको ठान्छिन् । युद्धबाट दिक्क भएकाहरुलाई शान्ति आवस्यक रहेको भन्दै उनले यस्तो काम गरेको बताउँदै आएकी छन् ।

‘वर्षौँदेखिको युद्ध र द्धन्द्धको पीडाबाट दिक्क भएका यो देशमा हरेक नागरिक शान्तिको खोजीमा छन्,’ ४२ वर्षीया फख्रिया मोम्ताजले भनिन्, ‘तर तपाईँ आफैँमा शान्त हुन नसकेसम्म समाजलाई शान्त बनाउन सक्नु हुन्न ।’

फख्रिया सानै उमेरमा खेलाडी थिइन् । अफगानिस्तानको राजधानीमै उनले धावकको रुपमा आफ्नो परिचय बनाएकी थिइन् । साथै उनले जिम्न्यास्टिक पनि सुरु गरिन् । जब तालिबानले १९९६ मा यो क्षेत्र कब्जामा लियो त्यसपछि उनी आफन्तको साथमा पाकिस्तानमा विस्थापित हुन पुगिन् ।

यदी महिलाहरु नै स्वस्थ रहन सकेनन् भने उनीहरुले आफ्ना सन्तानलाई पनि स्वस्थ राख्न नसक्ने उनको तर्क छ । योगाले डिप्रेसन हटाएर सचेतना ल्याउने भएकाले पनि महिलाका लागि उपयोगी हुने उनको धारणा छ ।

पछिल्लो समय उनको योगा स्टुडियोमा थुप्रै महिलाहरु उत्साही भएर योगा सिक्न आउने क्रम जारी छ । साथै घर छोड्न नपाउने यहाँका महिलाका लागि पनि उनले योगाका शीप र कौसल सिकाउने एप पनि उनले उपलब्ध गराएकी छन् ।

यसभन्दा पनि आकर्षक त उनी तालिबानीहरुलाई नै योगा सिकाउन चाहन्छिन् । राजनीतिक पस्थिति सुध्रिएर तालिबानीहरु सार्वजनिक रुपमा पुनस्थापित भएको खण्डमा उनीहरुलाई पनि योगा सिकाउन तयार रहेको उनले बताएकी छन् । यसका लागि उनले योगा कक्षा नै संचालन गर्ने प्रतिवद्धता व्यक्त गर्छिन् । फख्रिया भन्छिन्, ‘यदी निकट भविष्यमा यहाँको राजनीतिक अवस्था फेरिएर तालिबानीहरु फर्किए भने हामी उनीहरुलाई हामीसँगै योगा सिकाउने छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *