डेढ वर्षपछि गाउँ पुगे डाक्टर, भव्य स्वागत

मुख्य समाचार

कालिकोट : कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर आउँदा स्थानीयले भव्य रुपमा स्वागत गरेका छन्। झण्डै डेढ वर्ष पहिले डाक्टर सुवास शर्मा सरुवा भएर गएपछि प्राथमिक स्वास्थ्य केन्द डाक्टर विहीन भएको थियो।

खाली रहेको स्वास्थ्य केन्द्रमा कर्णाली प्रदेशको दैलेख दुल्लुबाट डाक्टर विवेक कोइराला र सुर्खेतको दशरथपुरबाट डाक्टर अशोक पन्त नरहरीनाथ गाउँपालिकामा सरुवा भएर आएपछि यहाँका स्थानीयले भव्य स्वागत गरेका हुन्।

प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहीन हुँदा सेवाग्राहीलाई समस्या परेको थियो। स्वास्थ्य केन्द्रमा लामो समयपछि डाक्टर आएपछि स्थानीय नागरिकले खुसीयाली मनाएका छन्।

‘लामो समयको प्रयासपछि डाक्टर पाएका छाैँ’, नरहरीनाथ गाउँपालिकाका स्थानीय नागरिक एवं जनप्रतिनिधि चन्द्रप्रसाद उपाध्यायले भने, ‘अब स्वास्थ्य सेवा आफ्नै गाउँ ठाउँबाट पाउने भएका छौँ।’

‘यातायात असुविधा र विपन्नताका कारण थलिएका बिरामीले आफ्नै गाउँमै विशेषज्ञ सेवा पाउँदा हामी निकै खुसी छौं।’ नरहरीनाथ गाउँपालिकाका स्थानीय महेन्द्र विश्वकर्माले भने, ‘प्राथमिक स्वास्थ्य केन्द्रमा ढुक्कसँग उपचार गर्न जानेभयौँ।’

समान्य बिरामीले पनि डाक्टर नहुँदा एक दिन हिँडेर जिल्ला अस्पताल जानुपर्ने बाध्यता हट्ने भएको भन्दै स्थानीय नागरिक खुसी भएका छन्।

डाक्टर प्राथमिक स्वास्थ्य केन्द्रमा आएकोले अब एक्सरे, भिडियो एक्सरे, इसिजी सेवा लगायतका सेवा प्रवाह हुने नरहरीनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक लंक बटालाले बताए। उनले भने, ‘लामो समय विशषेज्ञ डाक्टर नभएकाले सेवा प्रवाहमा समस्या भएको थियो। अब सम्पूर्ण सेवा प्राथमिक स्वास्थ्य केन्द्रबाटै पाउन सकिने भएको छ।’
सरुवा भएर आएका डाक्टरद्वयले आफूले सिकेको सीपलाई प्रयोग गरी बिरामीको हेरचाह गर्ने प्रतिवद्धता जनाए। डाक्टर विवेक कोइराला र अशोक पन्तलाई स्वागत गर्दै गाउँपालिकाका उपाध्यक्ष मनसोभा बुढाले लामो समयपछि डाक्टर पाउँदा खुसी लागेको बताइन्।

उनले भनिन्, ‘नरहरीनाथ गाउँपालिकामा डाक्टरको दरवन्दी हुँदा पनि कागजमा मात्र आउने र जाने गरेकाले यहाँका नागरिकले स्वास्थ्य सेवा लिन निकै समस्या भोग्नुपरेको थियो।’

भौगोलिक हिसावले गाउँपालिका विकट भएकाले डाक्टरले अप्ठ्यारो नमानी नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न उपाध्यक्ष बुढाले आग्रह गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *