दौडिने पानी जहाजको खोजी र भाग्यमानी शेरबहादुर देउवाको भाग्य !

मुख्य समाचार

कहाँ चलाउने, कसरी चलाउने अत्तोपत्तो छैन तैपनि सरकार लागेको लाग्यै छ नेपालमा पानी जहाज चलाउन । प्रधानमन्त्रीको त एक मात्रै सपना पानी जहाज बनिसक्यो । त्यसैले कर्मचारीको समेत टुंगो नलागे पनि उनले पानी जहाज कार्यालयको उद्घाटन गरिदिए । यत्तिसम्म त ठीकै थियो । कार्यालय उद्घाटन भए पनि नेपालमा पानी जहाज चल्नेमा प्रधानमन्त्रीबाहेक अन्य कोही ढुक्क देखिएनन् तर अचम्मैसँग प्रधानमन्त्री केपी ओली भने टसकामस छैनन् ।

न समुद्र छ नेपालमा, न त लामो यात्राका रुपमा पानी जहाजै चलाउन सकिने गहिराई भएका नदी छन् तर प्रधानमन्त्रीलाई यी सबैको ‘छु मतलब’ ! जे गरेर होस्, चलाउने भनेपछि पानी जहाज चलाउने, उनी दृढ छन् यसमा ।

पानी जहाज चलाउन अहिलेको सूत्रले साथ दिँदैन भने सूत्रै बदल्न उनले इन्जिनियरहरुलाई निर्देशनै दिइसके । पुल सार्न परे पनि सार भनिसके । प्रधानमन्त्री हुन्, भनेको त मान्नै प¥यो ! अब इन्जिनियरहरुमाझ सूत्र बदल्ने चुनौती र अवसर भने आयो है ! पानीमा सलल बग्ने मात्र पानी जहाज कहाँ हुन्छ ? चट्ट पानी जहाज आकारको गाडी बनाउने, पाङ्ग्रा हाल्ने र दौडाउने ।
विश्वका धेरै देशमा रहेको कम्युटर दानमा नेपाल आइपुग्दा विश्वकै दुर्लभ सुपर कम्प्युटर हुनसक्छ भने दौडिने पानी जहाज किन हुन सक्दैन ? कि कसो त प्रधानमन्त्रीज्यू !

जागिर जाए पर घुस नजाए !
घुस छताछुल्ल भएसँगै राजीनामा दिए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले ज्याद्राहरुको भने उत्साह थपेर गएका छन् । व्यक्ति कुन हदसम्म ज्याद्रो हुने भन्ने उदाहरणै स्थापित गरे उनले । जस्तोसुकै संकट परोस्, जस्तोसुकै विपत्ति आओस् तर ज्याद्रोपन भने छाड्न हुन्न भन्नेमा उनी उदाहरणै भए ।

त्यस्तो ज्याद्रो नभएको भए सामाजिक कलेजलाई निजी बनाइदिन लिएको घुस फिर्ता गराउन घुस खुवाउने पक्षले अडियो रेकर्ड गरेको, भिडियोसमेत खिचेको जान्दाजान्दै पनि उनी कसरी घुसको रकम ७८ लाख जोगाउन सफल हुन्थे र !

सार्वजनिक भएको उनको गोप्य भिडियो हेर्दा उनी घुस खाएकोमा चिन्तित छन्, श्रीमतीले गाली गर्ने डर पनि देखिन्छ उनमा । त्यत्ति मात्रै हो र ? त्यही भिडियोले अख्तियारको प्रमुख आयुक्त हुने सपना कतै चकनाचुर हुने पो हो कि भन्ने चिन्ता पनि छ तर अहं घुस फिर्ता गर्ने पक्षमा भने छैनन् ।

जसले उनको अडियो अनि भिडियो बनायो, उसको उद्देश्य त्यही फँसेको घुस फिर्ता लिने मात्र देखिन्छ । जे गर्दा पनि घुस फिर्ता नआउने पक्कापक्की भएपछि नै उनीहरुले बाध्य बनाएर मन कुड्याउँदै भए पनि पाठकको हातबाट घुस फिर्ता गराउन त्यत्रो मिहिनेत गरेर अडियो र भिडियो रेकर्ड गराए ।
पाठक रोए, गिड्गिडाए, आफूलाई बचाउन गुहार मागे तर अहं घुस फिर्ता दिन राजी भएनन् ।

प्रधानमन्त्रीलाई देखाए, प्रमुख प्रतिपक्षी दलको नेताले पनि भिडियो हेरे तर घुसको रकम फिर्ता आउने लक्षण नदेखिएपछि अन्त्यमा आजित भएको घुसकर्ताहरु मिडियाको ढोका ढक्ढक्याउन पुगे । पाठकको ‘बहादुरी’ले समाचारको बजार छपक्क भएपछि राजीनामासम्म दिन उनी राजी भए तर अहं घुसको रकम फिर्ता गर्न अझै राजी भएनन् । अख्तियारका पूर्व आयुक्तलाई अख्तियारै लगाउने तयारी भइरहेको छ तर उनको ज्याद्रोपन भने अझै कायम छ । आयुक्तबाट पूर्व आयुक्त भइसके तर अहं घुसको रकम फिर्ता दिने संकेतै छैन । ‘जागिर जाए पर, घुस न जाए’ मा अडिगै रहेछन् उनी । हैट्, कस्तो ज्याद्रोको फेला परिएछ भन्दै छक्कै होलान् ती घुस प्रदानकर्ता पनि ! ‘कम्तीमा जागिर त फुस्क्याइयो’ भनेर चित्त बुझाउनेबाहेक कुन बाटो छ र अब !

भाग्यमानी हुनुको पनि हद हुन्छ नि !
असक्षम भन्दै हुत्याउने राजाले नै बोलाएर प्रधानमन्त्री बनाइदिने । हार्ने कन्फर्म भइसक्दा चुनावको मुखैमा प्रतिस्पर्धीको ‘डेथ’ भएर पार्टीको कमाण्ड थपक्कै आइपुग्ने, घुमाइफिराई प्रधानमन्त्रीको कुर्सी आइरहने ।
यत्ति मात्रै हो र ?

आफूले नियुक्त गरेका आयुक्तले घुस खाँदा अर्को पार्टीकाले अवगाल पाउने, सत्तापक्षले पेलेर भित्तामै पुर्याएर निरीह बनाउँदा सत्ता पक्षको सातो खान लोक गायक आइदिने अनि ४ अर्बको भ्रष्टाचारको केसमा पोलिए पनि सत्तापक्ष आफैंले उच्चस्तरीय आयोग बनाएको नाटक गरेर चोख्याइदिने ।
हैट्, भाग्यमानी हुनुको पनि हद हुन्छ नि ! प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भाग्य देख्दा डाहै लाग्ने क्या !

Leave a Reply

Your email address will not be published.