इलाम : इलामको फाकफोकथुम गाउँपालिका–५ को छायाँदेवी माविबाट प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँचजना कार्यकर्ता पक्राउ गरेको छ ।
केही दिनयता विभिन्न ठाउँमा भएका विस्फोटको जिम्मा विप्लव नेतृत्वको पार्टीले लिएसँगै सरकारले पनि उनीहरुमाथि निगरानी बढाएको हो ।
मंगलबार दिउसो सहिद परिवारलाई सम्मान गर्न भन्दै आयोजना गरिएको एक कार्यक्रमबाट विप्लवका कार्यकर्ता पक्राउ परेका हुन् । नेकपाका इलाम सेक्रेटरी दिपेन राईका अनुसार प्रहरीले ‘जनयुद्ध’को पहिलो सहिदलाई सम्मान गरिरहँदा नियन्त्रणमा लिएको हो ।
प्रहरीले इलामका जिल्ला कमिटी सदस्य विमल बस्नेत, भोेजपुरका अमृत मगर, धनकुटाका विक्रम राई, झापाका बाबा लिम्बू र ताप्लेजुङका के बी लिम्बूलाई पक्राउ गरेको हो ।
२०५२ सालमा शुरक्षाकर्मीको गोली लागी मृत्यु भएका दीलबहादुर रम्तेलको सम्झनामा विप्लव समुहले हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउँदैआएको छ । तर विद्यालयको मैदानमा भइरहेको कार्यक्रम रोकेर प्रहरीले पक्राउ गरेको राईले बताएका छन् । जिल्ला प्रहरी कार्यालय इलामले उनीहरुलाई सदरमुकाम ल्याउँदै गरेको बताइएको छ ।