नेपालका लागि चिनियाँ राजदूत द्वारा अमेरिका लाई यस्तो चेतावनी

मुख्य समाचार

काठमाडौँ : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल–चीन सम्बन्धलाई लिएर एक अमेरिकी मन्त्रीले गरेको टिप्पणीको कडा जवाफ दिएकी छन् ।

नेपाल भ्रमणमा रहेका अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ एच फेल्टरले सोमबार रक्षामन्त्री ईश्वर पोखरेलसँगको भेटमा चीनले नेपालमा गरेको लगानीबारे प्रश्न उठाएपछि राजूत होउ आक्रोशित भएकी हुन् ।

मंगलबारदेखि ललितपुरमा सुरु भएको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ अन्तराष्ट्रिय सम्मेलनको उद्घाटनका क्रममा बोल्दै राजदूत होउले कोसौँ टाढाको देशले नेपाल–चीनसम्बन्धबारे नकारात्मक टिप्पणी गर्नु अनुचित रहेको बताएकी हुन् ।

‘नेपाल–चीन भनेका हिमाल र नदीनाला जोडिएका छिमेकी देश हुन् । कोषौँ टाढा भएको देशले दुई छिमेकीबीच अविश्वास पैदा हुने नकारात्मक टिका टिप्पणी गर्नु हुँदैन’, आक्रोश व्यक्त गर्दै उनले भनिन्, ‘चीनले आफ्नो स्वार्थ हेरेर भन्दा नेपाल सरकारले प्रस्तुत गरेका विकास आयोजनाहरुमा मात्र काम गर्ने गरेको छ ।’

राजदूत होउले सडक, पूर्वाधार र विमानस्थल लगायत संरचना निर्माणमा चीनले नेपाललाई सघाउँदै आएको बताउँदै भर्खरै हस्तान्तरण गरिएको कलंकी कोटेश्वर खण्डको पनि स्मरण गरिन् । होउले नेपालका लागि चिनियाँ राजदूत हुनु भन्दा अगाडि दक्षिण एसियाली मुलुक हेर्ने जिम्मेवारी सम्हालिसकेकी थिइन् ।
‘मलाई दक्षिण एसियाली मुलुकहरुको अवस्था राम्ररी थाहा छ । यी देश भर्खर विकासको चरणमा छन्’, उनले भनिन्, ‘यी देशलाई विकसित मुलुकबाट ठुला आयोजनाको आशा छ । अमेरिकाले यी देश र छिमेकीबारे टिप्पणी गर्नुभन्दा सहयोग बढाउनु राम्रो हुन्छ ।’

अमेरिकालाई उदाहरण दिँदै होउले चीनको सहयोगमा भर्खरै कलंकी–कोटेश्वर सडक निर्माण भएर हस्तान्तरण पनि भइसकेको बताएकी छन् ।

‘भर्खर चक्रपथको कलंकी–कोटेश्वर खण्ड (१०.३९ किलोमिटर) निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गरिसकेका छौँ । चक्रपथकै कलंकी–महाराजगञ्ज खण्ड पनि विस्तार गर्नलाई डीपीआर तयारी गर्दैछौँ’, उनले भनिन्, ‘अमेरिकाले पनि विकासोन्मुख राष्ट्रमा अरु देशले गरेका सहयोगबारे नकारात्मक टिप्पणी गर्नुभन्दा ती देशका विकास आयोजनमा लगानी गर्नु राम्रो हुन्छ ।’

यसअघि नेपाल भ्रमणमा रहेका अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ एच फेल्टरले सोमबार मात्रै रक्षामन्त्री ईश्वर पाखरेलसँगको भेटमा नेपालमा चीनले गर्ने लगानी पारदर्शी हुनुपर्नै धारणा राखेका थिए ।

फेल्टरको यही धारणालाई इंगित गर्दै राजदूत होउले कुनै पनि राष्ट्रलाई समस्यामा पार्ने चीनको नियत नभएको बताएकी हुन् । नेपाल–चीन सम्बन्ध निकै पूुानो भएको भन्दै राजदूत होउले चीनले नेपाललाई जालोमा नपार्ने पनि स्पष्टिकरण दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *