छिमेकमा तनाव, युद्धको आशंका : पाकिस्तान भन्छ, ‘बम जंगलमा खसाइयो, बिचरा रूख आतंकवादी होइनन्’

मुख्य समाचार

कास्मिरको पुलवामामा ४४ सुरक्षाकर्मी मारिएको १२ दिनपछि भारतीय वायुसेनाद्वारा पाकिस्तानमा बम वर्षा

‘भारतीय समयअनुसार मंगलबार बिहान ३ः५० मा भारतीय वायुसेनाका १२ विमानले लाइन अफ कन्ट्रोल पार गरे । १२० किलोमिटरभित्र पाकिस्तानी आकाशबाटै एक हजार किलोग्राम बम बर्साए ।

सीमापार १५ मिनेट बिताएर बिहान ४ः०५ बजे स्वदेश फर्कंदासम्म उनीहरूले जैस ए मोहम्मदको प्रमुख तालिम केन्द्र ध्वस्त बनाए । भारतीय वायुसेनाका मिराज २००० विमानको हमलामा कम्तीमा तीन सय ५० आतंकवादी मारिएका छन् ।’
सरकार र सेनाको हवाला दिँदै भारतीय मिडियाको दाबी छ ।

१४ फेब्रुअरीमा कास्मिरको पुलवामामा भएको आत्मघाती हमलामा भारतीय केन्द्रीय रिजर्भ फोर्सका ४४ सुरक्षाकर्मी मारिएका थिए । पाकिस्तान संरक्षित समूह जैस ए मोहम्मदले सो आक्रमण गराएको दाबी गर्दै आएको भारतले यथाशीघ्र जवाफ दिने घोषणा गरेको थियो । पुलवामा आक्रमणको १२ दिनपछि भारतीय वायु सेनाले पाकिस्तानमा बम खसालेको हो ।

उता, भारतीय सैन्य विमान पाकिस्तानी सीमाभित्र छिरेको पुष्टि पाकिस्तानले पनि गरेको छ । तर, आक्रमण निरस्त पारिएको र आफ्नोतर्फ कुनै पनि क्षति नभएको उसको दाबी छ । ‘भारतीय वायु सेनाका जहाजले हाम्रो क्षेत्रमा प्रवेश गरेको सत्य हो, तर तत्काल हाम्रो सेनाले प्रतिकार गर्न खोज्दा उनीहरू भागे । भाग्दै गर्दा बम खसाले । उनीहरूले जंगलमा बम खसाल्दा केही रुख ढलेका छन् ।’

हवाई कारबाहीमा जैस ए मोहम्मदका कमान्डरसहित ठूलो संख्यामा लडाकु मारिएको भारतले दाबी गरेको छ । ‘भारतमा जैस ए मोहम्मद समूहले अझै आत्मघाती हमला गर्ने सूचना गुप्तचर निकायका अधिकारीले पाएका थिए । खतराको पूर्वसन्ध्यामा हमला अनिवार्य थियो,’ भारतीय विदेश सचिव विजय गोखेलले भने । मंगलबारको कारबाहीमा भारतीय वायुसेनाले लडाकु समूह जैस ए मोहम्मदको सबैभन्दा ठूलो शिविर ध्वस्त पारिदिएको उनले दाबी गरे । आक्रमणमा कोही पनि सर्वसाधारण नपरेको उनले बताए ।

कैयौँ शिविर ध्वस्त : भारतीय कृषिमन्त्री
कास्मिरी पृथक्तावादी र अरू लडाकु लुकेर बसेको आशंकामा एलओसी पार गरेर पाकिस्तान–अधीनस्थ क्षेत्रमा गरिएको हमलामा कैयौँ आतंककारी शिविर ध्वस्त भएको भारतका कृषि राज्यमन्त्री गजेन्द्रसिंह सिखावतले दाबी गरे । भारत–अधीनस्थ कास्मिरमा केही दिनअघि आत्मघाती आक्रमणमा ४४ भारतीय अर्धसैनिक बलको मृत्युपछि पहिलोपटक भारतले पाकिस्तानी क्षेत्रमा आक्रमण गरेको मन्त्री सिखावतले बताए ।

कास्मिरमा संघर्षरत मौलाना मसुद अजहरको नेतृत्वमा रहेको जैस ए मोहम्मद समूहले आत्मघाती आक्रमणको जिम्मेवारी लिएको थियो । मौलाना पाकिस्तानमै रहेकाले भारतले उनलाई भारतसमक्ष सुपुर्दगी गर्न आग्रह गर्नुका साथै पाकिस्तानविरुद्ध अन्तर्राष्ट्रिय कूटनीतिक दबाब सिर्जना गरिरहेको छ ।

भारत सरकारले यसअघि नै भारतीय सुरक्षाफौजमाथि आत्मघाती आक्रमण गर्नेमाथि सैन्य कारबाही गर्न भारतीय सेनालाई पूर्ण अख्तियारी दिएको थियो ।

शान्तिमा चीनको जोड, संयम हुन इयूको आग्रह
चीनले भारत र पाकिस्तानबीचको शान्तिपूर्ण सम्बन्धमा जोड दिएको छ । कास्मिरमा स्थायित्व कायम गर्न भारत र पाकिस्तानबीच बलियो र शान्तिपूर्ण सम्बन्ध अनिवार्य भएको चीनको भनाइ छ । ‘दुई देशले कास्मिरमा शान्ति र स्थिरता
कायम गर्नेछन् भन्ने हामीले आशा गरेका छौँ,’ चिनियाँ विदेश मन्त्रालयले भनेको छ ।

त्यस्तै, युरोपेली युनियन (इयू) ले दुवै एसियाली मुलुकलाई ‘अत्यधिक संयमता अपनाउन’ आग्रह गरेको छ । ‘हामी दुवै मुलुकसँग सम्पर्कमा छौँ । दुवै देशलाई अत्यधिक संयमता अपनाउन र स्थितिलाई थप तनाव नबनाउन आग्रह गर्छौँ,’ इयू प्रवक्ता माजा कोसिजान्सिकले भने ।

भारतभर उत्सव : वायुसेनाको प्रशंसा, सत्तापक्ष र प्रतिपक्षको एक स्वर

भारतीय वायुसेनाले पाकिस्तानी क्षेत्रमा बम खसाएको र आतंकवादी अखडामा क्षति पुर्‍याएको भन्दै भारतभर उत्सव मनाइएको छ । सर्वसाधारणले ठाउँठाउँमा पटका पड्काएर भारतीय राष्ट्रगान गाउँदै खुसियाली मनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हवाई हमलाबारे अप्रत्यक्ष रूपमा वायुसेनाको तारिफ गरेका छन् । मंगलबार राजस्थानमा आयोजित एक राजनीतिक सभालाई सम्बोधन गर्दै मोदीले भने, ‘मैले तपार्इंहरूको उत्साह र ऊर्जाको कारण बुझेको छु । आज हामीले हाम्रा हिरोहरूका अगाडि झुक्ने दिन हो ।’

भारतीय कंग्रेसका अध्यक्ष राहुल गान्धीले वायुसेनालाई बधाई दिएका छन् । ‘म वायुसेनाका पाइलटहरूलाई सलाम गर्छु,’ राहुलले ट्विट गरेका छन् । मंगलबारको हमलापछि विभिन्न राजनीतिक दलका नेता, विशिष्ट व्यक्ति, कलाकार र सर्वसाधारणले समेत वायुसेनाको तारिफ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै, विभिन्न सेलेब्रिटीले पनि सरकार र सेनाको हौसला बढाएका छन् ।

कलाकार अक्षय कुमारले भनेका छन्, ‘आतंकवादीका शिविर ध्वस्त बनाएकोमा भारतीय वायुसेनाप्रति गौरव छ । चुप नलागौँ ।’

सलमान खान : भारतीय वायुसेनालाई सम्मान छ, जय हो ।

सचिन तेन्दुलकर : हाम्रो संयमलाई कहिल्यै पनि कमजोरी नठानियोस्, म भारतीय सेनालाई सम्मान गर्छु, जय हिन्द ।

कमल हसन : पाकिस्तानस्थित आतंकवादी शिविरमा प्रलय ल्याएर हाम्रा १२ विमान फर्किएका छन् । आफ्ना हिरोहरूप्रति भारत गौरव गर्दछ । म तिनीहरूको वीरताको सम्मान गर्दछु ।

परेश रावल : वास्तवमै एउटा सुन्दर बिहानी । धन्यवाद नरेन्द्र मोदीलाई र बहादुर सैनिकलाई । जय हो ।

शत्रुघन सिन्हा : सम्माननीय प्रधानमन्त्रीज्यू, यो घडीमा सम्पूर्ण राष्ट्र तपाईंको साथ छ । तपार्ईंलाई हाम्रो सम्पूर्ण समर्थन छ । महान् वायुसेनालाई स्वागत छ । जय हिन्द कि सेनाको जय हो ।

पाकिस्तान भन्छ, ‘बम जंगलमा खसाइयो, बिचरा रूख आतंकवादी होइनन्’
पाकिस्तानले भारतीय आक्रमणको उचित समयमा आफ्नै ढंगले जवाफ दिने बताएको छ । पाकिस्तानका विदेशमन्त्री साह मोहम्मद कुरेसीले भारतले पाकिस्तानी भूमिमा आक्रमण गरेर पाकिस्तानको सम्प्रभुताको उल्लंघन गरेको र त्यसको उचित जवाफ दिइने बताएका छन् । ‘यस हमलाको पाकिस्तानले जवाफ दिन्छ’ पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सेना र सर्वसाधारणलाई जस्तोसुकै परिस्थितिका लागि तयार रहन निर्देशन दिएको उनले बताए ।

मंगलबार बिहान भएको सो हमलापछि प्रधानमन्त्री खानले सुरक्षा परिषद्को आपत्कालीन बैठक डाकेका थिए । बैठकपछि विज्ञप्ति जारी गर्दै पाकिस्तानमा क्षति भएको भन्ने भारतीय दाबीको खण्डन गरिएको छ । ‘बालाकोट क्षेत्रवरपर कथित आतंकवादी शिविर नष्ट पारिएको र ठूलो मानवीय क्षति भएको भारतीय दाबीको हामी खण्डन गर्छौंँ,’ सुरक्षा परिषद्को बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘यस कार्यले क्षेत्रीय शान्ति र स्थिरतालाई गम्भीर खतरा पुर्‍याएको छ । एलओसीमा भएको उल्लंघनको जवाफ दिन सरकारले बुधबारका लागि संसद्को संयुक्त बैठक डाकेको छ । प्रधानमन्त्री खानले पाकिस्तानको आणविक शस्त्रगृहको निरीक्षण गर्ने निकाय नेसनल कमान्ड अथोरिटीको विशेष बैठकसमेत डाकेका छन् । यसैबीच पाकिस्तानले देशभित्र र बाहिरका सञ्चारकर्मीलाई आक्रमणस्थलमा लाने तयारीसमेत गरेको छ ।

भारतीय सेनाले सीमामा गरेको घुसपैठलाई असफल पारिदिएको पाकिस्तानी सेनाले दाबी गरेको छ । पाकिस्तान अधीनस्थ कास्मिरको मुजफ्फरबाद क्षेत्रबाट भारतीय विमानको घुसपैठ भएको, तर आफूहरूको कारबाहीपछि भारतीय सेना भागेको पाकिस्तानी सेनाले दाबी गरेको छ । ‘मुजफ्फरबाद क्षेत्रबाट घुसपैठ गरेका भारतीय विमान पाकिस्तानी वायुसेनाका तर्फबाट तत्काल प्रभावशाली कारबाही भएपछि भाग्न थाले,’ पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले ट्विटमा लेखेका छन् ।

त्यस्तै, बमले क्षतिग्रस्त जंगलको तस्बिर ट्विट गर्दै पाकिस्तानी सेनाले भनेको छ, ‘हामी यो स्मरण गराउन चाहन्छौँ कि यी ढलेका रूखहरू आतंकवादी होइनन् । पाकिस्तानमा हमला गरेको भन्ने भारतीय दाबी फेरि पनि मिथ्या साबित भएको छ । पाकिस्तानमा बम खसालेर ठूलो क्षति पुर्‍यायौँ भन्दै भारतीय सरकारले गरेको प्रचार आन्तरिक खपतका लागि हो, त्यसलाई पुष्टि गर्ने वेला आएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *