इस्लामाबाद : पाकिस्तानी सेनाका प्रवक्ता मेजर आसिफ गफुरले भारतलाई लक्षित गर्दै ‘बेवकुफ मित्रभन्दा बौद्धिक दुश्मन असल हुन्छ’ भन्दै कडा प्रतिक्रिया दिएका छन् ।
उनले भारतलाई दुश्मनीमा बेवकुफी र झुटको सहारा लिने भन्दै आरोप पनि लगाए । आसिफले भारतीय मिडियाले दावी गरे झैँ भारतीय विमान पाकिस्तानमा छिरेको झुट रहेको बताएका छन् ।
भारतीय वायुसेनाका विमान पाकिस्तानको सीमामा आए पनि केही बेरमै फिर्ता भएको उनले बताएका छन् । गफुरका अनुसार भारतका तीन क्षेत्रमा जवाफी हमला गरेको बताएका थिए । ‘हामीले तीन क्षेत्रमा उनीहरुको विमानको जवाफ दियौँ । यतिसम्म कि, चार मिनेटमै उनीहरु फिर्ता हुनुपर्यो ।’
सैनिक प्रवक्ता गफुरका अनुसार भारतीय विमान फिर्ता हुनुपर्दा उनीहरुले पेलोड खसालेका थिए । जसमा चार बम खसेका थिए । तर मानवीय क्षति नभएको उनले बताएका छन् ।
भारतले ३५० को हत्या गरेको बताइरहँदा त्यो सबै झुट भएको उनले प्रतिक्रिया दिएका छन् । साथै उनले जोसुकैले घटनास्थल देख्नसक्ने भन्दै त्यहाँ केही नभएको बताएका छन् ।
गफुरले भारतले पाकिस्तानलाई हराउन नसक्ने भन्दै आफूहरु यसको जवाफ दिने बताए । अर्थात् फरक तरिकाले उसलाई ‘सरप्राइज’ दिने उनको भनाइ छ । गफुरले सबैभन्दा पहिले ट्वीटमार्फत भारतीय विमान पाकिस्तानी सीमामा छिरेको जानकारी दिएका थिए ।
भारतीय लडाकु विमान पाकिस्तानी क्षेत्रमा छिरेको घटनालाई पाकिस्तान सरकारले आफूहरुको सम्प्रभुताविरोधी कदमको रुपमा ब्याख्या गरेको छ । यसका साथै पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैसीले भारतले पाकिस्तानको सम्प्रभुताको उल्लंघन गरेको प्रतिक्रिया दिएका छन् ।
यस क्रममा पाकिस्तानमा सुरक्षा परिषदको आपतकालिन बैठक बोलाइएको छ । प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा भएको बैठकपछि पत्रकारहरुलाई नै उक्त घटनास्थलमा लैजाने बताइएको छ ।