एउटा नयाँ आइडिया फुरेको छ । त्यही नयाँ आइडियामा टेकेर नयाँ नेपालको सानो परिकल्पना शेयर गर्न चाहन्छु । तपाईहरु मध्ये कतिलाई स्मरण छ, भारतमा केही बर्ष अगाडि डिमनिटाइजेशन ‘नोट बन्दी’ गरिएको थियो ।भ्रष्टाचारी,आंतकवादी, कालोधन थुपार्ने व्यापारीहरुको शक्तिनै त्यही घर–घरमा लुकेको कालो धन थियो । त्यो कालो धनको भ्याल्यु जिरो गर्ने उदेश्यले मोदी सरकारले १००० र ५ सय दरका नोट माथि प्रतिबन्ध लगायो ।यो प्रतिबन्धले भारतका गरिब, किसान मजदुरहरुलाई पनि प्रभाव त पा¥यो तर, त्यो भन्दा पनि बढी, भ्रष्टाचार गरेर थुपारिएको धन जम्मा गरेका भ्रष्टाचारी, आंतकवादीहरुको सारा पैसा सर्वनाश भयो ।
भ्रष्टाचार र कालो धन त नेपालमा पनि थुप्रै छ । कयौ भ्रष्टाचारीले घर–घरमा पैसा थुपरोका छन्, ब्याजमा लगाएका छन् ।सहकारीहरुमा राखेका छन्, हुण्डीबाट युरोप, अष्टे«लिया, अमेरिका तिर पठाएका छन् । कालो धन रोक्न भारतले नोट बन्दी ग¥यो। भारतमा भ्रष्टाचारीको पैसा कागज बराबर भएपछि के फाइदा भयो थाहा छैन । तर, आज म एउटा त्यस्तै त्यो भन्दा पनि उपयोगी, प्रभावकारी आइडिया लिएर उपस्थित भएको छु ।तपाई भन्नु होला, नेपालमा पनि ५ सय र हजारको नोट बन्द गरिदिउ, सबको कालोधन समाप्त हुन्छ । मेरो आइडिया त्यो भन्दा उपायेगी र प्रभावकारी छ । भारतका मोदीको आइडिया किन कपि गर्थेर म ।
मैले त माटो सुहाउँदो आइडिया निकालेको छु । भूमिका लामो बाँधेर, हल्का सस्पेन्ससहित आइडिया सुनाउँदा वेग्लै मजा आउँछ । दिस इज माइ आइडिया । नेपालका कालो बजारी, विचौलिया, भ्रष्टाचारीहरुको कनेक्सन कोसँग छ ? राजनीतिक दलका शीर्ष नेताहरुसँग, कहिलेदेखि ? उहिल्यैदेखि ।नेपालका टप–टप ठेकेदार, स्वार्थी व्यापारी, ठेक्का पट्टा हत्याउन सिकाउने र पोलिटिकल च्यानल मिलाउनेहरुको कनेक्सन देशका ठूला–ठूला नेताहरुसँग छ भन्ने कुरामा कही–कतै शंकै छैन । अब बाँचुञ्जेल हाम्रा नेताले आफ्नो विचौलिया मित्रहरुको मित्रता तोड्दै तोड्दैनन् ।
देशको माया लागेर राजनीतिमा लागेका मान्छे अहिले आएर स्वार्थ समूह र विचौलियाको मायामा लिप्त भएको कुरा स्पष्ट भैहाल्यो । जुन दलका जुन मन्त्री, प्रधानमन्त्री आएपनि पोलिटिकल ब्रोकरहरुलाई केही फरक परेका छैन । त्यसैले भारतले नोट बन्दी भनेर हजार पाँच सयका नोट व्याण्ड गरे जस्तै सबै दलका टप ५ नेताहरुलाई राजनीति छोडाउने र पावरलेस बनाउने हो भने भ्रष्टाचारी, कमिशन खोर, विचौलियाहरुको पोलिटिकल कनेक्सन नै टुट्छ ।अझ टप १० वा पावरफुल १० जना नेताहरुलाई केही समयको लागि निस्क्रिय पारिदिने हो भने ब्रोकरहरुले कसको फोर्स लगाउने, कसको भनसुन चलाउने, कसको व्यापक फोर्स पाउने ?
भ्रष्ट, दलाल, माफिया, कालो बजारी सबलाई राजनीतिज्ञको ओपन समर्थन भएको देशमा यदि परिर्वत ल्याउने हो, भने प्रत्येक दलका पूराना कम्तीमा पनि १० जना नेताहरुलाई रिटायर्डरमेन्ट अनिवार्य गर्नै पर्छ ।नत्र यो जालो तोडिदैन र यो मुलुकका जनताले २ छाक खान, एक सरो लगाउन, बाल बचेरा पढाउन र बा–आमाको औषधि किन्न यो देशमा काम गरेर कमाउन सक्दैनन्, देश छोड्नुपर्छ । १४ बर्ष जेल बसेका ओलीले संगत गर्न लायक साथी मेडिकल माफिया, शैक्षिक माफिया, भुमाफिया मात्रै पाएका हुन् ?
टाउकाको मूल्य चडाएका प्रचण्डले यत्रो शहरमा भाडामा बस्न कामै नगर्ने ठेकेदारको मात्र घर पाएका हुन् ?
जिब्रोमा करेन्ट लगाउँदा पनि निरकंशताको विरोध नछोड्ने प्रण गरेका देउवाको उठबस कति जना देशप्रेमि, स्वाभीमानी, कर्मठ, इमान्दार, आर्दशवादी साथीहरुसँग छ । यो सब संगतगुनाको फल हो ।त्यसैले कांग्रेस भित्रका त पावरफुल १० होइन २०/२५ जनालाई रिटार्यरमेन्ट नदिएसम्म विचौलीयाहरुको कनेक्सन टुट्दैन । भारतमा नोटबन्दी गरेजस्तै यो देशका शिर्ष नेताहरुले आँफैलाई रिटायरमेन्ट दिएर एउटा त्याग गरिदिए भने अर्को होनाहार जेनेरेशनले तपाईहरु जिउँदै हुँदा नै यो देशमा देखिने परिर्वतन ल्यादिन्छन् ।तपाईहरुको त्याग र बलिदान यो देश र यस देशका जनताका लागि हो भने तपाई भन्दा क्षमतावानहरुलाई आफ्नो दलको बागडोर सम्हाल्न दिनुस् ।
तपाईहरु ससम्मान पार्टीको शिर्ष पदभन्दा माथी बसेर गाइड मात्र गरिदिनुस्, आफ्ना अनुभवहरु प्रदान गरी सचेत मात्र गरिदिनुस । यसो हुँदा १ तिरले ३ वटा निशाना पूरा गर्छ । एक राजनीतिक परिर्वतनमा यत्रो योगदान दिएका तपाईहरुले आफ्नो बाँकी जीवन घृणा होइन सम्मानका साथ जिउन पाउनुहुन्छ ।पछिल्लो समय कुन नेताले सम्मान पाएको छ ? दोस्रो चुनावमा सघाएका तर जति ठेक्का दिएपनि अघाउँदै नअघाएका तपाईका मित्रहरुसँग तपाईहरु छुट्टी मनाउन पाउनुहुन्छ, म्यारिज, पप्लु, स्नुकर, गल्फ खेल्न पाउनु हुन्छ, । यो दोस्ती हम नही तोडेङगे भन्न पनि पाउनु हुन्छ ।अनि तेस्रो र महन्वपूर्ण, प्रत्येक राजनीतिक दलमा सामेल भएका पछिल्लो पुस्ताका नेताहरुमा तुलनात्मक रुपमा भिजन, एनर्जी, ज्ञान तपाईहरु भन्दा बढी छ ।
विचौलियाहरुको संगत पर्न भ्याइसकेको छैन । रिटायरमेन्ट लिने अघिल्लो पुस्ताका नेताहरुले अब कमाउने भनेको पनि २०÷३० करोड होला ।त्यसको बदलमा प्रत्येक नेतालाई १/१ अर्बको बैंक व्यालेन्स राखिदिएपनि यो देश नाफामा हुन्छ । यस्तो अलपत्र देश छोडेर मरेरै जानु भो भने पनि स्वर्गमा त चान्सै छैन । त्यो भन्दा रिटायर्ड हुनुहोस्, सक्षम पुस्ताले तपाईहरु जिउँदै छँदा नै परिर्वतनको महशुस गराइदिने छन् ।कम्तीमा तपाईहरुले भन्दा बेटर रिजल्ट दिनेछन् । त्यसपछि पनि स्वगकै त के ग्यारेन्टी भो र ! तर, यो देश र जनताले सुखको सास फेर्न थालेको देखेर तपाईहरुका अन्तिम सासहरुचाँही सन्तुष्टीको सासहरु हुनेछन् ।