किशन गौतम /सउल
कोरियामा मौसमी खेतीको लागी नेपाली कामदार भित्रिएका छन् । कोरियाको पोछन नगरपालिका तथा नेपालको सुर्खेत स्थित पन्चपुरी नगरपालिका बीच सिधा सम्झौताको आधारमा c-4 भिसा मार्फत कामदार कोरिया भित्रिएका हुन ।
यसरी भित्रिने कामदारले कोरियाको मौसमी कृषि क्षेत्रमा काम गर्नको लागी ३ महिनाको भिसा पाएको बुझिएको छ ।यद्यपी यो बारेमा कोरिया स्थित नेपाली दुतावासमा सम्पर्क गर्दा आफुहरु यो बिषयमा नितान्त बेखबर रहेको श्रम कन्सुलर डिल्लीराम बास्तोलाले बताए ।बास्तोलाले केहि हप्ता अगाडी पत्रकारहरु संगको भेटघाटमा समेत यसबारेमा अनविज्ञता जनाउदै यसरी ल्याइएका कामदार नेपाल नफर्की कोरियामै अबैध बसेमा दुताबास जिम्मेवारी नहुने समेत बताएका थिए ।
यसरी छोटो समयको लागि भाडा रकम समेत कामदारले तिर्ने गरी कोरिया ल्याउदा खासै कमाइ पनि नहुने कारण अबैधानिक बस्ने सम्भावना समेत बढेर जाने उनको भनाइ थियो । यसरी ल्याइएका कामदार हरु अबैधानिक बस्न थाले भने नेपाललाई दिदै आएको इपिएस कोटामै असर पर्न सक्छ “उनले भने
त्यसैगरी प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राइले यो प्रणाली एकदमै गलत भएको बताए । दुइ देशबिचको सिधा सम्झौता भई कोरियाको श्रम कानुन बमोजिम ल्याइएका कामदार माथी त रोजगारदाताले थिचोमिचो गरिरहेका छन् भने यसरी ल्याएका कामदारको अबस्था कस्तो होला यो सोचनीय बिषय छ । कोरियामा यस्तो खालको प्रणाली केही बर्ष देखी नै आइसकेको भन्दै राइले नेपालको लागी भने यो पहिलो पटक भएको बताए ।
त्यसरी ल्याइएका कामदारको बिमा समेत नहुने हुदा जटिल बिरामी परेको अबस्थामा समस्या आइलाग्न सक्ने समेत बताए । “यसले रोजगार दातालाई कामदार शोषण गर्न थप मद्वत पुर्याउने हुनाले हामी यो प्रणालीको खुलेर बिरोध गरिरहेका छौं “उनले थपे ।
हेल्लो नेपाल कोरिया डटकम बाट शाभार गरिएको।